जुर्मुरायो राजश्व अनुसन्धान, निरन्तरतामा ‘आशंका’

जुर्मुरायो राजश्व अनुसन्धान, निरन्तरतामा ‘आशंका’

राजश्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलनसम्बन्धी कसूरमा अनुसन्धान तथा तहकिकात पूरा गरेर धमाधम मुद्दा अदालत लैजान थालेको छ । विगतमा सुस्ताएको विभाग अहिले यस मामिलामा बेस्कन तातेको हो । विभागका चार कार्यालयमध्ये बुटवल कार्यालय यसरी तात्नमा अग्रपंक्तिमा देखिएको छ । 

वर्षौँदेखि सुस्ताएको कार्यालय विवेक घिमिरे त्यहाँ प्रमुख भएर आएको पहिलो हप्तादेखि नै कर्मचारी र राजश्व प्रहरीले फुर्सद नपाउने अवस्था छ । आफ्नो कार्यकालमा केही काम गरेर देखाउने हुटहटी पालेका निजले विभागको सम्पूर्ण साथ आफूले पाएको बताए । 

यसैक्रममा कार्यालयले पछिल्लो पटक विदेशी मुद्रा अपचलन कसूरमा अनुसन्धान तथा तहकिकात गरी ३ जनाविरुद्ध जिल्ला अदालत कपिलवस्तु, तौलिहवामा आरोपपत्र दायर गरेको छ । भारतीय मुद्रा अवैध रुपमा नेपाल ओसारपसार गरेको अभियोगमा शुद्धोदन गाउँपालिका–६ बिमिहाका २६ वर्षे राकेश कुमार वर्मा, ५६ वर्षका जंगबहादुर वर्मा सोनार र मायादेवी गाउँपालिका– १, इमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमानविरुद्ध मुद्दा चलाइएको हो । 

भारतीय नम्बर प्लेट युपी ५५ एएम ०४५९ नम्बरको गाडीमा आएका उनीहरुको साथबाट प्रतिबन्धित भारु ५ सय दरका ४ हजार २३६ थान र २ सयका १ सय थान रहेको राजश्व कार्यालयले जनाएको छ । उक्त गाडीसमेत राजश्वको नियन्त्रणमा रहेको र कसुरजन्य सम्पत्ति तथा साधन रोक्का नियन्त्रण र जफत ऐन, २०७० को दफा ११ बमोजिम मुद्दा पेश गरेको कार्यालयको भनाई छ । 

प्रतिवादीहरुले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ (संशोधनसहित) को दफा ३ ४ र ५ तथा सोही ऐनको दफा १२ को अधिकार प्रयोगगरी नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले २०७८ पुस २३ मा जारी गरेको एकीकृत परिपत्र–२०७८ को दफा ७ मा भएको व्यवस्थाले निषेध गरेको कार्य गरेको ठहर अभियोग पत्रमा ऐनबमोजिम कारबाही तथा सजाय मागदावी लिइएको छ ।

 

 

टिप्पणीहरू