ट्रायल नै नदिई लाइसेन्स बनाइदिनेहरु अख्तियारको फन्दामा
रुपन्देहीमा ट्रायल परीक्षा नै नदिएका एक व्यक्तिले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएको पाइएको छ । आर्थिक लेनदेनमा त्यसरी लाइसेन्स दिलाएको आरोपमा यातायात व्यवस्था कार्यालयका तीन कर्मचारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कार्यालयका कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय, यातायात व्यवस्था कार्यालय दाङका तत्कालिन कम्प्युटर अपरेटर अनिल बुढामगर र रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, का सभ्यता केसीविरुद्ध मुद्दा दर्ता भएको हो ।
अख्तियारका अनुसार लिखित र ट्रायल परीक्षामा सामेल नै नभएका सभ्यता केसीको नाममा अर्कै व्यक्तिको सक्कल लाइसेन्सका विवरणहरु उल्लेख गरेर उपलब्ध गराएको भेटिएको छ ।
‘प्रतिवादीहरुले यातायात व्यवस्था विभागमा रहेको ईडीएलभीआरएस प्रणालीमा एप्लिकेशन आईडी ८४०१६८५ बाट जारी भएको अर्कै व्यक्तिको नामको क्याटेगोरी बी को सवारी चालक अनुमतिपत्र ०१–०८–०१०३१२६२ मा प्रतिवादीहरुले आपसी मिलोमतो तथा योजनामा बदनियत राखी गैरकानूनी तरिकाले सच्चाई प्रतिवादी सभ्यता केसीको विवरण प्रविष्ट गरी गराई सवारी चालक अनुमतिपत्रको गलत लिखत तयार गरी जारी गरे गराएको तथ्य स्थापित भएको,’ अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबीसहित उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा चलाएको जनाएको छ ।
टिप्पणीहरू