संरक्षण दिनेले खै त कमजोरी स्वीकारेको ?

संरक्षण दिनेले खै त कमजोरी स्वीकारेको ?

सहकर्मी शालिकग्राम पुडासैनीले गहभरि आँशु पार्दै श्राप दिएर चितवनको होटलमा केही वर्षअघि आत्महत्या गर्दा उनको भनाइलाई कसैले पत्याएनन् तर अहिले आएर सर्वोच्च अदालत स्वयंले पनि जिबीभन्दा डरलाग्दा दोषी रवि हुन् भन्ने आशयसहित रविलाई थुनामै राख्ने आदेश दिएको छ । उनै लामिछाने अमेरिकन नागरिकको हैसियतमा दाइ हरिशरणसँग अंश विवाद मिलाउन अमेरिकी राहदानी (५१२९६६९८१) बोकेर ४ अक्टोवर २०१८ सम्म अवधि रहेको २०७१ साल जेठ २२ गते बिहीबार नातेदार भीसाअन्तर्गत नेपाल छिरेका थिए ।

नेपाल आएपछि शुरुवाती दिनमा ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने टेलिभिजन कार्यक्रमबाट चम्किन शुरु गरे । लक्ष्मण हुमागाइँ महाप्रबन्धक हुँदा नेपाल टेलिभिजनमा काम गर्न निवेदन दिए । हुमागाइँले ‘यो मान्छे काम लाग्दैन’ भन्दै फर्काएपछि लामिछानेले अनेक दबाब सिर्जना गरे । त्यति गर्दा पनि हुमागाइँले टेरपुच्छर लगाएनन् । केही दिनपछि उनलाई दुईतिहाइको प्रधानमन्त्री भएताका केपी शर्मा ओलीले बोलाउनुभयो । हुमागाइँ बालुवाटार जाँदा त भेटघाट कक्षमा लामिछाने सोफामा गजक्क परेर बसेको देखे ।

त्यस भेटमा ओलीले लामिछानेलाई प्रोग्राम सञ्चालन गर्न दिनु भन्नुभयो । हुमागाइँले सोझै विरोध नगरेपनि बुझ्नुपर्छ भन्दै तर्किन खोजे । प्रधानमन्त्रीले जसरी पनि गर्नु भनेपछि जनतासँग प्रधानमन्त्री कार्यक्रम सञ्चालन अनुमति दिनुको विकल्पै रहेन । केही समय त्यहाँ रमेपछि जनतासँग सीधा कुरा प्रसारण गर्न थाले । त्यसबेला हो उनले भ्रष्टाचारी नेतालाई उडीउडी फ्लाइङ किक हान्ने भाषा प्रयोग गर्न थालेको । 

लामिछानेलाई पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्रीसम्म बनाउनमा ओलीकै हात देखिन्छ । दोहोरो राहदानी, दोहोरो नागरिकता काण्डमा चोख्याउने काम कोबाट भयो पनि छर्लङ्गै छ । पछिल्लो समय सहकारी प्रकरणमा संसदीय छानबिन समितिको आवश्यकता नभएको भन्दै भरसक जोगाउने प्रयत्न भएकै हो । एक दुई ठाउँमा बुरुक्क उफ्रेपछि मात्रै लामिछानेको बचाउ गर्नबाट प्रधानमन्त्री ओली अलि पछि हट्नुभएको हो ।

नेपालमा गर्नुसम्म गरेर रवि अमेरिका पलायन हुन पनि सक्थे । तर त्यहाँका अदालतहरूमा पनि आर्थिक अपचलन, ठगीलगायत मुद्दा रहेकाले जान मिलेन । गृहमन्त्री हुँदा लामिछानेले पुराना भ्रष्टाचारीको फाइल खोल्ने भन्दै माधवकुमार नेपाल लगायत जोडिएको पतञ्जली योगपीठ वाला जग्गा प्रकरण उधिनेका थिए । जबकि २०६९ सालमै सो फाइल अख्तियारले तामेलीमा पठाएको थियो । भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई समात्न खोजेकै हुन् । 

गलत र बेठीक मान्छेलाई बोकेर हिँड्दा एक न एक दिन दुःख पाइन्छ भन्ने उदाहरण लामिछाने हुन् । दुर्गा प्रसाईं त एमालेको केन्द्रीय सदस्य नै बनाइए । प्रा. जगमान गुरुङलाई गुरु भन्दै प्राज्ञहरूको मूलघर प्रज्ञा प्रतिष्ठान नै जिम्मा लगाइयो । 

सर्वोच्च अदालतले छाड्न अस्वीकार गरेपछि २०८४ सालको चुनावमा घण्टीको रालो हराएको अवस्था हुने सम्भावना छ । लामिछाने भ्रष्टाचारी ठहरिए खुमबहादुर, चिरञ्जीवी, जयप्रकाशको अवस्था सिर्जना हुनसक्छ । भ्रष्टाचारी ठहरिएका जो कसैलाई आजीवन चुनाव लड्न र राजनीतिक लाभको पद लिन नपाउने हुन्छ । 

त्यसो त लामिछाने थुनामै रहँदा राजनीतिमा भविष्य नेदेख्ने कांग्रेस चितवनका नेता कृष्णहरि घिमिरेलाई भने फलिफाप हुने देखिन्छ । विश्व पौडेल चुनाव हारे पनि कांग्रेसमै बसेर राष्ट्र बैंकको गभर्नर भए, स्वर्णिम वाग्लेले पनि हतार नगरेको भए रामशरण महतको ठाउँ सोझै पाउने अवस्था थियो । 

 

टिप्पणीहरू