केशरबहादुरका जिल्ला अध्यक्ष प्रहरी नियन्त्रणमा
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न अर्का राजावादी नेता पक्राउ परेका छन् । प्रदर्शनमा सहभागी ललितपुर, ठेचोका कमल विष्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति सातदोबाटो नजिकैबाट नियन्त्रणमा लिएको हो ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अगुर जिसीका अनुसार तीनकुने घटनामा उनी राजावादी समूहको ललितपुर कमाण्डर थिए । केशरबहादुर विष्ट अध्यक्ष रहेको राष्ट्रिय शक्ति नेपाल ललितपुरका अध्यक्ष पनि हुन् ।
कमलका दाइ विराज विष्टले भने प्रहरी प्रमुख (आईजीपी) दीपक थापाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको भरमा आफ्ना भाइलाई पक्राउ गरिएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो राति मध्यरातमा सुतिरहेको अवस्थामा घर घेरा हाली ललितपुर जिल्ला राष्ट्रिय शक्ति नेपालका अध्यक्ष कमल विष्टलाई आईजीपीको विषयमा फेसबुक पोष्ट गरेको भरमा थुना चलान गरिएको छ । यसको म घोर भत्र्सना गर्दछु । गणतन्त्र मुर्दावाद ।’
दुई साताअघि तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुई जना मारिएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७३ जना अहिले प्रहरी हिरासतमा छन् । प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईं भने अझै फरार छन् ।
टिप्पणीहरू