बाटो निर्माणमा ब्रम्हलुट, प्रशासकीय अधिकृतसहित नौ जना एकजुट

बाटो निर्माणमा ब्रम्हलुट, प्रशासकीय अधिकृतसहित नौ जना एकजुट

सर्लाहीको धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साह भ्रष्टाचारमा तानिएका छन् । कृषि बाटो निर्माण कार्यमा भ्रष्टाचार गरेको आरोपमा उनीसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

इन्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाचौं मोहम्मद रफिक, सबइन्जिनियर शशिरन्चन कुमार सिंह, लेखापाल अभयकुमार साह, वडा नम्बर ६, का वडाध्यक्ष श्यामबाबु साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू, कोषाध्यक्ष सुरतीया कुमारीलाई मुद्दा लगाइएको छ ।

गत वर्ष पालिकाको वडा नम्बर ६ स्थित कृषि बाटो निर्माणका लागि विनियोजित बजेट उनीहरुको मिलेमतोमा अपचलन गरिएको आयोगको भनाइ छ । प्राविधिक इष्टिमेटबमोजिम विपरित काम गरिएको, वास्तविक कार्यभन्दा बढीको झुट्टा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन पेश गरेर भुक्तानी दिइएको पाइएको छ । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम सात लाख ७९ हजार २०५ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको छ ।

टिप्पणीहरू