प्रधानमन्त्रीद्वारा सोसल मिडियाको अधिकार नखोस्ने प्रण
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोगगरी हुने सामाजिक सञ्जालको बिकृति रोक्न कानुन सुधारमा जोड दिनुभएको छ ।
सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको बचाऊ गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । आज काठमाडौँमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो- 'सामाजिक मर्यादाहरु सबै भत्काएर घृणाको फैल्याइदिने, भ्रम छरिदिने कामहरु भएका छन्, ति नियन्त्रण हुनुपर्छ । यस्ता कुराहरु छोड्नु हुँदैन ।’
यद्यपि सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुनेगरी विधेयक ल्याएको उहाँको दाबी छ । ऐतिहासिक सभ्यता, संस्कृति र गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्ने कुरा स्वीकार्य नहुने स्पष्ट पार्दै उहाँले त्यसलाई नियन्त्रण गर्दा सञ्जालको अधिकार कटौती नहुने बताउनुभयो ।
समाजमा छाडातन्त्र मौलाउँदै गएकोतर्फ चिन्ता व्यक्त गर्दै प्रमले भन्नुभयो- ‘सामाजिक सञ्जालको सम्बन्धमा सोसल मिडियाको अधिकार एक इन्च त के, एक सेन्टिमिटर वा त्योभन्दा पनि एक मिलिमिटर पनि केही नहुनेगरी सोसल मिडियाको अधिकारलाई सम्पूर्ण रुपमा रक्षा गर्दै छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, हाम्रो सभ्यता, संस्कृति, हाम्रा गौरवपूर्ण परम्परा, यि कुराहरुलाई होच्याउन, अपमान गर्न र यि कुराहरु ध्वस्त बनाउने खालका क्रियाकलाप भने नियन्त्रण हुनुपर्छ ।'
प्रधानमन्त्री ओलीले बलात्कारजस्ता जघन्य अपराध स्वीकार्य नहुने भन्दै यस्ता कुरा नियन्त्रण गर्न खोज्दा विरोध भएको भन्दै आपत्ति जनाउनुभयो । मानिसहरुले अपराध कर्ममा सफल हुनुलाई सफलता ठान्ने गरेको उहाँको गुनासो छ ।
टिप्पणीहरू