उर्जामन्त्री खड्कालाई कुलमानको जवाफ- ममाथिको आरोप मनोगत छ, कारवाही गर्न मिल्दैन

उर्जामन्त्री खड्कालाई कुलमानको जवाफ- ममाथिको आरोप मनोगत छ, कारवाही गर्न मिल्दैन
सुन्नुहोस्

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री दीपक खड्काले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन् । 

मन्त्री खड्काको तर्फबाट मन्त्रालयले अस्ति मंगलबार 'तपाईंलाई पदबाट किन नहटाउने' भन्दै २४ घण्टे प्रष्टीकरण सोधेकोमा कुलमानले आज जवाफ दिएका हुन् । पाँच पृष्ठ लामो लिखित जवाफमा विभागीय मन्त्री र मन्त्रालयले आफूलाई प्रष्टीकरण सोध्ने र पदबाट हटाउन नसक्ने जिकिर लिइएको छ । 

 ‘म नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ साउन २५ को निर्णयानुसार नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा १७ (१) अनुसार ४ वर्षको लागि नियुक्त भएको हुँ । निवेदकलाई सेवाबाट हटाउनेबारे स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार कानुन व्याख्यासम्बन्धी ऐन २०१० को दफ १६, नेपाल सरकारको कार्यसञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची १ को क्र.सं. ३३) र नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रबन्धकको सवा शर्त तथा सुविधासम्बन्धी विनियमावली २०६१ को विनियम २४ अनुसार मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्छु’, कुलमानले भनेका छन् । 

राम्रो काम गर्दा सहयोग हुनुपर्नेमा उल्टै पटक-पटक स्पष्टीकरण सोधेर दुःख र हैरानी दिएकोमा उनको असन्तुष्टि छ । प्राधिकरणको कार्यकारी निर्देशक हटाएरै छोड्ने अडानमा रहेका मन्त्री खड्काले यसअघि पनि दुईचोटि जवाफ मागेका थिए।

आफूमाथि मनोगत आरोप थोपरेर जसरी पनि कारवाही गर्ने नियत राखेको कुलमानले गुनासो गरेका छन् । ‘मेरो नियुक्तिपछिको प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्छ’, उनले जवाफमा भनेका छन्, ‘तसर्थ आत्मगत रुपमा जवाफ चित्तबुझ्दो नभएको भनी पुनः स्पष्टीकरण माग गरिएको कानुन र न्यायको मान्य सिद्धान्त प्रतिकूल छ ।’ 

 कार्यकारी निर्देशक कुलमानले यसअघिको स्पष्टीकरण के-कति कारणले चित्तबुझ्दो भएन ? भन्दै मन्त्री खड्कालाई प्रतिप्रश्न गरेका छन् । ‘स्पष्टीकरणमा आधार र कारण खुलेको छैन । आधार र कारणको अभावमा थप पुष्ट्याई पेश गर्ने अवस्था भएन । आधार र कारणको अभावमा उचित प्रतिवादको मौका रहेन’ उनको भनाई छ ।

टिप्पणीहरू