अदालतमा बिहे सुटुक्क, नभएर हो कि ढुक्क !

तामझामसहित भव्य बिहे गरेका सेलिब्रेटीहरुले केही महिनामै डिभोर्स गरेको उदाहरण प्रशस्त छन्, नेपाली मनोरञ्जन क्षेत्रमा । युवापुस्ताकी चर्चित गायिका एलिना चौहान र ६० को दशककी हिट अभिनेत्री अरुणिमा लम्साल ताजा उदाहरण हुन् ।
अभिनेत्रीहरु वर्षा शिवाकोटी, शिल्पा पोखरेल, लोक गायिका मधु श्रेत्रीलगायतले पनि बिहे गरेको वर्ष दिनमै डिभोर्स गरेका थिए । यसरी धुमधामले गरिएका बिबाह धमाधम डिभोर्समा परिणत हुन थालेपछि अभिनेत्री नीति शाह भने पहिल्यै सचेत बनेको चर्चा छ । उनले सुटुक्क कानुनी बिबाह अर्थात् कोर्ट म्यारिज गरेकी हुन् ।
आज काठमाडौँ जिल्ला अदालत पुगेर नीतिले प्रेमी याञ्चित शमशेर जबरासँग कोर्ट म्यारिज गरेको बताइएको छ । न्यायाधीश दिनबन्धु बरालको इजलासमा उनीहरुले कानुनी प्रक्रिया पूरा गरेर बिहे दर्ता गरेको बुझिएको छ ।
नीति अभिनित चलचित्र ‘नरसिंहा अवतार’ जेठबाट प्रदर्शनमा आउँदै छ । कलाकारले आफ्नो चलचित्र चलाउन अनेक फण्डा गर्ने प्रवृति बढिरहेको बेला उनले सुटुक्क बिहे गरेपछि अनेक अड्कलबाजी भैरहेको छ ।
नीति निकटहरुका अनुसार उनले केही समययता कानुनी बिहे गर्ने रहर भएकाे बताउँदै आएकी थिइन् । उनी याञ्चितसँग प्रेम सम्बन्धमा रहे पनि पूर्वप्रेमी सम्भव सिरोहिया (हाल पूर्व मिस नेपाल श्रृंखला खतिवडाका श्रीमान)सँगको घटनालाई पूर्णरुपले बिर्सन सकिरहेकी थिइनन् ।
सिरोहियासँग घटेको घटनालाई उनी पुनःदोहोर्याउन चाहन्न थिइन् । यी सबै कारणले गर्दा नीतिले कानुनी बिबाह गरेको हुनसक्ने निकटहरु बताउँछन् । त्यस्तै, चलचित्र क्षेत्रमा चलिरहेको बिहे र डिभोर्सको लहरबाट पनि उनी झस्किएको हुनसक्ने अनुमान छ ।
‘नीतिको पहिलो फिल्म (खजुरे ब्रो) खासै चलेन, त्यतिबेला मिडियाबाजी कम भएर पनि हो’, उनी निकट एकजना कलाकार भन्छन्, ‘अहिले उनको अर्को फिल्म (नरसिंहा अवतार) आउँदैछ, चाहेको भए बिहेलाई फण्डाको रुपमा प्रयोग गर्न सक्थिन्, तर गरिनन् ।’
विष्यमा सम्बन्धले जस्तोसुकै आकार लिनसक्ने सम्भावनालाई विश्लेषण गरेर नीतिले सुटुक्क कानुनी बिहे गरेको उनको दाबी छ ।
‘बिहे गर्ने भनेकै जीवनभर सँगै हुने भनेर हो, तर केहीगरी सम्बन्ध तल-माथि केही भइहाल्यो भने तामझाम र मिडियाबाजीले झन् समस्या गराउँछ, यो सबै कुरा सोचेर अहिले नै सचेत भएको देखिन्छ’, उनले थपे ।
टिप्पणीहरू