युवराज पुत्रद्वारा सरकारको सत्तोसराप

मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीका सल्लाहकार तथा सहयोगीलाई औपचारिक जिम्मेवारीमात्र नभई भावनात्मक निकटतासमेत प्रतिबिम्बित गर्ने पदका रुपमा पनि लिने गरिन्छ । प्रधानमन्त्रीहरुले अपवादबाहेक आफू निकटलाई नै महत्वका साथ त्यस्ता जिम्मेवारीमा लैजाने गरेको पाइन्छ । आसेपासेलाई पोस्न सल्लाहकार पदको दुरुपयोग भएका कतिपय घटनालाई अपवाद मान्ने हो भने आपसी विश्वासमा काम गर्नुपर्ने भएकाले मनले खाएको पात्र खोजिनुलाई धेरै आलोचनाको विषय बनाउनु पनि हुँदैन ।
तर,यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सर्वप्रिय’ पात्रका रुपमा बालुवाटारमा तैनाथ डा. युवराज खतिवडा ‘प्रधानमन्त्रीसँगको सम्बन्ध’ लाई लिएर आलोचित छन् । ओली सत्तामा पुग्नासाथ कुनै न कुनै नियुक्ति हात पारिहाल्ने उनी अहिले विकास तथा आर्थिक सल्लाहकार छन् । एमाले अध्यक्ष ओलीले भीम रावललाई गाली गर्ने क्रममा ‘मुख खाली नै छैन’ भनेझैँ योजना आयोगको उपाध्यक्ष,राष्ट्र बैंकको गभर्नर,सांसद,अर्थमन्त्री,राजदूत हुँदै अहिले सल्लाहकार बनेका खतिवडाले पनि एमाले बनेयता मुख खाली राख्नुपरेको छैन । यसरी ओलीनिकट यिनकै परिवार र आफन्तबाट प्रधानमन्त्री र सरकारको चर्को विरोध हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, युवराजका जेठा छोरा तिलक खतिवडाको नित्यकर्म जस्तै बनेको छ, ओली र उनको सरकारलाई गाली गर्ने ।
विभिन्न बैंकमा जागिर खाँदै हाल प्रभु बैंकमा पुगेका उनी युवराजका जेठा छोरा हुन् । गभर्नर हुँदा खतिवडाको समेत लगानी रहेको जनता बैंकमा जागिरे थिए । त्यसपछि उक्त बैंक मर्ज भएर ग्लोबल आईएमई बैंक बनेपछि युवराजका छोरा उतै गए । बीचमा सनराइज बैंकमा केही समय काम गरेका उनको फेसबुक प्रोफाइल पल्टाएर हेर्ने हो भने त्यहाँ सरकार र प्रधानमन्त्री ओलीको निन्दाबाहेक केही देखिँदैन ।
स्वस्थ र तर्कपूर्ण आलोचनासम्म त ठीकै मान्न सकिन्थ्यो,सल्लाहकारपुत्रले ओलीको निजी जीवन,स्वास्थ्य अवस्था र कतिपय मानवीय समवेदना जोडिएका विषयमा पनि ‘पाँडे गाली’ गरेका छन् । सरकार र प्रधानमन्त्रीमात्र हैन एमालेको उछित्तो काढिएका सामाग्रीलाई उनले खोजीखोजी सेयर गरेको पाइन्छ ।
सामाजिक सञ्जालमा अराजकताको खेती गरेको आरोप लागेका ‘पत्रकार’ राजीव खत्रीदेखि पूर्वसचिव भीम उपाध्याय, स्वःघोषित विश्लेषक टंक दाहाल हुँदै तीनकुने हिंसाका कमाण्डर दुर्गा प्रसाईंसम्मका फेसबुक स्टाटस सल्लाहकारका छोराले क्रमैसँग सेयर गरेका छन् । प्रधानमन्त्री ओली र काठमाडौँ महानगरका मेयर बालेन्द्र साहबीच चलिरहेको सामाजिक सञ्जालको ‘वार’ मा पनि उनी बालुवाटारको विपक्षमा मज्जैले खुलेको पाइयो । ओलीको विरोधमा बालेन्द्रले लेखेका स्टाटसलाई महत्वका साथ सेयर गरेका छन् । पछिल्लो पटक ओलीलाई भ्रष्टाचारीको नाइके भन्दै लेखिएको स्टाटस तिलकको फेसबुकमा छुटेको छैन ।
हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने सरकारको निर्णय पनि युवराजका जेष्ठ सुपुत्रको विरोधमा परेको छ । उज्यालो र अँध्यारो दर्साउने आसयका दुइटा फोटो पोष्ट गर्दै उनले लेखेका छन्, ‘कुलमानको बेलाको काठमाडौँ, चोरहरुको पञ्जामा परेपछिको काठमाडौँ ।’ प्राधिकरणकै सन्दर्भमा प्रधानमन्त्री ओलीको फोटोमा व्यंग्यात्मक टिप्पणी गरिएका कार्टुन र अन्य सामाग्री पनि उनले सेयर गरेको देखिन्छ ।
राजीव खत्रीदेखि पूर्वसचिव भीम उपाध्याय, स्वःघोषित विश्लेषक टंक दाहाल हुँदै तीनकुने हिंसाका कमाण्डर दुर्गा प्रसाईंसम्मका फेसबुक स्टाटस सल्लाहकारका छोराले क्रमैसँग सेयर गरेका छन् ।
फेसबुकमा अन्टसन्ट लेखेर चर्चामा आएका धरान उपमहानगरका मेयर हर्कराज साम्पाङ राईको एउटा अराजक स्टाटस पनि युवराजका छोराले आफ्नो प्रोफाइलमा पोष्ट्याएका छन् । ‘विद्युत प्राधिकरणको एमडीको नम्बर कति हो ??? यस्तो गाली गर्नु मन ला’को छ कि गधालाई ! लाइन गाको गाकै !’, हर्कको यो स्टाटसमा उनले प्रधानमन्त्रीलाई मेन्सन गर्दै सेयर गरेका छन् । आफ्नै पुरानो स्टाटस सेयर गर्दै ’ओई, ऊर्जा मन्त्रालयको चोर ! ओई, विद्युत प्राधिकरणको नयाँ चोर ! खोई लाईन ?’ लेखिएको पनि देख्न सकिन्छ ।
प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई खिल्ली उडाउँदै ‘सुखी विचौलिया,सम्मृद्ध’ लेखिएको स्टाटस पनि सल्लाहकारको छोराको फेसबुकमा पढ्न पाइन्छ । दुर्गा प्रसाईं नामको फेसबुक आइडीबाट भ्रष्टाचारीलाई फाँसी दिनुपर्ने आसयमा लेखिएको सामाग्री पनि राखिएको छ ।
काठमाडौँ महानगरका उपमेयर सुनिता डंगोलले हालै प्रधानमन्त्री ओलीको समर्थन र बालेनको विरोधमा दिएको सार्वजनिक अभिव्यक्तिको पनि सल्लाहकार पुत्रले जमेर खण्डन गरेका छन् । सुनिताले ‘स्टन्ट’ गरेर देश नबन्ने भन्दै बालेनमाथि कटाक्ष गरेकी थिइन् । उक्त सामाग्री सेयर गर्दै तिलकले ‘स्टन्ट गरेर मात्र देश बन्दैन......गफ जोत्न नि जान्न पर्छ – ओलीको चेली’ लेखेका छन् ।
प्रधानमन्त्रीको निन्दा गर्ने क्रममा उनले ‘सालो केटो’ को प्रसंग पनि छुटाएका छैनन् । ‘हितेन्द्रदेव शाक्य आउने बित्तिकै देखाए विद्युत प्राधिकरणको अर्बौ घाटा’ शीर्षकमा लेखिएको समाचारमा ‘भेनाको सालो जो पर्यो’ लेखेर पोष्ट गरेका छन् । तीनकुने प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको निन्दा गर्दै उनले राजावादीलाई समर्थन गरिएका सामाग्रीहरु खोजेर पोष्ट गरेका थिए ।
एउटा न्युज कटिङ फेसबुकमा राख्दै उनले दुर्गा प्रसाईंको स्टाटस सेयर गरेका छन्, जहाँ एमालेले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा धेरै उपस्थिति देखाउन राजावादी प्रदर्शनको फोटो चोरिएको उल्लेख छ । एमाले नेता राजन भट्टराईले त्यस्तो काम गरेको भन्दै तिलक लेख्छन्, ’मुतको न्यानोमा रमाउन खोजेको पनि देखियो । अब बौलाएर हिड्न मात्र बाँकी देखियो ।’
सहकारी ठगीमा मुछिएकी काँग्रेस सांसद माया राइले संसद सचिवालयबाट तलब भत्ता बुझेको सन्दर्भ उठाएर युवराजपुत्रले प्रधानमन्त्री ओलीमाथि कटाक्ष गर्दै लेखेका छन्, ‘मिस्टर प्राइम मिनिस्टर, तिम्रो “सु“ शासन ???’
प्रधानमन्त्री, सरकार र एमाले नेताहरुका कमजोरी खोजेर पोष्ट गर्नेक्रममा तिलकले यौनकाण्डमा मुछिएका महेश बस्नेतलाई पनि छाडेका छैनन । बस्नेतले नेपालमा फेसबुक दर्ता नभए बन्द गर्ने सरकारको
तयारीबारे जानकारी दिँदै लेखेको स्टाटसमा उनले टिप्पणी गरेका छन्, ‘तिम्रो सिरक काण्ड, हामीले टिकटकमा हेर्या हो । फेसबुकमा भन्दा पहिले । सामाजिक सञ्जालसँग रिस, त्यही काण्ड सार्वजनिक भएका कारण त होलानी, कमरेडको ! काण्डहरू सार्वजनिक भएका कारण नै तिम्रो भ्रष्ट पार्टीलाई टाऊको दुखाई हो ???’
यतिमात्र कहाँ हो र ? उनको फेसबुकमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाप्रति असहिष्णु देखिने समाग्रीसमेत पोष्टिएको छ । ‘किड्नी जस्तै, दिमाग पनि फेर्न मिल्ने हुनुपर्यो’, उनले लेखेका छन् । त्यस्तै, तत्कालीन राजा वीरेन्द्रबाट सम्मान थाप्दै गरेका एकजना दुब्लो व्यक्तिलाई केपी ओली भनी गरिएको भ्रमपूर्ण प्रचारमा सल्लाहकारपुत्र रमाएको देखिन्छ । ‘उहाँलाई चिन्नुहुन्छ ?’ भनी लेखिएको फोटोसहितको पोष्टलाई उनले ‘सबैले चिनिसके हौ अब त !’ भनेर सेयर गरेका छन् ।
तिलकको फेसबुकमा पछिल्लो पटक १२ घण्टाअघि ‘अध्यागमनका सहसचिव पक्राउ, करोडौँको चलखेल, गृहमन्त्रीसम्म कमिसनको खेल, काठमाडौँ एयरपोर्टमा खैलाबैला’ शीर्षकको युट्युब भिडिओ सामाग्री सेयर गरिएको छ । राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध अरुले लेखेका आक्रोशपूर्ण पोष्टलाई पनि उनले महत्व दिएको देखिन्छ ।
टिप्पणीहरू