गगन थापाविरुद्ध मुद्दा दायर, मंगलबार पेशी

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दा दर्ता भएको छ ।
अधिवक्तात्रय अनन्तराज लुईँटेल, प्रतिभा उप्रेती र विशाल थापाले अस्ति लगेको निवेदन अध्ययनपछि सर्वोच्च प्रशासनले आज दर्ता गरेको हो । गगनले हालै सार्वजनिक मन्चबाट न्यायालय भागबण्डाको खेलमा रहेको गम्भीर आरोप लगाएका थिए ।
संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तविरुद्धको मुद्दामा अदालतले ‘डिल’ गरेको उनको दाबी थियो । ‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरुलाई दुई र तीन वर्षदेखि तलाईँ हान्दिऊँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याईनभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वासनीयतामाथि प्रश्न गराउँछ', उनले भनेका थिए ।
चार वर्ष पुरानो उक्त मुद्दाका सन्दर्भमा उनको थप टिप्पणी रह्यो, ‘एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरुको कार्यावधि सकिन लागिसक्यो । अब त्यो ठीक थियो कि थिएन भन्ने कुन नेपालको अदालतको लागि चाँहि चार वर्ष समय लाग्छ ? त्योपनि आइतबार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्यो अब त्यसको विश्वासनीयता के रहन्छ ।’
गनको उक्त अभिव्यक्तिबाट अदालतको मानहानी हुनुका साथै सर्वोच्चमा विचाराधीन ५२ भाइवाला मुद्दामाथि हस्तक्षेप भएको जिकिर निवेदकको जिकिर छ । मुलुककै सबैभन्दा ठूलो राजनीतिक पार्टीको महामन्त्री र पूर्वमन्त्री हैसियतको व्यक्तिबाट आएको अभिव्यक्तिले अदालतजस्तो पवित्र संस्था र न्यायाधीशमाथि लाञ्छना लागेको उल्लेख गर्दै कारबाही गर्न माग गरिएको छ ।
‘मुलुककै सबैभन्दा ठूलो राजनीतिक पार्टीको महामन्त्रीजस्तो महत्वपूर्ण भूमिकामा रहेको, मन्त्रीको जिम्मेवारी वहन गरिसकेको र भविष्यमा देश नै हाँक्ने जिम्मेवारीमा पुग्नसक्ने सुनिश्चित भएको राजनेताले अदालतमा विचाराधीन मुद्दामा सम्मानित सर्वोच्च अदालतजस्तो पवित्र संस्था र माननीय न्यायाधीशज्यूहरुजस्तो पवित्र, इमान्दार र निष्पक्ष श्रीमानहरुबाट मुद्दामा डिल गरेको भन्नेसम्मको गम्भीर आरोप लगाई सार्वजनिक रुपमै सर्वोच्च अदालतको अवहेलना गर्नुभएकोले सम्बन्धित मिडियाबाट उक्त प्रचारप्रसार भएको सामग्रीसमेत झिकाई मगाई, आवश्यक परेमा सञ्चारमाध्यमलाई समेत विपक्षीसमेत कायम गरी विपक्षी राजनेताले गर्नुभएको अवहेलनाउपर आवश्यक कारबाही गरिपाऊँ’, निवेदनमा भनिएको छ ।
सो मुद्दाको पेशी आउँदो मंगलबारका लागि तोकिएको छ ।
टिप्पणीहरू