"सामुहिक बलात्कार"मा उन्मुक्तिको दाउ
कपिलवस्तुको शुध्दोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी मुछिएको सामुहिक बलात्कार घटनालाई राज्यपक्षले फितलो बनाएको आरोप लगाउँदै पीडितले न्याय मागेकी छन् । कपिलवस्तुबाट अध्ययनका लागि बुटवलमा बसेकी (भैरहवा १५) माथि गत असोज ५ र ६ गते स्थानीय देवीनगरस्थित एउटा कोठामा बन्धक बनाएर सामुहिक बलात्कार भएको पीडितको आरोप छ ।
उक्त घटनामा कपिलवस्तुको शुध्दोधन गाउँपालिका अध्यक्ष कमलेश,सन्तकुमार यादव तथा राजेश्वर चौधरीमाथि बलात्कार, अपहरण तथा शरीर बन्धक गरेको जनाउँदै पीडित युवतीले गत पुस २० गते इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएकी थिइन् । पालिका अध्यक्ष चौधरीका दाजु मधुसुदन शरण चौधरीको दबाबमा जाहेरी दर्ता नभएको पीडितका बाबु बताउँछन् । पीडित बालिकाले भोलिपल्ट राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएपछि पुस २६ गते बल्ल प्रहरीले जाहेरी लिएको थियो ।
तर प्रहरीले जाहेरी तथा पीडितको बयान मोडेर बलात्कारमा संलग्न सन्तकुमार यादवलाई पक्रेको र उनलाई मात्र प्रतिवादी बनाएर मुद्दा कमजोर बनाएको आरोप छ । ‘मेरो जाहेरीमा प्रष्टै उनीहरुमाथि किटानी जाहेरी दिएकी थिएँ तर एक जनालाई मात्र पक्राउ गरेर मुद्दा चलाइयो,अरुलाई किन उन्मुक्ति दिइयो ?’ उनले प्रश्न गरिन् ।
रुपन्देही सरकारी वकिलको कार्यालय तथा इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान तथा घटनालाई फितलो बनाई आफूमाथि थप अन्याय गरेको भन्दै पीडित भैरहवा १५ ले जिल्ला हुलाक कार्यालय रुपन्देहीमार्फत् पूरक जाहेरी दिइन् । प्रहरीले फागुन २५ गते पीडित र उनका बाबुलाई जाहेरी सनाखतका लागि पत्र पठायो । पत्र प्राप्त भएपछि पुनः घटना वारदात र सबै विवरणको जानकारी गराउने क्रममा मुद्दा फाँटका प्रहरीले अभद्र व्यवहार गरेको बलात्कृत युवतीको दुखेसो छ ।
त्यसपछि जिल्लाका सत्तारुढ केही कम्युनिस्ट नेता र पालिका अध्यक्ष स्वयंले सरकारी वकिल कार्यालयमार्फत मुद्दा नचल्ने बनाउन सबै हतकण्डा प्रयोग गरेको पीडित परिवारको आरोप छ । त्यसपछि परिवारलाई विभिन्न डर,त्रास,धम्कीसमेत आइरहेको पीडित भैरहवा १५ बताउँछिन् ।
यस्तो थियो घटनाः
पीडित भैरहवा १५ को जाहेरी तथा बयानअनुसार असोज ५ गते बुटवल डेराअघि सामान किन्न गएको बेला गाउँकै चिनेको सन्तकुमार यादवले सिध्दबाबा घुम्न जाने र भाइ(पीडितको) पनि जाने भन्दै नशालु पदार्थ मिसाएको पानी खुवाए । त्यसपछि इ-रिक्सामा हालेर सिध्दबाबा लगी पुनः उही पानी खुवाएर देवीनगरस्थित आफ्नो डेरामा लगे ।
यादवले युवतीलाई कोठामा हात खुट्टा बाँधेर मुखमा कपडा कोची थुनेर बलात्कार गरे । लगत्तै फोन गरेर गाउँपालिका अध्यक्ष चौधरीलाई कोठामा बोलाए । त्यसपछि युवतीलाई लठ्याउने इन्जेक्सन दिएर हात समात्दै अपशव्द बोले,घरमा कसैलाई नभन्न धम्की दिएर बाहिरिए । त्यो रात यादवले चार पटक बलात्कार गरेको उनी बताउँछिन् ।
अर्को दिन ६ गते दिउँसो यादवले तीन पटक र उनका साथी शुध्दोधनकै राजेश्वर चौधरीले एक पटक बलात्कार गरे र पुनः इन्जेक्सन हातमा लगाइदिएको उनको आरोप छ । गाउँपालिका अध्यक्ष चौधरीले पीडितको घरमा यादव केटासँग भागेर कोठामा रहेकाले लिन जाने भन्दै परिवारलाई बुटवल पुर्याएपछि अचेत अवस्थाकी छोरी परिवारको जिम्मा लगाएर पीडकहरु भागेका थिए ।
सामूहिक बलात्कार आरोपको मतियार भनिएका अध्यक्षमाथि मुलुकी संहिताको दफा २१२, २१३ अन्तर्गत, दफा ३६, र दफा २२७ क बमोजिम अपहरण, शरीर बन्धक, सामुहिक बलात्कारको मतियार, घटना ढाकछोप गरेको, सहयोग गरेको, आरोपी भगाएको लगायतमा आरोप पुष्टि हुने आधार रहेको पीडित पक्षका अधिवक्ताहरुको दाबी छ । यस्तो घटनामा पीडित आफैले बयान र सनाखत गरेको अवस्थामा सरकारी वकिल कार्यालयबाट मुद्दा नचल्ने सम्भावना नहुनुपर्ने उनीहरुको तर्क छ ।
यससम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवलले सामुहिक बलात्कार मुद्दा दर्ता भइसकेको र एक जना यसअघि नै पक्राउ परेको बताएको छ । डिएसपी इन्द्र रानाले पूरक जाहेरीको सनाखत भइसकेको,घटना वारदात र अवस्थाअनुसार सरकारी वकिल कार्यालयले मुद्दा प्रक्रियाका बारेमा निर्णय गरेपश्चात मात्र थप प्रक्रिया अघि बढाइने बताएका छन् । शुध्दोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले भने आरोप निराधार रहेको बताउँदै आफू पीडित परिवारसँगै ६ गते बेलुकी बुटवल गएर युवतीको उध्दार गरेको बताए ।
टिप्पणीहरू