कालिकाका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाइँदै

कालिकाका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाइँदै

केही वर्षयता सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदो छ । निजी विद्यालयमा विद्यार्थी भरिभराउ हुँदा सरकारी विद्यालय विद्यार्थी अभावकै कारण बन्द हुने अवस्थामा पुगेका छन् । खस्कँदो गुणस्तरका कारण सामुदायिक विद्यालय सुनसान बन्दै गइरहेको वेला चितवनको कालिका नगरपालिकाले भने सुधारको प्रयासस्वरूप सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लगेको छ । 

प्रविधिसँग जोडेर शिक्षण सिकाइलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत नगरभित्रका एक दर्जन बढी सामुदायिक विद्यालयलाई स्मार्ट टिभी वितरण गरिएको छ । कालिका नगरपालिकाको सहकार्यमा बहुअपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने काम गर्दै आएको अटिज्म केयर चितवन सोसाइटीद्वारा सञ्चालित समावेशी शिक्षा परियोजनाले १६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभी प्रदान गरेको छ । 

नगरपालिकाका अनुसार भिमोदय नमुना मावि, पृथ्वी मावि, चर्तुमुखी मावि, मावि मजवाङ, मावि समीपुर, जनहित मावि, चित्राम आधारभूत विद्यालय, आधारभूत विद्यालय दौतेस, दक्षिणकाली आधारभूत बाङथलालाई स्मार्ट टिभी दिइएको छ । त्यस्तै, नगरको आधारभूत विद्यालय रन्तेश, आधारभूत विद्यालय लोतन्ती, आधारभूत विद्यालय देउजर, आधारचभूत विद्यालय सुपार, सिद्ध मावि भ्यूरान र आधारभूत विद्यालय लटौलीलाई पनि टिभी प्रदान गरिएको छ । उक्त काममा हेण्डिक्याप इन्टरनेशनलले प्राविधिक सहयोग गरेको जनाइएको छ । 

जेठ १२ गते सोमबार वडा नम्बर ६, स्थित माध्यमिक विद्यालय रेडक्रसमा आयोजित एक कार्यक्रममा नगर प्रमुख विनोद रेग्मी, उपमेयर विमला तामाङ, अटिजम केयर सोसाइटीका अध्यक्ष शनिलचन्द्र शर्मासहितले ती विद्यालयका प्रधानाध्यापकलाई उक्त टिभी हस्तान्तरण गरेका हुन् । 

त्यसअवसरमा मेयर रेग्मीले कालिका नगरपालिका समावेशी शिक्षा शुरु गर्ने देशकै पहिलो स्थानीय तह रहेको बताए । नगरभित्रका सामुदायिक विद्यालयमा अपांगता भएका बालबालिकाका लागि स्रोत कक्षासमेत सञ्चालन गर्दै आएको जानकारी दिए । 

साथै, आउँदो वर्ष स्थानीय तहबाट व्यवस्थापन गरेर भए पनि स्रोत कक्षालाई निरन्तरता दिने मेयर रेग्मीको प्रतिबद्धता छ । ‘स्रोत कक्षाको कारणले ओछ्यानमा सुतिरहेका बालबालिकाहरू हिँड्न सक्ने भएका छन्,’ उनले भने, ‘अलिअलि हिँड्ने बालबालिका दौडिन सक्ने भएका छन् । हामी स्रोत कक्षालाई निरन्तरता दिँदै अपांगता भएका बालबालिकाको शिक्षाका लागि थप योजनासमेत ल्याउने तयारीमा छौं ।’

नगरपालिकाका अनुसार नगरभित्र ३६ जना बहुअपांगता भएका बालबालिका छन् । तीमध्ये १५ जनाले स्रोत कक्षामार्फत शिक्षा प्राप्त गर्दै आएका छन् भने २१ जना बालबालिका विद्यालय जान सक्दैनन् । यद्यपि, उनीहरूलाई अटिजम केयर सोसाइटीले घरमै आधारित शिक्षा प्रदान गर्दै आएको छ । 

मौरी कृषकलाई ५० प्रतिशत अनुदान

मह उत्पादनमा समेत मुलुककै सर्वोकृष्ट पालिकाको रूपमा परिचित कालिकाले किसानलाई अनुदान उपलब्ध गराएको छ । वडा नम्बर १०, का कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीजन्य सामग्री वितरण गरिएको हो । 

नगर प्रमुख विनोद रेग्मीका अनुसार ६ लाख रूपैयाँ बराबरको सामग्री प्रदान गरिएको छ । यसमा सम्बन्धित वडा र व्यवसायीको ५०–५० प्रतिशत अर्थात् तीन–तीन लाख रूपैयाँ साझेदारी रहेको छ । ‘केही समयअघि मात्रै हामीले २४ लाख रूपैयाँ बराबरको मौरीजन्य सामग्री कृषकलाई अनुदानस्वरूप प्रदान गरेका थियौं । मौरीपालक कृषकको लागि कालिका नगरपालिकाले विशेष कार्यक्रम पस्किरहेको छ । आगामी बजेटमा पनि सबै प्रकारका कृषकलाई समेट्नेगरी प्रभावकारी कार्यक्रम ल्याउनेछौं,’ मेयर रेग्मीले भने ।
 

टिप्पणीहरू