सर्वोच्चका बिष्ट स्व. एसएसपीका संधियार

सर्वोच्चका बिष्ट स्व. एसएसपीका संधियार

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्टका कारण राष्ट्रिय राजनीतिमा गत साता एउटा सनसनी मच्चियो । सम्भवतः नेपालको इतिहासमा यो आफैंमा पहिलो बहुआयामिक हो । 

‘कैलालीमा अढाई वर्षीय बालकसहित ७ जना सुरक्षाकर्मीको ज्यान जाने हृदयविदारक घटना हुँदा महिमानसिंह छिमेकी जिल्ला कञ्चनपुरको अदालतमा थिए । उनले त्यही विभत्स हत्याको बदला एकदिन लिएरै छोड्ने र पीडितलाई न्याय दिलाउने वचन दिँदै आएका रहेछन्,’ स्रोतले भन्यो, ‘सोही घटनामा लखेटी लखेटी भीडद्वारा भाला रोपेर मारिएका एसएसपी लक्ष्मण न्यौपानेको परिवारसँग नजिक बस्ने भएपछि उनले पीडितलाई जसरी पनि न्याय दिलाउँछु भनेका रहेछन् ।’

तत्कालीन सेती अञ्चलका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित प्रहरीका ५, सशस्त्रका दुई र एक बालकसहित ८ जनाको विभत्स हत्या भएको थियो । इन्सपेक्टर बलराज बिष्ट र केशवराज बोहोरा पनि त्यहीबेला मारिएका थिए । टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीचको झडपपछि सो विभत्स घटना भएको हो । त्यो घटना नजिकबाट नियालेका महिमानले त्यहीबेलादेखि बदलाको भावना पालिरहेको देखिएको छ । उनका छोरा विज्ञान पनि बाबुसँगै सर्वोच्चमा कार्यरत छन्, कानुन अधिकृत हुन् । एलएलएम गरेकै सात आठ वर्ष भइसक्यो । लक्ष्मणको परिवारसँग नजिक भएपछि बिष्टले न्याय दिलाएरै छोड्नेबारे पटकपटक कुरा कोट्याएको स्रोतको दावी छ । 

‘भक्तपुरमा बस्ने छिमेकी रहेछन् । लक्ष्मणको परिवारले पनि अन्याय भयो भनेर कुरा गरिरहँदा रहेछन् । यसैले म ठाउँमा छु, एक दिन केही न केही गर्छु भन्ने मानसिकतामा बसेको देखियो,’ स्रोतले भन्यो, ‘यसैले जन्मकैदको सजायँ पाएकालाई आममाफी दिनु गलत हो भनेर राष्ट्रपतिलाई समेत मुछ्ने गरी नक्कली कागजात बनाएछन् ।’ जेसुकै सजायँ भोग्न पनि तयार हुने मानसिकता बनाएर बिष्टले सर्वोच्च अदालतको आजसम्मको इतिहासमा एउटै बिर्सन नसक्ने घटना निम्त्याएका छन् ।

एउटा कर्मचारीको हर्कतले देश कसरी हल्लिन्छ र बिर्सन नसक्ने नजीर बस्छ भन्ने वैशाख १७ गतेको त्यो घटनाले देखाउँछ । सर्वोच्च अदालत, प्रहरीको उच्च नेतृत्व कसरी हल्लियो, बहकियो र प्रयोग भयो भन्ने बिर्सन नसकिने घटना हो यो । त्यसदिन आइजिपीदेखि प्रहरीका उच्च अधिकारी नै नराम्ररी चुक्न पुगेका थिए । 

२०७२ भदौको टीकापुर काण्डमा आरोपित भएपछि जिल्ला अदालतले रेशमलाई आजीवन सजायँ सुनायो । गणतन्त्र दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरिदिएपछि २०८० जेठ १५ गते जेलबाट मुक्त भए । कैलाली घटनामा मारिएका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले आममाफीविरुद्ध सर्वोच्चमा हालेको रिटको पेशी असारलाई चढेको छ । 

 

टिप्पणीहरू