दुई तस्कर समूहको दुश्मनीले २५ करोड झ्याप्पै
नेताको दुश्मन नेता, व्यापारीको दुश्मन व्यापारी, अनि तस्करको दुश्मन तस्कर नै ! एकअर्काको पोल खोलिदिने होडाबाजीमा राजधानीमा समातिएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको प्रसंग हो, यो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति टोखा नगरपालिका–१ को झोर सडकखण्डबाट २५ करोड नगदसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएर दिउँसो पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्यो । ना. ७ ख १६५२ नम्बरको ट्रकमा नेपाली रूपैयाँ, अमेरिकी डलर र युरो लुकाएर रसुवा हुँदै चीनको केरुङतर्फ जान लागेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीया कुसान लामा पक्राउ परेका हुन् ।
उक्त रकम अवैध सुन्न खरिदका लागि त्यता लैजान लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ट्रकमा ‘फल्सबटम’ बनाएर लुकाइएको यतिधेरै पैसा कस्को होला ? खोज्दै जाँदा थ्रिलर चलचित्रसँग मिल्ने केही तथ्यहरु भेटिएका छन् ।
त्यसो त, पक्राउ परेका लामा स्वयम् २५ करोड नगदका मालिक होइनन् । उनी भरिया मात्र भएको बताइन्छ । उनी ०७३ सालमा सात किलो सुनसहित कलंकीबाट पक्राउ परेका थिए । त्यस प्रकरणमा उनी भरिया दोषी भइ पाँच वर्ष जेल सजाय काटेर ०७८ सालमा थुनामुक्त भएका थिए ।
अहिलेको २५ करोड प्रकरणमा पनि उनी एक सामान्य कामदार मात्र रहेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यको अनुमान छ । उनले जनआस्थासँग भने, ‘उसको कुरा, हाउभाउ, मनोविज्ञानलाई बुझ्दा उ सामान्य भरिया मात्र भएको देखिन्छ’ । यद्यपि, तस्करले लामालाई पूर्वतयारीका साथ परिचालन गरेको हुनसक्ने प्रहरीको विश्लेषण छ । ‘यो त रिस्कको काम हो, पक्राउ परिहालेमा प्रहरीसामु कसरी प्रस्तुत हुने, के बोल्ने, के नबोल्ने भन्ने चाहिँ सिकाइएको हुनसक्छ’, एसपी आचार्यले थपे, ‘अहिले उसले खासै केही बोलेको छैन, तर नबोली सुख पनि पाइँदैन । ढिलो चाँडो नाइकेसम्म पुगिहाल्छौँ ।’
आखिर ती नाइके को होलान् ? भन्ने प्रश्नमा अर्काे स्रोत भन्छ, ‘तस्कर रमेश शेर्पाको कारोबार हो यो । पहिले तातोपानी नाकाबाट भन्सार छल्दै भेप र सुन ल्याउथे, त्यहाँ सवारीसधान स्क्यानको लागि एक्सरे प्रविधिको जडान गरिएपछि बाटो फेरेर रसुवा नाका समातेका हुन् ।’
उता, रसुवा भन्सार कार्यालयले पनि नाकामा पछिल्लो समय उनै शेर्पा मालिक रहेको सिल्क ट्रान्सपोर्टको गतिविधि बढेको जानकारी दिएको छ । रसुवा नाकामा सवारी साधन स्क्यान गर्ने प्रविधि नभएकाले शेर्पाले उक्त नाकाबाटै पैसा केरुङ लैजान लागेको हुनसक्ने भन्सार कार्यालयका एक कर्मचारीको आशंका छ । ती कर्मचारीले जनआस्थासँग भने, ‘आज भेटिएको रकम शेर्पाकै हो भनेर ठोकुवा गर्न त सक्दिनँ, तर सिल्क ट्रान्सपोटको गतिविधि यता तुलनात्मक रुपमा बढेको छ ।’
अझै रोचक के भने, शेर्पा समूहले २५ करोड विदेशी मुद्रा केरुङ लैजान लागेको खबर अर्का तस्कर दिपेश चालिसेको समूहले चुहाएको कतिपयको अनुमान छ । स्रोतका अनुसार शेर्पा र चालिसे कट्टर दुश्मन हुन् । विभिन्न नाकाबाट इलेक्ट्रिक चुरोट (भेप) र अवैध सुन भित्राउने मामलामा उनीहरुबीच लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको बताइन्छ ।
दुई महिनाअघि मात्रै यी दुईले एकअर्काको पोल खोलाखोल गर्दा शेर्पा समूहको एक लाखभन्दा बढी र चालिसे समूहको १९ हजार भेप राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो ।
त्यतिबेला चालिसे समूहले ९५ वटा कार्टुन रसुवा नाकाबाट भित्राउन खोजेकोमा तीन साता होल्डमा राखिएपछि बाटो परिवर्तन गरेर मुस्ताङ नाकाबाट भित्राउन खोजेको थियो । तर त्यो सूचना शेर्पा समूहले चुहाइदिएपछि राजश्व अनुसन्धान विभागले भेप राखिएको मालवाहक गाडी नै नियन्त्रणमा लिएको थियो । त्यसको केहि दिनपछि फेरि चालिसे समूहले पनि शेर्पा समूहको अर्काे सूचना चुहाइदिएको थियो । सोही कारण विभागले इमाडोलस्थित शेर्पा समूहको गोदाममा छापा हानेर एक लाखभन्दा बढी भेप नियन्त्रणमा लिएको थियो ।
यसरी, एकअर्काको पोल खोलाखोल गर्ने श्रृंखलामै चालिसे समूहले २५ करोडको सूचना चुहाएको कतिपयको अनुमान छ ।
टिप्पणीहरू