मृत्युपछि आत्मा कहाँ जान्छ ?

मृत्युपछि आत्मा कहाँ जान्छ ?

आत्मा के हो ? उत्तर दिन कठिन छ । यस बिषयमा दर्शन, धर्म, आध्यात्मिक विश्वास र धारणाहरु फरक–फरक हुन सक्छन् तर, सामान्य रुपमा आत्मा भन्नाले कुनै व्यक्तिको चेतना, अस्तित्व वा अमर तत्वलाई बुझाउने गरिन्छ । भनिन्छ कि आत्मा अनन्त ज्योति हो, आत्माले जन्म पनि लिँदैन, मर्दा पनि मर्दैन । जीव मरेपनि, मारिएपनि जीवात्मा अविनाशी छ । सत्य, अविनाशी, अजन्मा र सनातन छ, आत्मा । जीवात्मा प्राणीको देहभित्र रहेको जीवनतत्व प्राण नै आत्मा हो । शरीर नाशवान् छ, आत्मा अमर छ- हाम्रा धर्म शास्त्रहरु यही भन्छन् ।

आत्माको बारेमा जान्नु पर्दा जीवात्माको ज्ञान हुनैपर्छ । जीवमा रहने धर्म, प्राणीमा रहने चेतनतत्व, प्राणतत्व नै जीवत्व हो । संसारमा जति पनि जीवित प्राणीहरु छन्, यी सबैमा आत्मा छ । प्राणीको शरीरलाई आत्माले छाडिदियो भने पञ्चतत्व अर्थात् पृथ्वी, जल, वायु, तेज र आकाशले बनेको यो शरीरको कुनै अस्तित्व रहँदैन, मृत्युपश्चात त्यही गएर मिल्दछ, यो अवस्था लाई नै मृत्यु भनिन्छ । 

बाँच्नु भनेको शरीरमा आत्मा रहनु हो । मर्नु भनेको आत्माले शरीर छोड्नु हो तर आत्मा मर्नु होइन अर्थात् आत्मा कहिल्यै मर्दैन । यसलाई शस्त्रले काट्न सक्दैन, अग्निले जलाउन सक्तैन, हावाले सुकाउन सक्तैन, पानीले गलाउन सक्तैन । भनिन्छ- जन्मेको मर्नै पर्छ, मर्नेको जन्म निश्चित छ । शरीरलाई आत्माले छाड्नु मृत्यु हो ।भागवत गीतामा आत्मा शरीरको स्वामी हो, यो कहिल्यै पनि मर्दैन, मारिदैन भनिएको छ । हामी आत्माको अधीनमा छौं तैपनि आत्माको बारेमा अनभिज्ञ छौं । 

हरेक प्राणीको हृदयमा आत्मा विद्यमान रहेको छ र त्यो आत्मा नै शरीरलाई जीवन्तता दिने शक्तिहरुको श्रोत हो । आत्माको जीवनी शक्ति शरीरमा जताततै फैलिएको छ । यही शक्तिलाई चेतना भनिन्छ । आत्माको चेतना शरीरमा सर्वत्र फैलिएको हुँदा शरीरको कुनै पनि भागमा दुःख र सुखको अनुभूति गरिन्छ । आत्मा व्यक्ति विशेष फरक-फरक भएकाले यसको आफ्नै व्यक्तित्व हुन्छ, जसरी शरीरले बाल्यवस्थाबाट युवा अवस्था र युवावस्थाबाट वृद्धावस्था पार गर्छ त्यसरी नै आत्माले एउटा शरीरबाट अर्को शरीर बदल्दै देहान्तरण गरिरहन्छ । 

जब हामीले अहिलेको शरीरलाई त्यागेर अर्को नयाँ शरीर धारण गर्छौ, त्यस परिवर्तनलाई हामी मृत्यु र जन्म भन्ने गर्छौं । पुरानो शरीरलाई त्यागेर नयाँ शरीर धारण गर्नु भनेको पुरानो बस्त्र फ्याकेरनयाँ बस्त्र धारण गर्नुजस्तै हो । यसरी, एउटा शरीर त्यागेर अर्कै शरीर धारण गर्ने प्रकृयालाई आत्माको देहान्तरण भनिन्छ ।

हिन्दू दर्शनअनुसार आत्मा भनेको अमर, शाश्वत र परिवर्तन नहुने तत्व हो । यो परमात्मासँग जोडिएको हुन्छ र पुनर्जन्मको चक्र (संसार) भोग्छ । मोक्ष प्राप्त भएपछि आत्मा परमात्मामा विलीन हुन्छ भने बौद्ध दर्शनमा स्थायी आत्माको धारणा नकारिएको छ । यहाँ 'अनात्मा’ भनिन्छ, जसअनुसार व्यक्तिको अस्तित्व निरन्तर परिवर्तनशील पाँच स्कन्ध (रुप, वेदना, संज्ञा, संस्कार, र विज्ञान) को संयोजन मात्र हो । इसाई तथा इस्लाम धर्मअनुसार आत्मालाई ईश्वरको सिर्जना मानिन्छ, जुन शरीर मरेपछि स्वर्ग वा नर्कमा जान्छ । वैज्ञानिक दृष्टिकोण अर्थात् विज्ञानमा आत्माको भौतिक प्रमाण छैन । आत्मा भन्ने कुरा चेतनासँग सम्बन्धित हुन सक्छ, जुन मानव मस्तिष्कको क्रियाकलापबाट उत्पन्न भएको ठानिन्छ ।

मृत्युपछि आत्मा कहाँ जान्छ ? भन्ने कुरा धार्मिक, आध्यात्मिक र सांस्कृतिक विश्वासहरुमा भर पर्छ । विभिन्न परम्पराहरुमा यसबारे फरक–फरक धारणाहरु पाइन्छन् । हिन्दू र बौद्ध विश्वासअनुसार मृत्यु भएपछि आत्मा तुरुन्तै अर्को जन्म लिन्छ वा केही समयसम्म विचरण गर्छ । मृत्युपछि १३ दिनसम्म आत्मा हाम्रै  वरिपरि रहन्छ र त्यसपछि अर्को जन्म वा मुक्तिको यात्रा शुरु गर्छ । सायद यही कारणले हिन्दू संस्कारमा १३ दिनसम्म किरिया बस्ने गरिएको हो कि ? 

इसाई र इस्लाम धर्मअनुसार आत्मा मरणोपरान्त स्वर्ग, नर्क वा अन्तरिम अवस्थामा जान्छ, जहाँ यो परम निर्णयको प्रतीक्षामा रहन्छ । तर, आध्यात्मिक मान्यतामा भूतप्रेत जस्ता आत्माहरु वरिपरि रहन सक्छन् भन्ने विश्वास राख्छन्, विशेष गरी अपूर्ण इच्छाहरु भएका आत्माहरु बाँधिन सक्छन् भन्ने धारणा छ । 

यसैगरी अकालमा मृत्यु भई भड्किने आत्मालाई 'प्रेत’ वा 'भूत’ मानिन्छ, जसले आफ्‌नो जीवित हुँदाको अधुरो इच्छा लाई पूरा गर्न खोज्छ । हाम्रो संस्कारमा मृतक आत्मालाई शान्त पार्न श्राद्ध, तर्पण र विशेष पूजापाठ गर्ने परम्परा पनि चलिआएकै छ । अशान्त मनस्थितिमा मरेका व्यक्ति का आत्माहरु पुनर्जन्ममा समस्या भोग्न सक्छन् भन्ने बौद्ध मत पनि सुन्नमा आउँछन् । जे होस् कयौं विश्वासअनुसार हिंसात्मक वा अप्राकृतिक मृत्यु भएमा आत्माहरु अलमलिन सक्छन् र तिनीहरुलाई शान्त पार्न विशेष अनुष्ठान आवश्यक हुन्छ भन्ने सर्वस्वीकार्य जस्तै छ ।

साँच्चै यो आत्मा शरीरको कुन भागमा रहन्छ होला भन्ने धेरै मानिसहरुको जिज्ञासा हुन सक्दछ । आत्मा शरीरको कुन भागमा रहन्छ भन्ने प्रश्न धार्मिक, आध्यात्मिक र दार्शनिक दृष्टिकोणमा फरक–फरक रुपमा व्याख्या गरिएको छ । हिन्दू शास्त्रहरुमा आत्मालाई शरीरभित्र रहने सूक्ष्म तत्व मानिन्छ । भगवद्गीता अनुसार हृदय (छाती) मा अवस्थित हुन्छ आत्मा । केही मान्यताहरुमा अजना चक्र (टाउकोको बीच भाग), सुषुम्ना नाडी वा नाभिमा केन्द्रित रहन्छ भन्ने मान्यता पनि छ । बौद्धधर्ममा स्थायी आत्माको धारणा अस्वीकार गरिएको छ तर, चेतना र कर्म अनुसार पुनर्जन्म हुने विश्वासचाहिँ गरिन्छ । आत्मा विशेष रुपमा शरीरको कुनै भागमा नभई सम्पूर्ण चेतनाको रुपमा यसलाई बुझ्‌नुपर्छ भन्ने मेरो ठम्याइ हो ।

इसाई तथा इस्लाम धर्मअनुसार आत्मालाई शुद्ध आध्यात्मिक तत्व मानिन्छ, जसले शरीरलाई जीवित बनाउँछ तर आत्मा शरीरभित्र कुन स्थानमा रहन्छ भन्ने स्पष्ट उल्लेख गरेको भने पाइँदैन । यसैलाई वैज्ञानिक रुपमा हेर्दा आत्माको कुनै भौतिक स्थान छैन । चेतनाको उत्पत्ति मस्तिष्कबाट हुन्छ भन्ने वैज्ञानिक धारणा छ, जसले आत्मा मस्तिष्कसँग सम्बन्धित हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । मृत्यु पश्चात् आत्मा कहाँ जान्छ भन्ने कुरा धार्मिक, आध्यात्मिक र दार्शनिक मान्यतामा निर्भर गर्छ । अधिकांश धार्मिक विश्वासहरुमा आत्मा अमर हुन्छ र शरीर मरेपछि पनि यसको अस्तित्व रहन्छ भन्ने मान्यता पाइन्छ ।

वेद, गिता, उपनिषदमा आत्माबारे के भनिएको छ ?

हिन्दू धर्ममा आत्मालाई अजर–अमर, शाश्वत, अविनाशी र परमसत्यको अंशको रुपमा व्याख्या गरिएको छ । मृत्यु पश्चात् आत्माले कि त पुनर्जन्म (Reincarnation) अर्थात् यदि आत्माले आफ्‌नो कर्म पूरा गरिसकेको छैन भने, यो पुनः अर्को शरीरमा जन्मिन्छ या त मोक्ष (Liberation) अर्थात् आत्माले सबै पापकर्म र इच्छाहरु त्यागिसकेको छ भने, यो मोक्ष प्राप्तगरी परमात्मामा विलीन हुन्छ भन्ने गरिन्छ । यदि आत्मा अधुरो इच्छासहित मरेको थियो भने, यो केही समयसम्म प्रेतको रुपमा रहन सक्छ भन्ने मान्यता पाइन्छ । 
हिन्दू धर्मग्रन्थहरु जस्तै वेद, उपनिषद् र भगवद्गीतामा आत्माको स्वरुप, गुण तथा मुक्तिमार्गका सम्बन्धमा विस्तृत चर्चा गरिएको छ । अझ उपनिषद्हरुमा त आत्मालाई अद्वितीय, निराकार, अविनाशी र सर्वव्यापक बताइएको छ ।

'न जायते म्रियते वा कदाचिन् नायं भूत्वा भविता वा न भूयः। अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे॥’  
(भागवद्गीता, २ – २०)

अर्थात्, आत्मा कहिल्यै जन्मदैन र मर्दैन, यो अजर–अमर, शाश्वत, पुरातन तत्व हो । शरीर नष्ट हुँदा पनि आत्मा नष्ट हुँदैन ।

'नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः॥’

(भगवद्गीता, २–२३)

अर्थात्, आत्मालाई कुनै शस्त्रले काट्न सक्दैन, अग्निले जलाउन सक्दैन, पानीले भिजाउन सक्दैन र हावाले सुकाउन सक्दैन । यो कुनै पनि भौतिक साधन वा प्राकृतिक तत्वहरुबाट प्रभावित हुँदैन ।

'आश्चर्यवत्पश्यति कश्चिदेनम् आश्चर्यवद्वदति तथैव चान्यः।
आश्चर्यवच्चैनमन्यः श्रृणोति श्रुत्वाप्येनं वेद न चैव कश्चित्।।’

(भगवद्गीता, २–२९)

अर्थात्, कोही आत्मालाई आश्चर्य मानेर हेर्न खोज्छन्, कोही यसबारे आश्चर्य मान्दै व्याख्या गर्छन्, कोही यसबारे सुन्छन्, तर धेरैजना सुनेर पनि यसलाई बुझ्‌नै सक्दैनन् । आत्माको रहस्य बुझ्‌न सजिलो छैन । यो शारीरिक वा भौतिक विषयवस्तु होइन, यो आध्यात्मिक ज्ञानद्वारा मात्र अनुभूत गर्न सकिने विषय हो ।

'वेदा अहम् एतं पुरुषं महान्तम् आदित्यवर्णं तमसः परस्तात्।’
(यजुर्वेद, ४० – १७)

अर्थात्, म (ऋषिहरु) यस महान् पुरुष (परमात्मा) लाई जान्दछु, जो सूर्यको जस्तो तेजस्वी छ र सम्पूर्ण अज्ञान (अन्धकार) भन्दा पर छ । आत्मा (जीवात्मा) परमात्मा सँग जोडिएको हुन्छ । आत्मा अज्ञानबाट मुक्त भएपछि ब्रह्‌म स्वरुपलाई प्राप्त गर्न सक्दछ ।

'न जायते म्रियते वा विपश्चिन्नायं कुतश्चिन्न बभूव कश्चित् । अजः नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ॥'
(कठोपनिषद्, २–२–१३)

आत्मा कहिल्यै जन्मदैन, मर्दैन, नाश हुँदैन र उत्पन्न पनि हुँदैन । यो अजन्मा, नित्य, शाश्वत र पुरातन छ । शरीर नष्ट भएपनि आत्मा नष्ट हुँदैन । आत्मा शाश्वत, अविनाशी छ । यो शरीर सँग सम्बन्धित छैन, ब्रह्‌मस्वरुप हो । शरीर नाश भएपछि पनि आत्मा रहन्छ, यसले पुनर्जन्म लिन्छ ।

“जन्माद्यस्य यतः।"
( ब्रह्‌मसूत्र, १–१–२)

अर्थात्, जसबाट सारा ब्रह्‌माण्ड उत्पन्न हुन्छ, त्यो ब्रह्‌म हो । आत्मा र ब्रह्‌म एउटै हुन् । आत्माको सही ज्ञान प्राप्त भएपछि व्यक्तिले मोक्ष प्राप्त गर्न सक्दछ ।

'भिद्यते हृदयग्रन्थिः छिद्यन्ते सर्वसंशयाः।
क्षीयन्ते चास्य कर्माणि तस्मिन् दृष्टे परावरे॥'

(मुण्डकोपनिषद्, ३–२–९)

अर्थात्, जब परम सत्यलाई अनुभव गरिन्छ, तब हृदयका सबै गाँठाहरु खुल्छन्, सबै शंका समाप्त हुन्छन् र सबै कर्महरु समाप्त भएर आत्मा मुक्त हुन्छ । आत्मज्ञान प्राप्त भएपछि जन्म र मृत्युको चक्र समाप्त हुन्छ र व्यक्ति ब्रह्‌मसँग एकाकार हुन्छ ।

निष्कर्ष :

धार्मिक मान्यता अनुसार आत्मा हृदय, मस्तिष्क, वा मेरुदण्डमा रहन्छ भन्ने विश्वास छ, तर वैज्ञानिक रुपमा आत्माको अस्तित्व पुष्टि भएको छैन । मृत्यु पश्चात् आत्मा वरिपरि रहन्छ वा भड्किन्छ भन्ने कुरा वैज्ञानिक दृष्टिकोणले पुष्टि गर्दैन । यो मुख्यतः धार्मिक र आध्यात्मिक धारणा हो, जसले मृत्युपछिको जीवन र आत्माको यात्रालाई बुझ्‌न खोज्छ । आत्मा भौतिक शरीरभन्दा पृथक कुनै चेतनशील तत्व हो भन्ने विश्वास धार्मिक, आध्यात्मिक र दार्शनिक परम्परामा गहिरो छ तर, यसबारे प्रमाणित वैज्ञानिक दृष्टिकोण अझै स्पष्ट छैन । विज्ञानमा आत्माको अस्तित्व स्वीकारिएको छैन । 

हिन्दू र इसाई मान्यतामा आत्मा अमर हुन्छ भने बौद्ध दृष्टिकोणमा स्थायी आत्मा हुँदैन, तर पुनर्जन्म हुन्छ । मृत्युपछि आत्मा कहाँ जान्छ भन्ने कुरा आस्था, विश्वास र दृष्टिकोणमा भरपर्छ । हिन्दू धर्मग्रन्थहरुमा आत्मालाई शाश्वत, अविनाशी, ब्रह्‌म स्वरुप, अजर–अमर तत्व मानिएको छ । यो शरीर नष्ट भए पनि आत्मा कहिल्यै नष्ट हुँदैन । सही ज्ञानद्वारा आत्मालाई अनुभूति गरी मोक्ष प्राप्त गर्न सकिन्छ । वेद, उपनिषद्, भगवद्गीता, ब्रह्‌मसूत्र जस्ता धर्मग्रन्थहरुले आत्माको बारेमा वास्तविकता बुझ्‌न मार्गदर्शन गर्छन् । 

टिप्पणीहरू