किन उठेन बागमतीमा एमालेको काम ?
केपी ओली र उनको वरिपरि मात्र रहने, ग्रासरुटमा काम नगरेका, वडासदस्यको टिकट पाए पनि जित्न नसक्नेहरूको घेराबन्दीका कारण पार्टी दिनानुदिन जनताबाट टाढा पुग्दैछ । यस्तै–यस्तै चिन्ता गर्नेमध्येका एक नेता भेटिए जेठ २२ गते च्यासलमा । प्रदेशस्तरीय नेता हुन् । तर, उनको क्षमता मापन गर्ने हो भने, अहिलेका टीकाराम केन्द्रीय सदस्यभन्दा धेरै अब्बल ।
उनका अनुसार अध्यक्ष कैलाश ढुंगेल मसिनोसँग काम गर्ने मान्छे होइनन् तैपनि उनलाई काम गर्ने जोडी नै मिलेन । उपाध्यक्ष दावा लामा प्रायः चितवनतिरै बस्छन् । सचिव त पूर्व फौजी, के कुरा गर्नु ! कार्यालय आउँदा पनि कोटमा धुलो लाग्ला कि भनेर निकै सचेत देखिन्छन् । उपसचिव एक जना महिला, अर्काचाहिँ संघीय सांसद । अखिल पृष्ठभूमिबाट आएकी काभ्रेली भक्तकुमारी लामाले हो, कार्यालय धानेकी ।
उनका अनुसार यदि भक्तकुमारीले उपसचिव नजितेको भए, बागमतीको हालत त बागमती नदीजस्तै खराब हुने रहेछ । सानी छोरी लिएर पार्टी कार्यालय दिनहुँ जानु र काममा खट्नु चानचुने कुरा होइन ! कोशी प्रदेशको उदाहरण दिँदै भने, ‘कोशीले गति लिइसक्यो तर बागमतीको हालत एकदमै खराब छ, कोशीको विभागले कार्यक्रम गर्दा राष्ट्रिय माहोल सिर्जना गर्छ तर हाम्रो त नियमित बैठक पनि औपचारिकतामै सीमित हुन्छ । यही पाराले अघि बढ्ने हो भने, मिसन ८४ मा अघिल्लो पटक जितेको ४ सिट कायम गर्नसमेत मुस्किल छ ।
टिप्पणीहरू