चिटिक्क पारिँदै चौतारा, पाहुना तान्न तलेजु

चिटिक्क पारिँदै चौतारा, पाहुना तान्न तलेजु

त्यसो त तलेजु भवानीको दर्शन गर्न कि त काठमाडाैँ, कि भक्तपुर कि ललितपुर नै जानुपर्छ । यी तीन शहरमा तलेजु भवानीका तीन ठुल्ठूला मन्दिर छन् र यी मन्दिरभित्र बिराजमान भवानीलाई दर्शन गर्न दशैँको नवमी नै कुर्नुपर्छ । 

तर, सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा भने तलेजु भवानीलाई चौबीसै घण्टा हेर्न र सँगै बसेर सेल्फी हान्न पाइने भएको छ । चौताराको पुरानो एवं ऐतिहासिक बजारस्थित वीरेन्द्ररत्न शाक्यको घरको भित्तामा सबैले देख्ने गरी तलेजु भवानीको अनौठो तस्बिर कोरिएपछि अहिले यसप्रति सबैको चासो बढ्न थालेको हो ।

छिगुझिगु चौतारा सामुदायिक होमस्टेले पाहुनालाई तान्नका लागि बनाउन लगाएको यो तस्बिरसंग सेल्फी खिच्नेको संख्या पनि दिनप्रतिदिन बढ्दो छ । अन्य स्थानमा रहेको कुनै पनि तलेजु भवानीको स्वरूपसँग मेल नखाने यसको तेस्रो आँखाको कारण धेरैलाई लाग्न सक्छ कि यो तस्बिर कुमारीको हो । त्यसो त कुमारीलाई पनि तलेजु भवानीकै स्वरूप मानिन्छ । फेरि पनि यो तस्बिर कुमारीको नभई तलेजु भवानीको भएको सम्पदा संरक्षण गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठ बताउँछन् । 

तस्बिरमा, विशेष गरी नेवार समुदाय र मल्ल वंशद्वारा सम्मानित देवी तलेजु भवानीलाई कुनै एक बस्तीको संरक्षकका रूपमा चित्रण गरिएको छ र त्यो चौतारा भएको श्रेष्ठको दावी छ । कुमारीकै झल्को दिने गरी कोरिएको तेस्रो आँखा बुद्धि र अन्तर्दृष्टिको प्रतीक हुनका साथै हातमा भएको परेवाहरूले शान्ति र सद्भावको संकेत गरेको संस्कृतिक अभियन्ता सुरेश कसजूको भनाइ छ । 

यो तस्बिरसँगै अन्य तस्बिर र मौलिक परम्परागत संरचनाहरू पनि चौतारामा धमाधम निर्माण हुँदैछ । खासगरी सामुदायिक होमस्टे सञ्चालन गर्न यहाँका महिला कम्मर कसेर लागेपछि पराम्परागत संरचनाहरू निर्माण हुन थालेको हो । बागमति प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गृहिणी महिला सशक्तिकरण कार्यक्रममार्फत होमस्टे सञ्चालनका लागि ७० प्रतिशत र चौतारा साँगाचोकगढी नगरपालिकाले थप ३० प्रतिशत गरी कूल ३९ लाख दिएको छ ।

अधिकाँश घरको आँगनमा कलात्मक मठ तयार हुँदैछ भने फल्चा, नारायणस्थानको पार्कलगायत संरचनालाई मौलिक शैलिमा बनाउन थालिएको छ । घरका खाली भित्ताहरूमा नेवारी मौलिक संस्कृति झल्किने लाखे नाच, गाईजात्रामा मृतकको घरबाट निकालिने तहामचा, बज्रलगायतको चित्र र होर्डिङ बोर्डहरू राखिएका छन्् । करिब १८ जना महिलालाई एकहप्ते होमस्टे सञ्चालनसम्बन्धी तालिम पनि दिइसकिएको छ । 

कुनै बेला नेपाल तिब्बतबीच मुख्य पैदलमार्गको रूपमा चिनिएको चौतारा पुरानोबजार एउटा ऐतिहासिक स्थल हो । सन् १९११ को युद्धमा नेपाली पल्टन यसै मार्ग भएर भोटतर्फ हान्निएका थिए । द्रव्य शाहले गोरखाको लिगलिगकोट कब्जा गर्नुअघि नै यहाँ लम्जुङ, घलेगाउँ र लिगलिककोटबाट घले जाति आएर बसोबास गरेको र पृथ्वीनाराण शाहले काठमाण्डौं बिजय गर्नुपूर्व नेवार समुदाय बस्न आएकोे इतिहास छ ।

राजा पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व चौतारा कान्तिपुरबाट शासित थियो । एकीकरण क्रममा बेलकोट, शिवपुरी, साँखु, चाँगु, नालदुम, फटकशिला, सिपा हुँदै चौतारा र साँगाचोकलाई चमर सामसिं बस्न्यातको नेतृत्वमा कब्जा गरिएको अभिलेख छ । 

यहाँको कृष्ण मन्दिर परिसरमा थकाइ मार्नका लागि बनाइएका पेटी, चौतारी र पाटीका कारण यस ठाउँको नाम नै चौतारा रहन गएको बूढापाका बताउँछन् । यस क्षेत्रमा बनेको भीमसेन मन्दिर झण्डै एकहजार वर्षअघि निर्माण भएको हो भने गणेश मन्दिर एकसय पचास वर्षपहिले र कृष्ण मन्दिर पनि सोही समयमा निर्माण भएको इतिहास पाइन्छ । चौतारा बस्तीको संरक्षणार्थ यसको चारै सुरमा देवी मन्दिर स्थापना गरिएको छ ।

उत्तरी पूर्वी क्षेत्रमा कालीदेवी, दक्षिणपूर्वी क्षेत्रमा सेतीदेवी, उत्तर पश्चिमी क्षेत्रमा भगवती र दक्षिणपश्चिमी क्षेत्रमा बनदेवीको मन्दिर स्थापना गरेर यहाँ बसोबास थालिएको स्थानीय स्थानीयहरू बताउँछन् । सँगै गौराति भीमेश्वर मन्दिर, बुद्धपार्क र भूत छाङ्गो, रानीपोखरीजस्तो धार्मिक एवम् पर्यटकीय क्षेत्रले होमस्टे सञ्चालनका लागि टेवा पुग्ने देखिन्छ ।

अझ चौताराबाट धार्मिक एवम् पर्यटकीयस्थल पाँचपोखरी पुग्ने रुटको विकास गर्न सकियो भने होमस्टे मात्र होइन, सिंगो चौताराको चहलपहलमा नै वृद्धि हुनेमा दुईमत नहोला । 
 

टिप्पणीहरू