दुर्गा प्रसाईं, रविन्द्र मिश्र र धवल समशेरविरुद्ध मुद्दा दायर
तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, आन्दोलनका ‘जनकमाण्डार’ दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव र संगठित अपराधको मुद्दामा प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरी शर्माले जानकारी दिए । उनका अनुसार प्रसाईंसहित आठ जनाविरुद्ध भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दा पनि दर्ता गरिएको छ ।
अनुसन्धानको क्रममा प्राप्त प्रमाणको आधारमा प्रतिवादीविरुद्धको मुद्दा फरक फरक प्रकृतिको रहेको बताइएको छ । घटनामा संलग्न पाँच बालबालिकाविरुद्ध बाल अदालतमा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ ।
गत चैत १५ गते राजावादीहरुको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु र चार दर्जनभन्दा बढी घाइते भएका थिए । अर्बौको भौतिक क्षति भएको उक्त घटनाबारे प्रहरीले अनुसन्धान सकाएर गत बिहीबार १०८ जनाविरुद्ध मुद्दा दर्ता गर्न रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।
टिप्पणीहरू