भारतको केआईआईटी विश्वविद्यालयमा अर्की नेपाली छात्राको शव

भारतको केआईआईटी विश्वविद्यालयमा अर्की नेपाली छात्राको शव

भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्राको पनि शव फेला परेको छ । झुण्डिएको अवस्थामा विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साहको शव भेटिएको छ । 

हिजो साँझ नियमित जाँचको क्रममा छात्रावासमा बस्दै आएको चौथो तलाको उनको कोठाको ढोका नखुलेपछि फुटाएर हेर्दा उनी मृत फेला परेको बताइन्छ । 

यसअघि गत फागुनमा बुटवलकी छात्रा प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो । प्रकृतिको मृत्यु शंकास्पद रहेको र विश्वविद्यालयले लापरबाही गरेको आरोप लगाएपछि नेपाली विद्यार्थीमाथि विश्वविद्यालयका प्रोफेसर र कर्मचारी नै जाइलागेका थिए । वातावरण आन्दोलित भएपछि धेरै विद्यार्थी घर फर्केका थिए । 

पछि विवाद र तनाव सिर्जना भएको थियो । विश्वविद्यालयको लापरबाहीले प्रकृतिको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीले आन्दोलन गरेपछि नेपाली विद्यार्थीलाई कुटपिट गर्दै विश्वविद्यालयबाट निकालिएको थियो । 

प्रकृतिको मृत्युको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राज्य सरकारले पनि घटनाको छानबिन गरेको छ । 

टिप्पणीहरू