अध्यक्षमा मित्रवत् प्रतिष्पर्धाको आंकलन
बेइजिङ जानुअगाडि प्रम ओली र पूर्व राष्ट्रपति भण्डारीबीच खरो बात
‘विद्या भण्डारी पार्टी राजनीतिमा आउने भन्नुहुन्छ, उहाँलाई मैले नै दुईचोटि राष्ट्रपति बनाएको हो । तर, अहिलेको घेराबन्दी र अप्ठ्यारो अवस्था सामना गर्नु चानचुने कुरा छैन, अर्को पुस्ता पनि तयार हुनुपर्यो’, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तामाझ यसरी गुनासो पोख्नुभयो । आफ्नो नेतृत्वमाथि पार्टीभित्र बढेको चुनौतीलाई ‘घेराबन्दी’ का रुपमा अथ्र्याउनुभएका उहाँले आन्तरिक एकता खल्बलिएको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो ।
अध्यक्षलाई भेट्न अघिल्लो हप्ता जेठ ९ गते एमाले धादिङको पदाधिकारी टोली काठमाडौँ आएको थियो । अध्यक्ष भूमि त्रिपाठीले नेतृत्व गरेको टोलीमा निजी स्कूल सञ्चालकसमेत रहेका उपाध्यक्ष अर्जुन श्रेष्ठ (धादिङबेंसी), सचिव राधिका सापकोटा (धादिङबेंसी), सहसचिव भक्तबहादुर लामिछाने (गंगाजमुना) र उर्मिला रेग्मी (थाँक्रे) सहभागी थिए ।
केही समयदेखि नै भेट्न खोजिरहेका उनीहरूलाई ‘बा’ ले नै खबर पठाएपछि बिहान ११ बजे बालुवाटार पुगे । तर, भेट्न आउनेलाई घण्टौँ कुराउन रुचाउने अध्यक्ष ओली दिउँसो एक बजे आइपुगेपछि बल्ल बातचित शुरु भयो । शुरुमा उहाँले पार्टीभित्रको आन्तरिक समस्याबारे लामो ब्रिफिङ गर्नुभयो ।
आक्रामक ढंगले प्रस्तुत हुने स्वभाव र शैलीविपरीत केही उदास देखिनुभएका ओलीले चित्त दुखाउँदै भन्नुभयो– पहिला जुन एकमना एकरुपता थियो त्यो रहन सकेन । नेतृत्वको रक्षा गर्ने कुरामा कोही पनि एकढिक्का भएर लागेनन् ।
अध्यक्षलाई भेटेर फर्किएका एक नेताका अनुसार आफू र पार्टीविरुद्ध चौतर्फी घेराबन्दी हुँदासमेत नेतृत्वको प्रतिरक्षा नभएकोमा दुःखमनाउ गर्नुभएका ओलीमा त्यसदिन केही गलेको र आत्मस्वीकारोक्तिको भाव पनि देखिन्थ्यो । पटक–पटक उहाँले ‘समस्या तल होइन, माथि नै रहेछ’ भन्नुभयो ।
महासचिव शंकर पोखरेलबाहेक अरुले नेतृत्वको रक्षा नगरेको बताउँदै आक्रोश पोख्नुभएका उहाँको भनाइ रह्यो– बाहिर फेस गर्ने शंकरबाहेक अरु छैनन् । एउटाले मात्रै कति धान्ने !
एमालेमा अहिले आन्तरिक किचलो चर्को रुपमा प्रकट भैरहेको छ । पार्टी र जनसंगठनका महाधिवेशन/अधिवेशनका दौरान कुर्सी हानाहान हुनु, प्रतिनिधिहरू कुटाकुटमा उत्रनु सामान्यजस्तै भैसकेको छ । अध्यक्ष ओलीले यसलाई पनि माथिबाटै सिर्जना गरिएको समस्याका रुपमा अथ्र्याउनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीको नाम नलिई भन्नुभयो– हामीमा एकमना एकता नहुनुको परिणाम तल देखिएका हुन् । यसलाई करेक्सन गरेर जानुपर्छ ।
माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत संस्थापक नेताहरूको ठूलोपंतिले छोडेर गएपछि ओलीले एकलौटी पार्टी हाँकिरहनु भएको छ । सौराहा महाधिवेशनपछि यसरी शक्तिशाली बन्नुभएका उहाँलाई देखिनेगरी कसैले चुनौती दिएको छैन । तैपनि पार्टीभित्र आन्तरिक एकता कायम नभएको र नेतृत्वमाथि घेराबन्दी हुँदा कार्यकर्ता बचाऊमा नउभिएको भन्दै ओली एकएक चिन्तित हुनुको कारण भने अर्कै छ ।
सक्रिय राजनीतिमा फर्किने अन्तिम तयारीमा रहेकी पूर्वराष्ट्रपति भण्डारी यतिबेला उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ । पार्टीको औपचारिक जिम्मेवारीमा नभए पनि केन्द्रीय सचिव रघुवीर महासेठ, उध्योगमन्त्री दामोदर भण्डारीलगायत एमाले नेताको पनि नेतृत्व गर्दै भ्रमणमा रहनुभएकी उहाँलाई चीनले उच्च महत्व दिएको छ । एमाले नेताकै हैसियतमा उहाँ द्विपक्षीय भेटवार्तामा व्यस्त हुनुहुन्छ ।
यो त भयो बाहिर देखिएको कुरा ! भित्री कुरा यस्तो छ, जसले अध्यक्ष ओलीमा चिन्ता एकाएक बढाएको हो । उच्च जानकार स्रोतका अनुसार, चीन जानुअघि ओलीलाई भेटेर भण्डारीले पहिलो पटक पार्टीमा फर्किने चाहना स्पष्ट रुपमा राख्दा दुई जनाबीच घोचपेचसमेत चलेको थियो ।
भण्डारीले ‘अब मलाई सहयोग गर्नुस्’ भन्दा ओलीले अर्को एक कार्यकाल अध्यक्ष नछोड्ने जवाफ दिएपछि उहाँहरूबीच ‘तितोपिरो’ भएको स्रोतले खुलायो । त्यसपछि पूर्व राष्ट्रपतिले भन्नुभयो– ‘विधानमा दुई कार्यकाल अध्यक्ष र ७० वर्षे उमेर हदको प्रावधान ल्याउने तपाईं नै हो । दुई कार्यकाल भैसक्यो, ७० वर्ष पनि कटिसक्नुभयो । अब मार्गप्रशस्त गर्नुपर्छ ।’ यसमा सहमत नभए मित्रवत प्रतिष्पर्धा गर्न भण्डारीले ओलीलाई घुमाउरो चुनौती दिएर उठेको बताइएको छ ।
विधान संशोधन गरीवरी तेहेरिएर अध्यक्ष खाने तयारीमा रहेका ओलीका लागि पूर्व राष्ट्रपतिको प्रस्ताव अपेक्षित थिएन । त्यसकारण उहाँमा उत्तेजना बढेको र समस्या माथिबाट हो, तल हैन भनेर विद्यातर्फ संकेत गरेको नेताहरूले बुझेका छन् । शंकर पोख्रेलबाहेक कसैले पनि सहयोग गरेनन् भन्नुको अर्थ पनि ‘बाँकी नेताहरू मेरा भएनन्’ भन्ने नै हो ।
‘पार्टी सचिव र एमालेबाट मन्त्री भएकालाई नेतृत्व गरेर चीन जानुभएको छ । यो भनेको पछाडि फर्किन तयार नरहेको स्पष्ट सन्देश पनि हो’, बालुवाटार निकट एमाले स्रोत भन्छ, ‘ओलीलाई या त मैदान खाली गर्नुस् नत्र ‘भिड्न तयार हुनुस् भन्नुको अर्थ अब उहाँ प्रतिष्पर्धाको बाटोबाट भए पनि नेतृत्वमा फर्किने मनस्थितिमा पुगिसकेको प्रष्ट हुन्छ ।’
धादिङका नेताहरूसँगको भेटमा ओलीले राजावादी आन्दोलन र काँग्रेसको भूमिकाप्रति पनि असन्तुष्टि जनाएको बताइएको छ । ‘राजावादीहरू सडकमा उचालिएका छन् तर कांग्रेसले खै किन हो डिफेन्ड गर्दैन’, उहाँको भनाइ थियो, ‘बरु माओवादीचाहिँ विरुद्ध उभिएको छ ।’
टिप्पणीहरू