उता जग्गा निरीक्षण, यता ‘राजा आउ देश बचाउ’ को नारा

उता जग्गा निरीक्षण, यता ‘राजा आउ देश बचाउ’ को नारा

पछिल्लो १० दिनदेखि नगरकोटको रिसोर्टमा बसेर राजनीतिक भेटघाट गर्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह आज काभ्रेपलाञ्चोक पुग्नुभएको छ । मण्डनदेउपुर नगरपालिकास्थित हिमानी ट्रष्टको नाममा रहेको जग्गाको वस्तुस्थिति बुझ्न उहाँ परिवरारका सदस्यहरुसहित बिहान त्यहाँ जानुभएको बताइन्छ ।

मन्डनदेउपुरको वडा नम्बर ५ स्थित मार्सेमा ४२ रोपनी जग्गा किनेर ट्रष्टको नाममा राखेपनि पूर्व राजाले हालसम्म प्रत्यक्ष नदेखेकाले नगरकोट पुगेको मौकामा पूर्व रानी कोमल, बुहारी हिमानी, छोरी र नातिनीहरुसहित त्यहाँ पुग्नुभएको हो ।

उक्त जग्गा खरिदको बेलामा निर्मल निवासले हिमानी ट्रष्टकै केही विश्वासिला पात्रहरुलाई खटाएको थियो । आज पूर्व राजपरिवार केही सहयोगीसहित तीन वटा गाडीमा त्यहाँ पुगेको हो ।

जग्गा हेरेपछि पूर्व राजाले डोजर लगाएर सम्याउनुपर्ने सल्लाह दिनुभएको र पूर्व युवराज्ञी हिमानीको कृषि परियोजना थाल्ने चाहना रहेको बताइन्छ । 

करिब आधा घण्टा जग्गामा टहलिएपछि उहाँहरु त्यहाँबाट फर्कनुभएको हो । पूर्व राजाले काभ्रेमा जग्गा अवलोकन गरिरहँदा यता काठमाडौँमा नवराज सुवेदीहरु ‘राजा आऊ देश बचाउ’ को नारा लाउँदै मोटरसाइकल र्याली निकाल्दै थिए ।

फाेटाे : सामाजिक सञ्जाल  ।

टिप्पणीहरू