राजावादीलाई विदेशीको साथ

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायको साथ खोजिरहेका राजावादीहरुलाई उत्साहित बनाउने गरी एउटा विदेशी संस्थाले समर्थन जाहेर गरेको छ ।
सम्वर्द्धनवादीहरुको साझा संस्था अन्तर्राष्ट्रिय प्रजातान्त्रिक संघ (आईडियु) ले नेपालमा जारी राजतन्त्र समर्थकहरुको प्रदर्शनप्रति ऐक्यवद्धता जनाएको हो । उसले आज अंग्रेजी भाषामा विज्ञप्ति जारी गर्दै राजावादी आन्दोलन दबाउने प्रयास नगर्न सरकारलाई घुमाउरो दबाबसमेत दिएको छ ।
चैत १५ को घटनामा नेपाल सरकारलाई दोषी करार गर्नेगरी आइडियुले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला-जुलुस गर्न पाउने नागरिकको अधिकार नखोस्न पनि सचेत गराएको छ । राजावादीहरुलाई प्रजातान्त्रिक अधिकार पूर्ण रूपमा प्रयोग गर्न दिन उसको आग्रह छ ।
जर्मनीको म्युनिखमा मुख्यालय रहेको आइडियुमा ६० भन्दा बढी देशका ८० वटा पूर्ण तथा एशोसियट सदस्य दल रहेका छन् ।
'हामी शान्तिपूर्ण प्रदर्शनलाई प्रत्येक प्रजातान्त्रिक समाजको आधारशिला मान्दछौं र नेपाल सरकारद्वारा थुप्रै राजतन्त्र समर्थक नेताहरू पक्राउ गरिएको कार्यको कडा भर्त्सना गर्दछौं', विज्ञप्तिमा भनिएको छ, 'हामी शान्तिपूर्ण रूपमा आफ्नो राजनीतिक विचार अभिव्यक्त गरेको कारण गैरकानुनी रूपमा पक्राउ परेका सबै नागरिकहरूको अविलम्ब र बिना सर्त रिहाईको माग गर्दछौं ।'
गणतन्त्रपछि राजतन्त्रको पक्षमा पहिलोचोटि अन्तराष्ट्रिय मन्चबाट ऐक्यवद्धता जनाइएपछि उत्साहित हुँदै राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपाले खुशी व्यक्त गरेको छ । सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले आइडियुको अंग्रेजी भाषाको वक्तव्यलाई नेपालीमा अनुवाद गर्दै समर्थनका लागि धन्यवाद दिएका छन् ।
सम्बर्धनवादी दलहरुको अन्तरराष्ट्रिय संस्था आइडियु मध्य दक्षिणपन्थी राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय संगठन हो । जर्मनीको म्युनिखमा मुख्यालय रहेको आइडियुमा ६० भन्दा बढी देशका ८० वटा पूर्ण तथा एशोसियट सदस्य दल रहेका छन् ।
नेपालबाट राप्रपा सदस्य रहेको उक्त संस्थामा अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टी, बेलायतको कन्जर्भेटिभ, जर्मनीको सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक युनियन र क्रिश्चियन सोसियल युनियन, क्यानडाको कन्जर्भेटिभ पार्टी, अष्ट्रेलियाको लिबरल पार्टी, न्यूजिल्याण्डको सत्तारुढ नेशनल पार्टी, इजरायलको लिकुड पार्टी, जापानको लिबरल डेमोक्र्याटिक पार्टी र स्विडेनको मोडरेट पार्टी लगायतका दलहरु रहेका छन् ।
टिप्पणीहरू