नारायण खतिवडाले ल्याए ‘स्वार्थी संसार’

नारायण खतिवडाले ल्याए ‘स्वार्थी संसार’

संगीतकार नारायण खतिवडाको शब्द सिर्जना रहेको गीत ‘स्वार्थी संसार’ बोलको गीत बजारमा आएको छ । 

डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको उक्त गीतमा वरिष्ठ संगीतकार लक्ष्मण शेषको संगीत सिर्जना एवं मधुर स्वरका धनी स्वरुपराज आचार्यको आवाज रहेको छ । लामो समयपछिको अन्तरालमा वरिष्ठ संगीतकार लक्ष्मण शेष यो गीतमार्फत पुनरागमन भएका हुन् । 

‘स्वार्थी संसार’ गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबमा र विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्ममार्फत अपलोड गरिएको छ । वास्तविक घटनामा आधारित एवं बहुसंख्यक मानिसहरूले समयक्रममा कुनै न कुनै अनुभव र घटना भएको भाव र सन्देश गीतमा रहेको छ । 

आजभोलि मानिसहरु आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुने, लाभ र फाइदा लिने तर आफ्नो लुकेको स्वार्थ पूरा भएपछी कुल्चेर हिँड्ने प्रवृत्तिलाई गीतमा प्रस्तुत गरिएको छ । संगीतकार नारायण खतिवडाको यसअघि पनि दर्जनौँ गीत बजारमा आइसकेका छन् । सम्झनाका पाइलाहरु नामक गीति संग्रहमा उनको एक सय नौ वटा गीत समावेश छन् भने स्वदेश छोडी, मनका कुरा, विन्दास, देखुँदेखुँ, सन्देश पुर्‍याइदेउ, मेरो कथा, चोखो चोखो बोलका दर्जनौँ गीत बजारमा रहेका छन् । 

गीत, कविता, मुक्तक र समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका खतिवडा सरकारी सेवामा सक्रिय छन् । सामाजिक परिवेश, वर्तमान परिस्थिति, समसामयिक घट्ना, प्रेम, वियोग तथा राष्ट्र र राष्ट्रियता पक्षलाई कलात्मक, रचात्मक तथा सन्देशमूलक भावसहित साहित्यमा उतार्न श्रष्टा उनको पछिल्लो सिर्जना ‘स्वार्थी संसार’ पनि एउटा उदाहरणीय गीत बनेको छ । 

खतिवडाको शब्द रचना, लक्ष्मण शेषको मौलिक संगीत सिर्जना र स्वरका धनी गायक स्वरूपराज आचार्यको गायनको त्रिपक्षीय संयोग मिलेको यो गीतले संगीतको दुनियाँमा अलग्गै छाप छोड्ने अपेक्षा सर्जकको छ ।

 

टिप्पणीहरू