राजा माग्दै हिँडेकी पूर्व एमाले सांसदको माओवादीप्रति चर्को आक्रोश

राजा माग्दै हिँडेकी पूर्व एमाले सांसदको माओवादीप्रति चर्को आक्रोश

नेकपा (एमाले)की पूर्व सांसद गंगा चौधरीले जनताको बहुदलीय जनवाद (जबज) मदन भण्डारीको हत्यासँगै त्रिशुली नदीमा बगेको टिप्पणी गरेकी छन् । २०७९ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि बागी उम्मेदवारी दिएको र पार्टी कारवाहीमा परेकाले पछिल्लो समय उनले राजसंस्थाको पक्षमा वकालत गर्दै आएकी छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले राजधानीको शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दुई पटक संसद छिर्दा गणतन्त्रको चक्रब्यूह देखिसकेको बताइन् । ‘मैले दुई पटक संसदभित्र छिरेर हेरेसकेको छु, गणतन्त्रमा कति डरलाग्दा षड्यन्त्र र खेल हुन्छन्’, उनले भनिन्, ‘संविधान बनाउँदा पनि हामीले ७५ (तत्कालीन) जिल्ला पुगेर जनतालाई सोधेका थियौँ धर्म निरपेक्षता कि हिन्दूराज्य ? त्यो सुझाव सिंहदरबारमा बोराका बोरा छन् ।’

अघिल्लो वर्ष भैरहवामा आयोजित पूर्व राजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनमा सहभागी भएर औपचारिक रुपमै राजसंस्था पुनस्र्थापनाको अभियानमा जोडिएकी चौधरीले ‘माओवादीको रगत पिउन मन लागेको’ चर्को धारणा राखिन् । कार्यक्रमस्थलमा खटिएका सुरक्षाकर्मीलाई सम्बोधन गर्दै भनिन्, ‘म पनि राष्ट्रसेवक प्रहरीकी श्रीमती हुँ । सिन्धुलीको घटना सम्झिँदा अहिले पनि आँशु आउछ । मेरो ससुरालाई माओवादीले तीन टुक्रा पारेर फालेका थिए । तिनलाई सम्झिँदा अहिले पनि मलाई रगत पिउन मन लाग्छ ।’

चौधरीले हाल आफ्नो परिवारबाट सयभन्दा बढी आफन्त प्रहरी सेवामा रहेको पनि जानकारी गराइन् । ‘आज पनि मेरो परिवारबाट प्रहरीमा एक डेढ सयभन्दा बढी सामेल छन् । तर म उनीहरुलाई पनि भन्छु, राष्ट्रको आवाज उठाउनेलाई गोली ठोक्ने होइन, गोली देशलाई भ्रष्टाचारको दलदलमा फसाउनेहरुलाई ठोक्ने हो’, उनले सुनाइन् ।

टिप्पणीहरू