चीनको माल भन्दै धमाधम नक्कली बेचिँदै
ट्रेडमार्क दुरूपयोग गरेर नक्कली सामग्री बेच्ने क्रम बढ्दो छ । नाम चलेका ठूला कम्पनीको डिजाइन र नाम चोरेर उत्पादन बिक्री गर्ने कम्पनी बजारमा छ्यापछ्याप्ती छन् । पछिल्लो पटक भने ट्रेडमार्क दुरूपयोग गरेर नक्कली सामान बेचबिखन गरिएको भेटिएको छ । संघाईस्थित लिनिङ स्पोट्र्स प्रालिद्वारा उत्पादित सामग्री नेपालमा आधिकारिक रूपमा बिक्री गर्न मान्यताप्राप्त चाइना ट्रेड लिंक प्रालिको ट्रेडमार्क दुरूपयोग गरेर नक्कली सामान बेचबिखन गरेको पाइएको हो ।
जडिबुटीस्थित रिलोड फुटवेयर, म्याप फेसन, विनावी गार्मेन्ट्स, बौद्धस्थित सुनपाती फेन्सी स्टोर र दोर्जे कलेक्शनले नक्कली सामग्री उत्पादन गरेर बेचेको आरोप लागेको छ । आफ्नो स्वीकृति नै नलिई यी व्यवसायीले अनलाइन र अफलाइन दुवै माध्यमबाट लिनिङ्ग स्पोटर्सको उत्पादन भन्दै बेचेका हुन् । उनीमाथि कारबाही माग गर्दै चाइना ट्रेड लिंक प्रालिले उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिएको छ ।
निवेदनमा भनिएको छ, ‘लिनिङ स्पोट्र्सका उत्पादनको आधिकारिक बिक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रालिको स्वीकृत र सहमतिबिना रिलोड फुटवेयरले ह्वाट्सएप नम्बर ९८५१२१८८०६ र म्याप फेसनले हाम्रो अनलाइन मोबाइल नम्बर ९८६०६६५६९० राखी बिक्रीवितरण गरिरहेको देखिन्छ ।’ नक्कली सामग्री उत्पादन र बिक्रीमा संलग्न पाँच वटै व्यवसायीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरी तत्काल त्यस्ता कार्य रोक्न निवेदनमा माग गरिएको छ ।
टिप्पणीहरू