प्रधानमन्त्रीको निर्देशन : सरकारको चिन्ता नलिनू, मिसन ८४ मा लाग्नू

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको चिन्ता नगरी मिसन ०८४ मा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सत्ता साझेदार कांँग्रेस सभापति शेरबहादुर देउवाको बैंकक भ्रमणसँगै दुई दलीय गठबन्धन सरकार ढल्ने चर्चा भैरहँदा प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो । भृकुटीमण्डपमा आयोजित ‘युथ सेलिब्रेसन’ नामक कार्यक्रममा ओलीले भन्नुभयो, ‘सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नुपर्दछ ।’
उहाँले आफ्नो पार्टी सरकार बचाउन कराउँदै नहिँडेको पनि दाबी गर्नुभयो । जबकि सोमबार काठमाडौँमै आयोजित एक कार्यक्रममा उहाँले देउवालाई तोकिएकै समयमा कुर्सी सुम्पिने प्रतिबद्धता जनाउनु भएको थियो । प्रायः सबैजसो सार्वजनिक मन्तव्यमा ‘आलोपालो सहमति कार्यान्यन गर्छु’ भन्दै आउनुभएका प्रधानमन्त्री आज एकाएक यसरी प्रस्तुत हुनुले सरकार ढल्न लागेको चर्चालाई बल पुर्याएको कतिपयको आकलन छ ।
तथापि आफू नेतृत्वको गठबन्धन सरकार राजनीतिक स्थायित्व र स्थिरताका लागि बनेको उहाँले जिकिर गर्नुभयो । त्यहि ध्याउन्नमा आफू अघि बढेको उल्लेख गर्दै उहाँले कार्यकर्तालाई सरकारबारे धेरै चिन्ता नगर्न सल्लाह दिनुभयो ।
‘नेकपा एमाले र नेपाली काँग्रेसबीच बनेको संयुक्त सरकार एउटा संकल्पका साथ बनेको सरकार हो । यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । र, यसले स्थिरता र स्यायित्व दिन्छ । त्यही ध्याउन्नमा अगाडि बढिरहेको छ’, ओलीले भन्नुभयो, ‘तर, सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नुपर्दछ । त्यसैकारण नेकपा एमालेले सरकार बनाउँ र सरकार बचाउँ भनेर कराएको छैन ।’
संसदको बनावटअनुसार देशलाई ठीक ढंगले अगाडि बढाउने प्रयास गरिरहने दाबीसँगै उहाँले सरकारमा गएपछि भन्न छोडेको ‘मिसन–८४’ को कुरा आज फेरि सम्झाउनुभयो । ‘हामीले ०७० को चुनाव हेर्यौं । ०७४ को चुनाव भन्यौं, ०७९ को चुनाव भन्यौं र ०८४ को चुनाव भनिरहेका छौं । मिसन ०८४ भनेका छौं । म साथीहरुलाई आग्रह गर्न चाहन्छु ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’
टिप्पणीहरू