खुला सिमानामा भरिया समातिँदै, तस्कर उम्किँदै
- ऋषि भट्टराई
सुन तस्करी होस् या अन्य सामानको तस्करी, सँधै तस्कर उम्किन्छन्, भरिया फस्छन् । केही पैसा पाउने लोभमा हिँडेका भरियाहरु जेलको चिसो भुइँमा पुग्छन् भने असली तस्करको पत्तै लाग्दैन । त्यस्तै दृश्य राजश्व अनुसन्धान कार्यालय, बुटवलमा अस्ति देखियो ।
त्यहाँ पुग्दा कार्यालय प्रमुख विवेक घिमिरेको कार्यकक्षबाट एक भारतीय नागरिक गहभरी आँशु पार्दै निस्किए । हस्याङ्गफस्याङ्ग गर्दै निस्किएका उनी हुन्, आशिष कुमार । वैशाख १४ गते कपिलवस्तुको कृष्णनगरबाट स्रोत नखुलेको ४२ लाख नेपाली र १६ हजार ५९० भारतीय रुपैयाँ बरामद भएको थियो ।
त्यो रकम उनको साथबाटै फेला परेको हो । कार्यालयमा सोधपुछको क्रममा उनले नेपाली मूलको व्यापारीले दिनको पाँच सय रुपैयाँ दिनेगरी उक्त कार्यमा लगाएको बताएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।
चामलको बिल देखाएर चिनी तस्करी
कार्यालयका अनुसार चामलको बिल देखाएर चिनीको तस्करी गरिएको पाइएको छ । केही दिनअघि बुटवल बसपार्कनजिकै लोडेड ट्रक चेकजाँच गर्ने क्रममा चालकले चामलको बिल देखाए । तर, त्यहाँ चिनी फेला परेको थियो । बिलको भ्याट नम्बर र भिसीटिएस चेक गर्दापनि रजिष्ट्रार नभएको पाइएपछि उक्त चिनी तस्करीमार्फत भित्रिएको पुष्टि भएको छ ।
चालकले बयानमा एक व्यापारीले पोखरा लैजानको लागि बुटवलबाट पठाएको बताएका छन् । त्यसलगत्तै व्यापारी सम्पर्कविहीन भएको उनको गुनासो छ । उनीसँग चिनी ल्याएको पुष्टि हुने कागजातसमेत छैन् । कार्यालयले पछिल्लो ६ महिनामा भन्सार छलेर आएका चारवटा ट्रक नियन्त्रणमा लिएको छ ।
जसमा तीनवटा रुपन्देही र एउटा नवलपरासीको रहेको खुलेको छ । त्यसमध्ये दुई वटा ट्रक मनकामना फुड एण्ड सप्लायर्सका प्रोफाइटर मोहन भट्टराई र एउटा रम्भादेवी ट्रेडिङ्ग एण्ड सप्लायर्सको प्रोफाइटर प्रकाश भट्टराईको हो । हालसम्म पनि सम्बन्धित फर्म सम्पर्कमा नआएको र अनुसन्धान गर्ने समयावधि सकिएपछि मुद्दाका लागि अदालत जाने कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।
भन्सार छलेर आएका सामानकाे दुई सय प्रतिशत बिगो तिर्नुपर्ने हुन्छ । घिमिरेका अनुसार उनले कार्यभार सम्हालेपछि एक लाख २५ हजार केजी भन्सार छलीको चिनी बरामद भएको छ । राजश्व चुहावट तथा चोरीपैठारीका सात वटा मुद्दा उच्चमा र विनियमसम्बन्धी पाँच वटा मुद्दा जिल्ला अदालतमा गएको उनको भनाइ छ ।
उनी आउनुभन्दा अगाडिका दुई वटा प्रतिवेदन पेश भएपनि मुद्दा चलाउन बाँकी रहेकाे छ । खुल्ला नाकाका कारण संगठित तस्करको जालो बढ्दै गएको छ । तर, पर्याप्त जनशक्ति नहुँदा कार्यालयलाई काम गर्न समस्या भएको छ । कार्यालयमा २५ जना कर्मचारीको दरबन्दी भएपनि कार्यालय सहयोगी र चालकसमेत गरी १८ जना मात्रै छन् ।
टिप्पणीहरू