प्रसाई थुन्न प्रहरीलाई १२ दिनको अनुमति

प्रसाई थुन्न प्रहरीलाई १२ दिनको अनुमति

तीनकुने विध्वंसका नाइके, राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईलाई १२ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढुंगानाको इजलासले आज प्रहरीले मागेबमोजिम नै हिरासतमा राख्न अनुमति दिएको हो । प्रसाईका अंगरक्षक दिपक खड्कालाई पनि त्यति नै दिन हिरासतमा लिएर अनुसन्धान गर्न प्रहरीले म्याद पाएको छ । 

चैत १५ गते तीनकुनेमा आयोजित राजावादी आन्दोलन हिंसात्मक घटनामा परिणत हुँदा दुई जनाको ज्यान जानुका साथै सयौँ घाइते र करोडौँको धनमाल क्षति भएको छ । उक्त घटनाको कमाण्ड गरेका प्रसाई त्यहि दिन फिल्डबाटै फरार भएकोमा प्रहरीले आज नियन्त्रणमा लिएको हो । 

गएराति भारतको आसाममा समातिएका उनलाई करिब १० घण्टाको सडक यात्रापछि आज बिहान झापा ल्याएर भारतीय प्रहरीले नेपाललाई बुझाएको थियो । जहाजमा राखेर आज दिउँसो काठमाडौँ ल्याइएका प्रसाईलाई एयरपोर्टबाट सिधैँ जिल्ला प्रहरी परिसर लगिएको थियो । 

त्यहाँबाट सरकारी वकिलको कार्यालय पुर्याएर म्याद थपको कागजात तयारी पारी अदालतमा पेश गरिएको थियो । उनीविरुद्ध आपराधिक उपद्रव, ज्यान मार्ने उद्योग, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

टिप्पणीहरू