कांग्रेसमा ‘क्लिन चिट’ का कुरा

कांग्रेसमा ‘क्लिन चिट’ का कुरा

भिजिट भिसा काण्डमा थुप्रै नागरिक ठगिएको कारण राजीनामा दिन दबाब बढेपछि गृहमन्त्री रमेश लेखकले सोमबार सभापति शेरबहादुर देउवाको निवासमा बिलौनाका थुप्रै शब्द खर्चिए । विवादास्पद सह–सचिव तीर्थराज भट्टराईलाई अध्यागमनतिर ल्याउनुमा कुनै स्वार्थ नरहेको जिकिर गरे । स्वार्थभन्दा बाध्यतावश ल्याउनुपरेको पनि दाबी गरे । 

शान्त र शालीन स्वभावका लेखकले बिलौना गरेपछि सभापति शेरबहादुर देउवाको मन पग्लियो । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिदेखि शशांक कोइरालासम्मले लेखक निर्दोष रहेको प्रमाणपत्र नै पार्टीले दिनुपर्ने दलिल पेश गरे ।

लेखकले पार्टीलाई अप्ठ्यारो पर्छ, आवश्यकता महसुस गर्छ भने राजीनामा दिएर सहयोग गर्छु भन्न पनि भुलेनन् । अनि देउवासहितका नेताले एक स्वरमा भने–राजीनामा, साजीनामा पर्दैन, चुपचाप काम गर्नुस् । देउवाले २०४८ सालमा गृहमन्त्री हुँदा दुई बच्चाको ज्यान गएको विषय कोट्याउँदै ‘गोलीको आँखा हुँदैन’ भनेको विषय स्मरण गराए । गगनले गुटको कुरा गरे । 

रेशम चौधरी पक्राउ, बेचन झाको अनुसन्धान प्रभावित गर्ने गरी प्रहरीको सरुवा, सर्लाहीको बरथहवा नगरपालिका ४ का एक जोडीको प्रेमविवाह तोडाउने कामसम्ममा लेखक आलोचित छन् । यसैमा थप जटिलता बोकेर भिजिट भिषा प्रकरण आयो । यसमा लेखकले दिएको दलिल उनीजस्ता टाठा र कानुन बुझेका मान्छेसँग मेल खाँदैन ।
 

टिप्पणीहरू