काटिँदैछन् कर्मचारी
सांकेतिक तस्विर
एकातिर मुलुक आर्थिक रूपमा तन्नम छ, अर्काेतिर संघीय मन्त्रालयमा दरबन्दी थप्न होडबाजी चल्दै छ ! भएकै दरबन्दी कटौती गर्न विभिन्न आयोगले सुझाव दिइरहेका बेला परराष्ट्रपछि अर्थ मन्त्रालयले समेत अफिसर तहमा पाँच दर्जन दरबन्दी थप्न लागेको छ । अर्थमा अर्थ र राजश्व गरी दुई सचिव छन् । अब १ सहसचिव थपिँदै छन् । यस्तै ३४ उपसचिव र ४७ शाखा अधिकृतको दरबन्दी थप्ने काम अगाडि बढाइएको छ । प्रशासन हेर्ने २२ सहसचिव रहेकोमा १ जना थपेसँगै कानुन र विविध सेवाका गरी अब २५ जना सहसचिव रहनेछन् ।
यस्तै राजश्वतर्फ १५५ उपसचिव रहेकामा ३४ जना थपेर १८९ पु¥याउन लागिएको छ । लेखामा १, सूचना प्रविधिमा १, वरिष्ठ अर्थशास्त्रीमा १ जनाको दरबन्दी थप्ने तयारी पनि छ । अर्थमा हाल राजश्व समूहका १५५, प्रशासनतर्फका ४, लेखातर्फका ९, कानुनतिरका १, सूचना प्रविधितर्फका ६, इञ्जिनियर २, सरकारी वकिल १, वरिष्ठ अर्थशास्त्री १ जनाको दरबन्दी रहेको छ । यस्तै तथ्यांकशास्त्री ३ को दरबन्दी रहेकोमा १ घटाउने तयारी छ ।
राजश्वतर्फ ६७८ शाखा अधिकृतको दरबन्दी रहेकामा ४७ थप्ने तयारी छ । प्रशासन सेवातर्फ हाल १७ अधिकृतको दरबन्दी रहेकोमा ४ कटौतीमा पर्दै छ । त्यहाँ तथ्यांकका ३, कम्प्युटर इञ्जिनियर १५, इलेक्ट्रिक इञ्जिनियर २, लेखा अधिकृत २, अर्थशास्त्री, तथ्यांकशास्त्री, सरकारी वकिल १/१ को दरबन्दी थप गरिँदा ३८ जना कम्प्युटर अधिकृतको दरबन्दी कटौती हुनेछ । हाल ८४ जना कम्प्युटर अधिकृत रहेकोमा ४६ मा झारिने मन्त्रालयले जनाएको छ ।
अधिकृतस्तरका १०६८ कर्मचारी रहेकोमा अब ११२६ कर्मचारी पुग्नेछन् । उपल्ला तहमा थपेर तल दरबन्दी कटौती गर्न लागिएको मन्त्रालयले जनाएको छ । नायब सुब्बा तहमा राजश्वतर्फ ४३ दरबन्दी कटौती गरेर ८९९ पुर्याउने तयारी छ । कम्प्युटर अपरेटरको दरबन्दी २५६ रहेकोमा झारेर १८९, भन्सार संकेत निरीक्षक १ दरबन्दी कटौती गर्न लागिएको छ । असिस्टेन्ट केमिस्ट ९ बाट ७ मा झारिँदै छ ।
यस्तै फ्रन्ट डेस्कमा रहने खरिदारको दरबन्दी ९ बाट झारेर २ मा खुम्च्याइँदै छ भने हलुका सवारी चालक ५९४ जना रहेकामा ६० जना ड्राइभर र २ जना स्विपरले समेत जागिर गुमाउँदै छन् । यसअघि केही अगाडि मात्र परराष्ट्र सेवामा ११ सहसचिव, १९ उपसचिव र ५० जना शाखा अधिकृतको दरबन्दी थप्ने निर्णय भएको थियो । परराष्ट्रमा थपिएका यी कर्मचारीको लागि मात्र राज्यले थप ८० करोड खर्च गर्नुपर्ने स्थिति छ ।
टिप्पणीहरू