बेलायत बसी दानको पैसा गोजीमा, नेपालीहरु दोषीको खोजीमा
बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको (दर्ता नम्बर ११०६६३२) ग्रेटर रसमोर नेपाली कम्युनिटीमा व्यापक आर्थिक घोटाला भएको खबर छ ।
रसमोर र आसपास ठाउँमा रहेका नेपाली समुदायको कल्याणकारी कार्यका लागि गठित उक्त च्यारिटी संस्थामा अध्यक्ष मान गुरुङले आर्थिक तलबितल गरेपछि खैलाबैला मच्चिएको छ । ट्रष्टीहरुले अध्यक्षविरुद्ध कानुनी प्रक्रियासमेत अगाडि बढाएको पाइएको छ ।
संस्थाले रसमोर लोटरी कमिसन,नेशनल लोटरी फण्डस,एनएचएस साउथ सेन्ट्रल, रसमोर बरो काउन्सिलजस्ता निकायबाट प्राप्त ग्रान्ट र विभिन्न दाताबाट प्राप्त चन्दा अध्यक्ष गुरुङले मनलाग्दी आफ्नै खातामा हालेपछि ट्रष्टीहरु आगो भएका छन् । पारदर्शी बन्न च्यारिटी कमिसन र ट्रष्टीहरुले बारम्बार चेतावनी दिइसक्दा समेत गुरुङले हिनामिना गर्न नछाडेको एक ट्रष्टीले जनआस्थालाई फोनमा बताए ।

गुरुङले सन् २०२४ सालभरि नै आर्थिक हिनामिना गरेको एक ट्रष्टीले जनआस्थालाई उपलब्ध गराएको आयव्यय विवरणमा भेटिएको छ । अध्यक्ष मान गुरुङले ताइची प्रशिक्षणका नाममा जंगल र पानीमा बुढाबुढी हिंडाएर र बालबालिकालाई नेपाली भाषा सिकाएको नाममा हजारौं पाउण्ड लिएका छन् । यतिमात्र होइन,गुरुङको आफ्नै कम्पनी माउसटेल वेव सर्भिसले महिनैपिच्छे वेव सर्भिसवापत भन्दै हजारौं पाउण्ड लिएको छ भने अध्यक्ष गुरुङले मासिक तलब २१६४.९० पाउण्डदेखि २८४३.८४ पाउण्डसम्म बुझेका छन् । उनले संस्थाको पैसाबाट अल्डरसटमा कार्यालय भाडामा लिई आफ्नो निजी कम्पनी माउसटेल चलाइरहेको समेत भेटिएको छ ।

च्यारिटी संस्थामा कहीं कसैले आफैं तलव लिने प्रचलन छैन । तर,गुरुङले तलबसहित हरेक शीर्षकबाट पैसा आफ्नै खातामा ट्रान्सफर गर्न लगाएका छन् । एक ट्रष्टीका अनुसार कोषाध्यक्षको मिलेमतोमा गुरुङले पैसा अन्धाधुन्द चलाएका हुन् ।
गुरुङले प्रोजेक्ट म्यानेजर सुशीला मगरलाई मासिक २४५३.४४ पाउण्ड तलव उपलब्ध गराएका छन् ।
त्यसैगरी,अहिले नेपाली नयाँ वर्षको अवसरमा १२ अप्रिल साँझ अल्डरसटमा कार्यक्रम गर्ने भन्दै पैसा उठाउन कस्सिएका छन् ।
उनले उक्त कार्यक्रमको कोअर्डिनेटर उपाध्यक्ष डा. विशाल गुरुङलाई बनाएका छन् ।

कार्यक्रमका लागि नेपालबाट गायिकाहरू अनुपा मगर,शर्मिला बिसी र पवित्रा गुरुङ आउने भन्दै पैसा उठाइएको छ । प्रायोजकलाई एक टिकटबापत ५० पाउन्ड,दुई टिकटबापत १०० पाउन्ड र सर्वसाधारणलाई प्रवेश शुल्क ३० पाउन्ड तोकिएको छ ।
गुरुङको आर्थिक अपारदर्शिताविरुद्ध ट्रष्टीका केही सदस्यले च्यारिटी कमिसनमा उजुरीको तयारी गरिरहेको बताइएको छ । ब्रिटिश कानुनअनुसार यहाँ च्यारिटीको पैसा एक पाउण्डमात्र हिनामिना गरे पनि अपराध ठहर भई जेल सजाय हुन्छ ।
ग्रेटर रसमोर नेपाली कम्युनिटीमा केही वर्षदेखि लफडा चल्दै आएको स्थानीयको गुनासो छ । ट्रष्टी एवं उपाध्यक्ष डा. विशाल गुरुङले सन् २०२३,जनवरी ६ मा नेपालमा निशुल्क आँखा शिविरका नाममा १८ हजार पाउण्ड र २०२५, जनवरी १७ मा पनि करिब २२ हजार पाउण्ड चन्दा उठाएर त्यसको हिसाव किताव सार्वजनिक नै नगरेको बताइन्छ ।

उता, ट्रष्टी हितकाजी गुरुङले तमुधिं युकेको अध्यक्ष हुँदा मिचेटस्थित कम्युनिटी भवन कार्यक्रमका लागि भाडामा दिएर आएको आम्दानी सबै आफ्नै खातामा हालेको र कार्यसमितिसंग सल्लाह नै नगरी च्यारिटी संस्थाको २५ हजार पाउण्ड रेडिङ बुद्धिष्ट गुम्बालाई दिएको आरोप छ ।
अध्यक्ष मान गुरुङले आफूमाथि लगाइएका सबै आरोप झुठो भएको बताएका छन् । ती सबै पुष्टि नहुने आरोप भन्दै जनआस्थालाई पठाइएका कागजात जस्ताको तस्तै प्रकाशित गरिएको छ ।


टिप्पणीहरू