प्रशासकीय अधिकृतको धन्दा : पोलमा लाइट, खल्तीमा २५ लाख

प्रशासकीय अधिकृतको धन्दा : पोलमा लाइट, खल्तीमा २५ लाख

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादव भ्रष्टाचारमा तानिएका छन् । बिजुलीको पोल लाईट जडानमा भ्रष्टाचारको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित आठ जनाउपर मुद्दा दायर गरिएको छ ।

इन्जिनियर कुसानन्द बिराची र रामाकान्त चौधरी, सब–इन्जिनियर संजयकुमार यादव, शाखा अधिकृत विनोदकुमार ठाकुर, लेखापाल अनिता परियार, योजना शाखामा कार्यरत सहायक पाँचौं निकिता चौधरी र बिएस निर्माण सेवाका प्रोपाइटर विजयकुमार यादवमाथि पनि मुद्दा दायर भएको छ ।

पालिकाको सबै वडामा एक सय ४८ थान बिजुलीको उच्चस्तरीय पोल लाईट जडानका निम्ति आर्थिक वर्ष २०७८–०७९ मा बजेट विनियोजन गरियो । अख्तियारका अनुसार उनीहरुको मिलेमतोमा कमसल खालको लाईट जडान गरिएको तर बजार मूल्यभन्दा बढीको रकम भुक्तानी दिइएको पाइएको छ । 

यसबाट २५ लाख रुपैयाँ बढी भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम २५ लाख ४ हजार ५३० रुपैयाँ बिगो कायम गरी उनीहरुलाई कैद र जरिवानाको मागदाबी गरेको हो ।

टिप्पणीहरू