विदेश उड्दा पनि खुवाउनै पर्ने देश

विदेश उड्दा पनि खुवाउनै पर्ने देश

अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संस्थागत र व्यवस्थित रुपले गरिने भ्रष्टाचारका विभिन्न तरिकामध्ये एउटा चाहिं हालका लागि रोक्न आन्तरिक मोबाइल सर्कुलर गरिएको छ । जनआस्थामा समाचार प्रकाशित भएपश्चात आन्तरिक सूचना जारी गरेर ‘एल’ लाई श्रमका लागि पर्यटक भिसामा विदेश उडाउने कार्य रोक्न सर्कुलर गरिएको हो । समाचार प्रकाशित भएको केही दिनपछि पठाइएको उक्त सन्देशमा ‘मिति २०८१।१२।३१ आइतबारदेखि भिजिट भिसामा जाने "एल"हरुको हकमा प्रस्थान अनुमति नदिइने भएकोले सोही बमोजिम गर्न गराउन जानकारी गराइन्छ’ भनिएको छ ।

यसबाट प्रष्ट हुन्छ कि सो मितिभन्दा अघिसम्म एल (पर्यटन भिसामा श्रमका लागि विदेशिने पुरुष) हरुलाई उडाउने काम भइरहेको थियो । यसरी श्रमका लागि भ्रमण भिसामा उडाइने पुरुष यात्रुहरुसँग कम्तिमा पनि प्रतिव्यक्ति ४० हजारका दरले दैनिक ३ सयसम्मलाई विदेश उडाइन्थ्यो । प्रतिव्यक्ति ४० हजार असुल गरिने दरभाउ यसअघि नै जनआस्थाले प्रकाशित गरिसकेको छ । अध्यागमनका कर्मचारीले पर्यटन भिसामा श्रमका लागि विदेशिने पुरुषलाई एल र महिलालाई चिनाउन अंग्रेजी अक्षरको एस वर्ण प्रयोग गर्दै आएको बताइन्छ ।

गत चैत्र ३१ देखि लागु हुने गरी जारी सर्कुलरमा लेखिएको छ–‘साथै प्रस्थान अनुमतिका लागि आएमा कुनै पनि जिम्मेवारी नलिइने समेत जानकारी गराइन्छ । धन्यवाद’ । यसअघि अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले संस्थागत ढंगबाटै विदेशिने यात्रुहरुसँग उठाउने गरेको पुष्टि पनि यो सर्कुलरबाट हुन्छ । पहिले पठाउँदा जिम्मेवारी लिइने र अब नलिइने भन्ने वाक्यले अब पठाएमा व्यक्ति स्वयं जिम्मेवार हुने र कार्यालयले जिम्मा नलिने भन्ने बुझिने अध्यागमन विभागका एक कर्मचारी बताउँछन् । यति मात्र नभई समाचार प्रकाशित भएपछि पैसा उठाउनका लागि दर नै तोकेर सर्कुलर पठाउन प्रयोग गरिएका सबै मोबाइल नम्बर पनि अहिले बन्द गरिएको छ । सो कार्यालयमा प्रस्थान अनुमति प्रदान गर्ने अधिकृतसम्मलाई कार्यालयले नै मोबाइल नम्बर उपलब्ध गराएको छ । तिनै सरकारी मोबाइलमार्फत कर्मचारीबीच सन्देश आदान प्रदान हुनेगरेको थियो । अख्तियारले चासो लिएको र फसिने डरले सबै सरकारी मोबाइल बन्द गरी नयाँ नम्बर लिइएको बताइएको छ । 

समाचार प्रकाशित हुनुअघिसम्म सबै यात्रुको नाम र लिइएको रकम कार्यालयकै कम्प्युटरमा एक्सेल सिट नै बनाएर हिसाबकिताब गरिन्थ्यो । तर अलिक अघि भने त्यसरी उठाइएका रकम र घुस दिने यात्रुको विवरण कर्मचारीको आ–आफ्नै मोबाइलमा मात्र राख्न थालियो । अहिले सबै कम्प्युटरको विवरण हटाइएको छ । तर अख्तियारले हार्डडिस्कको अनुसन्धान गरी सबै विवरण संकलन गर्न सक्ने भए पनि गृहकै एक कर्मचारी भन्छन्– हार्ड डिस्क नै फ्याँकेर नयाँ राखिसके होलान् । अहिले पनि ड्युटी शुरु हुनुभन्दा एक घण्टा अघिसम्म बाहिरबाट कागतमा टिपेर ल्याइएका यात्रुहरुबाट मात्र रकम लिई असुली प्रस्थान अनुमतिको छाप लगाउने गरिएको छ । 

नौ जनाको दरबन्दीमा २३ जना

कार्यरत विमानस्थलस्थित अध्यागमन कार्यालयमा जम्मा ९ जना नायब सुब्बाको दरबन्दी रहेको छ । गृह मन्त्रालय,अध्यागमन विभाग र अख्तियारले समेत अनुगमन नगर्ने र मनमौजी तरिकाले छाडिदिने गर्नाले त्यहाँ हाल २३ जना नासु थुप्रिएका छन् । पाँच जनाको सरुवा भइसकेको भएपनि सामान्यका शुभलाभवालालाई खुशी तुल्याएर त्यहीं बसिरहेका छन् । तीन सिफ्ट सञ्चालन हुने सो कार्यालयमा प्रति सिफ्ट ४० जना अध्यागमन अधिकृत र ३ जना वरिष्ठ (उपसचिव) खटिने गरेका छन् । हाल त्यहाँ जम्मा १ सय ६५ जनाजति कर्मचारीहरु कार्यरत छन् ।

टिप्पणीहरू