आफ्नै खर्चमा बडिमालिका मन्दिर बनाउँदै सेना
मुलुकको शान्तिसुरक्षा, संयुक्त राष्ट्रसंघको शान्ति स्थापना मिसनसँगै सामाजिक सेवामा सक्रिय नेपाली सेनाले बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिका मन्दिर पुनर्निर्माण थालेको छ । सेनाले आफ्नै बजेटमा मन्दिर पुनर्निर्माण शुरु गरेको हो । मन्दिरको भवन बनाउन सेनाले हेलिकप्टरमा तराईबाट सालको काठ ओसारिरहेको छ ।
त्रिवेणी नगरपालिका–९ र बडिमालिका नगरपालिका–६ को बीचमा पर्ने बडिमालिका मन्दिर नेपालको खास मन्दिरमध्ये एक हो । मन्दिर दर्शन गर्न देश–विदेशबाट भक्तजन आउने गर्दछन् । डाँडामा रहेको सो मन्दिरसम्म पुग्न दुई–तीन दिन हिँड्नुपर्छ । धार्मिक आस्थाको केन्द्र बडिमालिका मन्दिर जीर्ण बनेपछि सेनाले आफ्नै खर्च र सैनिकबाट पुनर्निर्माण थालेको हो । स्रोत भन्छ, ‘मन्दिरमाथि भक्तजनहरूले धेरै नै महिमा राख्दछन् । मन्दिरमै गएर मागेको मनोकामना पुरा हुने जनविश्वास रहेकाले भक्तजनहरू दुई–तीन दिन हिँडेरै भएपनि दर्शन गर्न जान्छन् । धार्मिक आस्था जोडिएको मन्दिर जीर्ण बनेकाले सेनाले पुनर्निर्माणको काम अगाडि बढाएको हो ।’
सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले कोरोनाको कारण रोकिएको पुनर्निर्माणको काम थालिएको बताए । हाल प्रारम्भिक चरणको काम शुरु भएको जानकारी दिए । उनले भने, ‘त्यहाँ पुनर्निर्माणको काम शुरु गर्ने भन्दाभन्दै कोरोना आयो । त्यसपछि काम प्रभावित भयो । अहिले प्रारम्भिक चरणको काम शुरु भएको छ । जसअन्तर्गत सामान ढुवानी गरिरहेका छौं ।’
बडिमालिका नगरपालिकाका मेयर अमरबहादुर खड्काका अनुसार सेनाले त्यहाँ दुई तलाको नयाँ मन्दिर बनाउँदै छ । हुमकुण्ड निर्माण र बत्ती जडानको काम सकिएको बताउँदै उनले सेनाले हेलिकप्टरमार्फत सामान ओसारेर ब्यारेकमा भण्डारण गरिरहेको जानकारी दिए ।
मन्दिर निर्माणमा सुदूरपश्चिम पृतनाबाट सैनिक खटिएको उनले जानकारी दिए । नेपालमा मात्र नभई भारतमा पनि सेनाले समाज कल्याणको काम गर्दै आएको छ । बाटोघाटो बनाउने, स्कूल र अस्पताल निर्माण गर्ने, स्वास्थ्य शिविर आयोजना गर्ने, मन्दिर पुनर्निर्माण र मर्मतसम्भारलगायत जनभावनासँग जोडिएको काममा सेना खटिने गरेको छ । यसरी गरिने समाज सेवाका कार्यलाई ‘मिलिटरी सिभिक एक्सन’ अन्तर्गत राखिन्छ ।
टिप्पणीहरू