अदालतको आदेशपछि विश्वासको जग हल्लिएको रविपत्नीको टिप्पणी

अदालतको आदेशपछि विश्वासको जग हल्लिएको रविपत्नीको टिप्पणी

सहकारी ठगी प्रकरणमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले मुलुकमा न्याय र मानवीयता मरेको टिप्पणी गरेकी छन् । लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले थुनाभित्र पठाउने उच्च अदालत दाङको बुटवल इजलासको आदेशलाई सदर गरेको तीन दिनपछि निकिताले सामाजिक सञ्जालमा यस्तो लेखेकी हुन् ।

‘अब न्याय माग्न कहाँ जाउँ ?’ उनको प्रश्न छ । ‘गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको छ’, उनले भनेकी छन्, ‘थाहा छैन, फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ !’

निकिताले समाजिक सञ्जालमा लामो स्टाटस लेख्दै गत शुक्रबार अदालतभित्र भोगेको अनुभव पनि सार्वजनिक गरेकी छन् । दिउँसो २ बजे बहस सकिएको र संक्षिप्त आदेश आउनको लागि सात घण्टा लागेकोमा उनले आशंका जनाएकी छन् । ‘आदेशको प्रतिक्षामा यताउति गरिरहेँ, केहीपछि सहरजिष्ट्रार  (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो, आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो’, उनले खुलाएकी छन्, ‘एकैछिन है... भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन्, आदेश ल्याएर सुनाउनुपर्ने मान्छे नै हराए, बाहिर निस्किदा एकजना आफन्तले फोनमा नेगेटिभ समाचार छ, मैले कान्तिपुरको अनलाइनमा पढें भन्नुभयो ।’

अदालतले मानवीय व्यवहारसमेत नगरेको निकिताको दुःखेसो छ । ‘केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु, म निवेदक, मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालत प्रशासन कतिसम्म गैरजिम्मेवार ! अदालतले न्याय त दिएन–दिएन, मानवीय व्यवहार पनि गरेन’, उनले थपेकी छन् ।

टिप्पणीहरू