सडकमा सवारी चालक भकुर्दै सुरक्षाकर्मी
पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीको आतंक बढ्दो छ । ‘मुस्कानसहितको प्रहरी र प्रहरी मेरो साथी’ भनिएपनि व्यवहारमा ठ्याक्कै उल्टो पाइन्छ । हात मात्र होइन, प्रहरीले सर्वसाधारणमाथि खुट्टा पनि चलाउन थालेका छन् । कानुनी कारबाहीको सट्टा सडकमै हातपात गर्ने प्रवृत्ति प्रहरीमा बढेको छ । सामाजिक सञ्जालमा दुई प्रहरीले एक सवारी चालकलाई कुटिरहेको भिडियो अहिले भाइरल बनेको छ ।
दुई जनाले उनका दुई पाखुरा समातेर लात्तैलात्ताले भकुरिएको देखिन्छ । त्यसपछि उनको कपाल भुत्ल्याउँछन् । सडक क्लियर गर्न खटिएका प्रहरीले ‘मु...’ लगायतका छाडा शब्द बोलेर गालीगलौज गर्छन् । उनीहरुले लात्तैलात्ताले हान्न थालेपछि त्यहाँ उभिएका एक जनाले भन्छन,‘कारबाही के हो गर न यार, यसरी कुटेर हुन्छ ? यसरी कुट्न मिल्छ ? ड्राइभरको इज्जत छैन र ?’
त्यसपछि एक प्रहरीले धम्क्याउँदै भन्छन्,‘ब्याक गर, आर्मीको गाडी आउँदैछ, मु... यार । मलाई केही पर्यो भने यसलाई मुद्दा चल्छ । हाकिमको गाडी आउँदैछ क्या । त्यहीँ भएर म गाडी छोडेर आएको, बाटो क्लियर गर्नलाई ।’ प्रहरीले अमानवीय व्यवहार देखाएको भन्दै धेरैले विरोध जनाइरहेका छन् ।
आशपुर बान्तावा राईले सीमा मिच्नेलाई केही गर्न नसक्नेले नेपाली दाजुभाइमाथि दादागिरी देखाएको भन्दै प्रहरीको आलोचना गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘सीमा मिच्नेलाई केही गर्न सक्दैन, नेपाली दाजुभाइमाथि दादागिरी !’
प्रहरीले कानुन हातमा लिएकोमा राम रावल (सागर) ले गम्भीर आपत्ति जनाएका छन् । ‘होइन, गल्ती भए त समात्नुपर्ने होइन र भन्या, सरकारले यी पुलिसलाई बर्दी जनता कुट्न दिएको त होइन होला ? कानुनको रक्षकले भक्षक भएपछि, हामी सर्वसाधारण जनता कहाँ गएर बाँच्ने होला ?’,उनले भनेका छन् ।
गत वैशाखमा एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले प्रहरी जवानलाई कुटेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि दुवैलाई निलम्बन गरेर छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा समिति गठन गरिएको छ । त्यसको केही दिनअघि मात्रै सर्वसाधारण कुट्ने चार ट्राफिक प्रहरी कारबाहीमा परेका थिए ।
टिप्पणीहरू