ऊर्जा मन्त्रीले रोक्दा लाखौं स्वाहा, हायातमा ककटेल

ऊर्जा,जलस्रोत तथा सिन्चाइमन्त्री दीपक खड्काको सचिवालयले आफ्नो निमन्त्रणामा बिहान काठमाडौं आइपुगेका भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टरसँगै आज दिउँसो संयुक्त रुपमा उद्घाटन हुने भनिएको तुम्लिङटार सबस्टेसन २२० केभीको कार्यक्रम रद्द गरेको छ । कोशी कोरिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसनको संयुक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने सबै तयारी थियो ।
तर, प्राधिकरणको तुम्लिङटार कार्यालयले लाखौं खर्च गरेको उक्त कार्यक्रम अन्तिम क्षणमा मन्त्रीको सचिवालयले रद्द भएको जानकारी गराएपछि त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ । खर्च प्राधिकरणको तर निर्देशन मन्त्रालयको भएपछि तयारी गरिएको लाखौं खर्चको हिसाब मिलानबारे प्राधिकरणका कर्मचारीहरुले प्रश्न उठाएका छन् । यता, भारतीय पाहुना टोलीको सम्मानमा खड्काले कक्टेल डिनर राखेका छन् । भरे साँझ होटल हायात,बौद्धमा रात्रिभोज हुने छ ।
भारतीय विद्युत्,आवास तथा शहरी मामिलामन्त्री खट्टर दुई दिने नेपाल भ्रमणमा श्रीमतीसहित नयाँ दिल्लीबाट आज बिहान आएका हुन् । आठ सदस्यीय टोलीको नेतृत्व गरेका उनी तुम्लिङटारबाट अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्न जाने कार्यक्रम थियो । तर,मन्त्री खड्का तुम्लिङटारको कार्यक्रम रद्द गरेर भारतीय मन्त्रीसँगै आफ्नो जिल्ला संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकनमा गएका छन् ।
उक्त परियोजना मकालु गाउँपालिकामा एक खर्ब चार अर्ब रुपैयाँ भारतीय लगानीमा निर्माण भइरहेको छ । ९०० मेगावाट क्षमताको उक्त आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट २०७५ सालमा संयुक्त रुपमा उद्घाटन भएको थियो ।
उताबाट फर्केपछि दुई मुलुकले संयुक्त लगानीमा निर्माण गर्न लागेको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनसँग सम्बन्धित सम्झौतापत्रमा पनि आजै हस्ताक्षर हुने छ । प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुँदै छ ।
भारतीयमन्त्री खट्टर भोलि बिहान मुक्तिनाथ दर्शनमा जाने,फर्केर आएपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग भेटघाट गर्ने कार्यक्रम छ । भोलि नै साँझ पशुपतिनाथको आरतीमा सहभागी भएर नयाँ दिल्ली फर्कने मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू