जेलमा बसेकालाई एकपछि अर्को मुद्दा
‘नेशनल पेमेण्ट गेट–वे प्रणाली’ खरिदमा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहरिएर जेल पुगेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका भूपू प्रवन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अर्को मुद्दा दर्ता भएको छ ।
सप्लाई, डेलिभरी इन्स्टलेशन एण्ड कमिशनिङ अफ आरआईएससी एण्ड एचसीआई सर्भिस खरिद गर्दा अनियमतता गरेकोसम्बन्धी कसुरमा विशेष अदालत काठमाडौंमा आज उनीसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनविरुद्ध पनि मुद्दा चलाइएको छ ।
आयोगका अनुसार केन्द्रले आर्थिक वर्ष २०७५–७६ मा सप्लाई, डेलिभरी इनस्टलेशन एण्ड कमिशनिङ अफ आरआईएससी एण्ड एचसीआई सर्भिस खरिद गरेको थियो । तर, सार्वजनिक खरिद योजना तयार नगरी उपकरण गरिनुका साथै लागत अनुमान तयारी तथा स्वीकृतिमा स्वार्थ बाझिने गरी मिलेमतो भएको र मूल्यसूचीभन्दा बढीमा उपकरण किनेको पाइएको छ ।
योसँगै उक्त खरिदको म्याक्स इन्टरनेशनललाई सामान आपूर्ति गर्ने सिंगापुरको बैंकटेकले सन् २०१९ मा केन्द्रका कार्यकारी निर्देशक पौडेदको युओबी सिंगापुरमा बैंकमा रहेको खातामा ७९ हजार ६४० डलर जम्मा गरेको भेटिएको अख्तियारको ठहर छ । अभियोगपत्रमा उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, द२०५९ को दफा ८ बमोजिम पाँच करोड ७९ लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबी गरिएको छ ।
टिप्पणीहरू