एमाले छाडेर राप्रपामै फर्किए अर्का 'बा'
नेकपा (एमाले) मा पहिले पहिले नेता–कार्यकर्तामा अभिवादनको शैली नै बेग्लै थियो । कमरेड भनेर संबोधन गर्ने, कसिलोसँग हात मिलाउने अनि मुठ्ठी कसेर लाल सलाम गर्ने । हजुरबा र नाती पार्टीको कार्यक्रममा भेट भए भने पनि कमरेड भन्थे र लालसलाम गर्थे । तर अहिले समय बदलियो अनि कार्यकर्ताले आफूलाई सगर्व झोले भन्ने ट्रेण्ड नै चल्यो ।
सामाजिक सञ्जालमा घरी आइ लभ यु बा भन्ने ट्रेण्ड चल्छ त घरी म झोले हुँ भनिन्छ । यो शैलीको नायकत्व घुमिरहेको छ एमाले अध्यक्ष केपी शर्मा ओलीको वरिपरि । ओली अध्यक्ष भएपछि नै हो लालसलाम भनेर मुठ्ठी कसी अभिवादन गर्ने अनि कसिलोसँग हात मिलाउने शैली विस्तारै हटेको ।
यही शैलीले राजावादीदेखि कांग्रेससमेत लोभिन्थे एकताका । धेरै राजावादी ओलीको नेतृत्व आएपछि लाइन लागेर एमालेमा प्रवेश गरे । धेरैले राजनीतिक नियुक्ति खाए । सूर्य चिह्न लिएर चुनाव लडे । यस्तै सिलसिलामा आफ्ना कार्यकर्ताको गतिलो दलबलहित एमाले पसेका ललितपुरका एक जना पुराना राजावादी यसै साता यस्तो कार्यशैलीले आफूलाई लाज लागेको भन्दै लुसुक्क राप्रपातिर फर्किएका छन् ।
राप्रपाको सहमहामन्त्री त्यागेर २०७४ सालमा एमाले प्रवेश गरेका ललितपुर जिल्ला विकास समितिका पूर्वउपसभापति बाबुकाजी प्रधान यसरी फर्किएका हुन् । प्रधानलाई एमालेले वरिष्ठ कम्युनिष्ट व्यक्तित्वका रूपमा लामै समय परिचित गरायो । मञ्चमा आसन ग्रहण गराउँदा पाको उमेरका प्रधान लजाइलजाइ लालसलाम उक्लन्थे । प्रायः कुनातिर गएर बस्ने उनलाई सायदै बोल्न दियो एमालेले । तर आसन ग्रहण गराउने र हरेक ठाउँमा लैजाने कारण धेरै ढिलो थाहा पाएको गुनासो गर्दै आएका छन् । व्यापारिक पृष्ठभूमिका प्रधानलाई एमालेले मुख्य रूपमा पैसा मागेर हैरान बनाएको गुनासो सुनिन्छ । हरेक कार्यक्रमको निम्ति पैसा जुटाउन प्रधानलाई नै एमालेले अघि साथ्र्यो ।
प्रधानलाई अगाडि लगाएर नेताहरूले चन्दा संकलन चलाएको आरोप उनीहरू स्वयम्को बैठकमा हुने गरेको तथ्य जिल्ला कमिटी सदस्यहरूले बताउने गरेका छन् । चन्दा चाहिएको बेला घरैमा पुगेर बा भन्दै चाकडी बजाउने, जिल्ला र प्रदेश तहका कार्यकर्ताले गएको प्रदेश अधिवेशनमा जानीजानी हराइदिए आधिकारिक लिस्टमा नपारिदिएर । टिकट वितरण गर्ने बेलादेखि, निर्वाचन जितेका जनप्रतिनिधि र व्यापारीलाई फकाउनेदेखि हप्काएर चन्दा माग्न सक्ने स्वभावका प्रधानलाई पछिल्लो समय नेताहरूले फोन, भेटघाट गर्न छाडेर र विस्तारै टाढिन थालेपछि कम्युनिष्टहरूसँग मोहभंग भएको निकटस्थहरूसँग भन्ने गरेका छन् ।
समानुपातिक सांसददेखि पार्टीका पद, राष्ट्रिय सभा, प्रदेश सभा भन्दै ७ वर्ष आर्थिक रूपमा पेलिएर पार्टी छाड्दा एमालेको कम्तीमा केही सय मत भड्किने विश्लेषण पार्टी नेताहरूले नै गरेका छन् । ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिकाबाट धेरै नेतासहित एमाले प्रवेश गरेका उनी अहिले एक्लै हिँडे पनि पुराना कार्यकर्ता फर्किए भने एमालेलाई नोक्सान हुने कार्यकर्ताको ठम्याइ छ ।
टिप्पणीहरू