शिक्षकजस्तै डाक्टरहरु पनि विभाजित, सडक नछोड्ने घोषणा

सरकार र नेपाल चिकित्सक संघबीच भएको सहमतिलाई लिएर 'स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति' ले असन्तुष्टि जनाएको छ ।
हिजो भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै समितिले आन्दोलन नरोकिने स्पष्ट पारेको छ । आवासीय चिकित्सकहरुको माग सम्बोधनका लागि ठोस कदम नचालेसम्म आन्दोलन जारी रहने समितिद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘विभिन्न सञ्चारमाध्यमहरुमा आएका ‘आन्दोलनरत चिकित्सकहरु र सरकारबीच सहमति’ शीर्षकका समाचारहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सरकारसँग हाम्रो कुनैपनि सहमति नभएको जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा आयोगको मिति २०८१–१०–२५ गतेको सोह्रौं पूर्ण बैठकले निर्णय गरेबमोजिमको पारिश्रमिक करिब तीन महिनादेखि नपाएको र पटकपटक निर्देशन दिनेबाहेक कार्यान्वयनको कुनै ठोस कदम नचालिएको अवस्थामा हामी हाम्रा आन्दोलनका कार्यक्रमहरु सुचारु राख्न बाध्य छौं ।’
सोहीअनुरुप उनीहरु आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आज पनि माइतीघर मण्डलामा उत्रिएका छन् । जिल्लास्तरमा पनि संघर्षका कार्यक्रमलाई निरन्तरता दिइएको जनाइएको छ ।
निजी मेडिकल कलेजका एमडी, एमएस, एमडिएसलगायत आवासीय चिकित्सकहरुको मासिक पारिश्रमिक (सरकारी आठौं तह) सरह दिन निर्देशन दिन, अटेरी गर्ने कलेजमा ती कार्यक्रम खारेज र सरकारी अनुदानका सम्पूर्ण कार्यक्रम रद्द गर्न माग गर्दै आवासीय चिकित्सकहरु पछिल्लो एक महिनादेखि आन्दोलनमा छन् ।
चिकित्सकहरु आन्दोलनमा उत्रिदाँ सेवा ठप्प भएपछि हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघबीच आवासीय चिकित्सकको माग सम्बोधन गर्न चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकको निर्णय कार्यान्वयन गर्ने, बिदाबारे अध्ययन गर्नका लागि कार्यदल बनाउनेलगायतको सहमति भएको थियो । तर, चिकित्सकहरुले त्यस्लाई अस्वीकार गरेपछि समस्या थप बल्झिएको छ ।
यसअघि सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति पनि यसैगरी विवादमा परेको थियो । उक्त सहमतिप्रति असन्तुष्ट आन्दोलनकै एउटा पक्ष विद्यालय-कर्मचारीले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
टिप्पणीहरू