निमुखालाई ज्यान जोगाउन धौ धौ छ यो शहरमा
नेपालीमा एउटा उखान छ,‘जसको शक्ति,उसैको भक्ति ।’ बागलुुङका सोम शर्मालाई त्यस्तै लाग्न थालेको छ । कुटपिट भएको महिना दिन बित्न लागिसक्दासमेत प्रहरीले दोषीलाई कारबाहीमा चासो नदेखाएपछि उनी दुःखी छन् । गत चैत २५ गते उनीमाथि मरणासन्न हुनेगरी कुटपिट भयो । राजधानीको अनामनगरस्थित अर्नि भान्साघरमा बसिरहेका उनलाई एक जनाले बोलाए ।
कामले बोलाएका होलान् भनेर बाहिर निस्किए । गेटबाहिर पाइला राख्नेबित्तिकै लाठी प्रहार भयो । उनीहरु टाउकोमा प्रहार गरेर ज्यान मार्ने नियतले आएको सोम बताउँछन् । आफूले दाहिने हात अगाडि सारेर टाउको जोगाएको उनको भनाइ छ । हातमा गम्भीर चोट लागेको छ । त्यसपछि उनलाई तुरुन्तै अस्पताल पुर्याइयो । उनका अनुसार नजिकैबाट नेकपा एमालेको एउटा ब्यानर भेटिएको छ ।
एमालेले नै आफूमाथि आक्रमण गरेको हुनसक्ने उनको अनुमान छ । जनआस्थासँग भने,‘मलाई कुटेको स्थान नजिकैबाट एमालेको मोटरसाइकल र्यालीको ब्यानर भेटिएको छ । त्यसैले एमालेकै कार्यकर्ताले ममाथि आक्रमण गरेको हुनसक्ने लागेको छ ।’ उनी र उनको समूहले राज्यद्वारा भएको गलत कार्यको विरोध गर्दै आएको छ ।
आफैंले सिसिटिभी क्यामेराको फुटेज खोजेर बुझाएका छन् । तैपनि प्रहरीले दोषीलाई पक्रन सकेको छैन ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको बर्खास्तीविरुद्ध उनको समूहले सरकारको विरोध गरिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काविरुद्ध उनीहरुले निरन्तर खबरदारी गरिरहेका थिए । त्यसैले पनि आफू निशानामा परेको हुनसक्ने उनको ठहर छ ।
‘प्रधानमन्त्री ओलीले सरकारमाथिको आक्रमण छेक्न युवा संघलाई निर्देशन दिनुभएको थियो । हामीले कुलमानको बर्खास्तीविरुद्ध निरन्तर खबरदारी गरिरहेका थियौं । त्यसैले मलाई निशाना बनाइएको हुनसक्छ । मेरो टाउकोमा हान्ने नियत थियो तर जसोतसो बचेँ’,उनले भने ।
घटनापछि प्रहरी वृत्त,सिंहदरबारमा जाहेरी दिएका थिए । तर,प्रहरीले कारबाहीमा चासो नदेखाएपछि आफैंले सिसिटिभी क्यामेराको फुटेज खोजेर बुझाएका छन् । तैपनि प्रहरीले दोषीलाई पक्रन सकेको छैन । प्रहरीबाट केही नभएपछि ज्यान सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिए । प्रशासनले गत वैशाख ८ गते नै जिल्ला प्रहरी परिसर,काठमाडौंलाई पत्र लेखेर सुरक्षाको व्यवस्था मिलाउन भनेको छ ।

अर्कोतर्फ,उनले राष्ट्रिय मानव अधिकार आयोगमा अनुसन्धानका लागि पहल गरिदिन भन्दै निवेदन दिएका छन् । ‘सो दिन मलाई चार जनाको समूहले एक्कासी आक्रमण गर्यो । हामी लामो समयदेखि सरकारले गरेका गलत कदमको विरोध गर्दै आइरहेको र उक्त कुरा अहिलेको राज्यलाई नपचेको हुनाले हामीलाई त्रास र डर देखाउन सत्तानिकट कर्मचारीले आक्रमण गराएर हाम्रो स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न, बोल्न र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको हनन भयो’,पत्रमा उल्लेख छ ।
तर, कतैबाट पनि कुनै पहल नभएको उनी गुनासो गर्छन् । एमालेकै सरकार भएकाले दोषीलाई कारबाही गर्न आलटाल गरिएको उनको अड्कल छ । भन्छन्,‘ममाथि कुटपिट हुनु ठूलो कुरा होइन । भोलि अरुमाथि पनि यो घटना हुनसक्छ अनि कसैले न्याय नपाउने ? मेरो घटनाबारे काठमाडौंको एसएसपीज्यूलाई थाहा छ । सिडियोसाबलाई थाहा छ । तर, कुनैपनि निकायले कारबाहीमा चासो देखाएको छैन ।’
टिप्पणीहरू