झण्डै १५ किलो सुनसहित हिरोइन पक्राउ

झण्डै १५ किलो सुनसहित हिरोइन पक्राउ
सुन्नुहोस्

दक्षिण भारतीय अभिनेत्री रन्या राव झण्डै १५ किलो सुनसहित पक्राउ परेकी छन् । दुबईबाट फर्केकी उनलाई आज बिहान बेंगलुरुको क्याम्पगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो ८०० ग्राम सुनसहित भारतीय प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

पछिल्लो १६ दिनमा उनी चार पटक दुबई आउजाउ गरेको देखिएपछि राजश्व गुप्तचर निर्देशनालय (डिआरआई)ले निगरानीमा राखेको थियो । भन्सार चेकजाँच गरेर बाहिरिंदै गर्दा प्रहरीको टोलीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

शुरुमा सोधपुछ गर्दा रावले आफू अभिनेत्री हुनुको साथै कर्नाटकका प्रहरी महानिर्देशक (डिजिपी)को छोरी भएको बताउँदै घरसम्म गाडीमा छाडिदिन प्रहरीलाई आग्रह गरेकी थिइन् । उनी अभिनेत्रीको रुपमा परिचित भएपनि डिजिपीको छोरी भएको विश्वास नलागेपछि प्रहरीले थप चेकजाँच गर्ने क्रमम उनले १४ किलो सुनलाई पेटी (बेल्ट)को डिजाइन बनाएर लगाएको पाइएको थियो । त्यस्तै, आठ सय ग्राम सुन भने उनको झोलाभित्र भेटिएको बताइन्छ । 

सन् २०१४ मा ‘मानिक्य’बाट अभिनयमा डेब्यु गरेकी रावले एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेकी छन् । उनलाई पछिल्लो समय निकै सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको थियो ।

टिप्पणीहरू