सिमानाका सुरक्षा संवेदनशीलता
२ हप्ता अगाडि सिराहाको नेपाली भूमिबाट बोलाएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक चिनियाँ नागरिकलाई दिल्ली पुर्याएपछि सशस्त्र प्रहरी बलको भूमिका र जिम्मेवारीप्रति प्रश्न खडा भएको छ । सीमा क्षेत्रका नेपाली र नेपाल घुम्न आएका विदेशी पर्यटकहरूको सुरक्षा गर्ने दायित्व पनि सशस्त्र प्रहरीको हुन्छ । दुई साताअघि नेपाली साथी डा.सन्दिप यादवको निमन्त्रणामा सिराहा सुखीपुर नगरपालिका-३ बरियारपट्टी घुम्न गएका यु सि चाओलाई दरैया बोर्डर एरियास्थित भारतीय सुरक्षाकर्मीले बोलाएर नियन्त्रणमा लिएका थिए ।
यसअघि यसैगरी खुला सीमाना रक्सौल पार गर्ने ४ जना चिनियाँ पक्राउ परे । भूलवश भए पनि तिनले भारतीय सीमा टेकेका थिए । त्यसै अनुरूपको सजायँ पाउनु कुनै अनौठो होइन । तर नेपालबाट हुर्मत लिइएको छ । सशस्त्र प्रहरीले दायित्व ननिभाउँदा नेपाल घुम्न आउने पर्यटकले दुःख पाउनु राम्रो होइन ।
राज्यको तर्फबाटसमेत पहल गरी पर्यटक छुटाउन पहल हुनुपर्नेमा तये पनि भएको देखिँदैन । भोलि लुम्बिनी घुम्न आउने पर्यटकलाई पनि त्यसैगरी भैरहवा नाका, तौलिहवा वा कृष्णनगर घुम्न जाँदा भारतीय प्रहरीले समातेर लगे भने ? अनि गोसाइँकुण्ड, तातोपानी, मानसरोबर गएका भारतीय पर्यटकलाई चिनियाँ प्रहरील दुःख दिए भने ! कृष्णनगरजस्ता कतिपय स्थानमा त नेपाल–भारत सीमा स्पष्ट छुट्याउने संकेत पनि छैनन् । खुट्टा फुत्त लम्काउँदा भारतीय बजार नै पुग्ने अवस्था छ । यो फगत चिनियाँ पर्यटकले दुःख पाएको मामला होइन, नेपालको पर्यटन क्षेत्रलाई तहसनहस पार्न सक्ने घटनाका रूपमा पनि दर्ज हुन सक्ने अवस्था छ ।
टिप्पणीहरू