सेरा दरबारको सारा सेरोफेरो
सेरा दरबारको जग्गा हिनामिना (कब्जा) को विषय बाहिरिएपछि यसबारे देश–विदेशमा चर्चा चुलियो । राजनीतिक बृत्तमा चासो, चर्चा र बहसहरू भए । गत माघमा पहिलो पटक सेराको सेरोफेरोमा पुग्ने अवसर मलाई पनि जु¥यो । यो आलेखमा उक्त दरबारको इेतिहासिक महत्व र जग्गा हिनामिनाको प्रयासबारे चर्चा गरिएको छ ।
निर्माण र ऐतिहासिकता
सेरा दरबार नुवाकोटस्थित नेपाल एकीकरणकालीन दरबार हो । पृथ्वीनारायण शाहले शीतकालीन दरबारको रुपमा वि.सं. १८२२ मा निर्माण गरेका थिए । उनैको शासनकालमा नुवाकोटमा दुई दरबार निर्माण भएका थिए । साततले दरबारलाई ग्रीष्मकालीन दरबारका रुपमा उपयोग गरिएको थियो भने पृथ्वीनारायण जाडो महिनामा नुवाकोट डाँडास्थित दरबार र गर्मी महिनामा तादी किनारस्थित सेराबेँसी दरबारमा बस्ने गर्दथे । यी दुबै दरबार भग्न अवस्थामा छन् । वि.सं. १९०३ मा सेराबेँसी दरबार भत्किएर भग्नावशेषमा परिणत भएको छ ।
नेपाल–तिब्बत-चीन युद्धमा नेपालीले अकल्पनीय पराजय व्यहोर्नु परेको कारण बहादुर शाहले अंग्रेजसँग सहायता लिने मन बनाएर ई. १७९२ मा एउटा वाणिज्य सन्धि गरेका थिए । कर्क प्याट्रिक नुवाकोट जाँदासमेत बहादुर शाहसँग यसै दरबारमा भेट गरेका थिए । वि.सं. १८९७–९८ तिर तत्कालीन राजा राजेन्द्र तथा रानी साम्राज्यलक्ष्मी नुवाकोट जाँदा यसै दरबारमा बसेको इतिहासमा उल्लेख छ ।
त्यसको धेरै वर्षपछि जुद्धसमशेर नुवाकोट जाँदा भग्नावशेष दरबारबारे बुझ्न खोजेका थिए । उनले पृथ्वीनारायणको ग्रीष्मकालीन दरबारको भग्नावशेष हो भन्ने जानकारी पाएपछि तत्कालै पुरानो दरबारजस्तै गरी बनाउन आदेश दिए । तर त्यसबेला पुरानो दरबार देख्ने कोही नभेटेको र कुनै चित्र पनि नभएकोले सेराफाँटको भव्यता तथा दरबार परिसरबाट मोहित भएका जुद्ध समशेरले आफ्नै अनुमानमा दरबार बनाउन लगाए । यसो गर्दा सोही पुरानो दरबारको भग्नावशेषमा रहेको इँटा प्रयोग गरिएको थियो । दरबार तयार भएपछि नाम सेरा दरबार राखियो ।
अधिराजकुमार वसुन्धराकी श्रीमती हेलेन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको सेरा दरबार र त्यसले चर्चेको जग्गा २०२१ मा हदबन्दी कानुन लागू भएपछि सरकारका नाममा सर्नुपर्ने थियो । तर, उक्त जग्गा व्यक्तिकै नाममा जोगाउन २०२७ मा गौरीशंकर फार्मिङ स्थापना गरी कम्पनीका नाममा राखियो । गौरीशंकरका सञ्चालक र सेयरधनी हेलेन र विजयालक्ष्मी शाह दवै थिए । गौरीशंकर फार्मिङको नाम २०३६ मा अन्नपूर्ण फार्मिङमा परिवर्तन गरियो । तत्कालीन नेकपा माओवादीको द्वन्द्व उत्कर्षमा पुगेका बेला १२ पुस २०५९ मा पृथ्वीनारायण शाहले शीतकालीन दरबारको रुपमा प्रयोग गरेको भवनमा माओवादी कार्यकर्ताले आगो लगाए र केही संरचना भत्काए ।
सेरा दरबार र त्यसले चर्चेको जग्गा सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानले भनेको छ– दरबारको १६४ रोपनी १३ आना जग्गा दुरुपयोग भएको छ । र, उसले मालपोत ऐनअनुसार सरकारका नाममा सार्ने प्रक्रिया अघि बढाउन भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई चिठी पठाएको छ ।
सिआइबीका अनुसार सेरा दरबारको कूल क्षेत्रफल १८४ रोपनी ४ आना १ पैसा थियो । कालान्तरमा यो जग्गा अंशबण्डा भई राजपरिवार सदस्य हेलेन शाह र विजयाराज्यलक्ष्मी शाहको भागमा परेको हो । भूमिसम्बन्धी ऐन, २०२१ ले हदबन्दीसम्बन्धी व्यवस्था गरेपछि सेरा दरबार र त्यसले चर्चेको जग्गा सरकारका नाममा सर्नुपर्ने थियो । तर गौरीशंकर फार्मिङ स्थापना गरेर हदबन्दीभन्दा बढी १६४ रोपनी १३ आना २ पैसा १ दाम जग्गा कृषिसम्बन्धी प्रयोजनमा रहने गरी त्यही कम्पनीका नाममा नापी गराइयो ।
बाँकी जग्गामध्ये १२ रोपनी १३ आना १ पैसा ३ दाम हेलेन र ६ रोपनी ९ आना १ पैसा २ दाम जयन्ती शाहका नाममा नापी गरियो । तत्कालीन अधिराजकुमार बसुन्धराकी श्रीमती एवं नरसमशेरकी छोरी हेलेन जुद्धसमशेरका छोरा बहादुरसमशेरकी नातिनी हुन् । गौरीशंकर फार्मिङको नाम २०३६ मा अन्नपूर्ण फार्मिङमा परिवर्तन गरियो । अन्नपूर्ण फार्मिङबाट विजयाराज्यलक्ष्मी शाहका नाममा रहेको सेयर २०५२ सालमा जयन्ती शाहका नाममा हस्तान्तरण भयो । त्यही वर्ष हेलेन र जयन्तीका नाममा रहेको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी प्रधान, सोहिनी श्रेष्ठका नाममा हस्तान्तरण भएको सिआइबीको प्रतिवेदनमा उल्लेख छ ।
सेयरधनीका रुपमा ध्रुवलाल, भुवनलाल, रजनी र विकेश श्रेष्ठको प्रवेश
अन्नपूर्ण फार्मिङको सेयरधनीका रुपमा ध्रुवलाल श्रेष्ठ र रजनी श्रेष्ठ २०६६ माघ ७ मा प्रवेश गरे । ६ जना सेयरधनी कायम भएको एक महिनापछि भुवनलाल राजभण्डारी पनि थपिए । अन्नपूर्ण फार्मिङको २०७२ चैत ५ मा भएको साधारणसभाको निर्णय र सेयर खरिदबिक्री लिखतअनुसार नयाँ सेयरधनीका रुपमा विकेश श्रेष्ठको प्रवेश भएको देखिन्छ । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) २०६५ सालमा प्रधानमन्त्री भएका बेला स्वकीय सचिव थिए । माओवादीका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।
विकेशको प्रवेश भएका बेला अन्नपूर्ण फार्मिङमा अजयकुमार सूर्यवंशी र ध्रुवलाल श्रेष्ठ मात्र सेयरधनी थिए । तर २०७२ चैत २५ को निर्णयबाट सुमन पारिक नयाँ सेयरधनीमा थपिए । पछि विकेश श्रेष्ठ र अजयकुमार सूर्यवंशी यथावत् रहे भने ध्रुवलाल श्रेष्ठ र सुमन बाहिरिएर विकेशका छोरा मनोबल भित्रिए । सिआईबीको प्रतिवेदनअनुसार गत कात्तिकसम्म आइपुग्दा उक्त कम्पनीको सञ्चालकमा विकेश र मनोबल बाबुछोरा मात्रै छन् ।
सिआइबीको निश्कर्ष छ– विकेशले कृषि फर्म सञ्चालन गर्छु त भने तर जग्गा प्लानिङ गरी प्रयोजनविपरीत भोगचलनमा लागे । जग्गा फरक प्रयोजनमा रहेको पाइएपछि सिआइबीले सरकारमातहत ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको छ । हदबन्दीको प्रयोजनविपरीत जग्गा चलाएको भएर त्यसलाई सरकारीकरण गर्ने कि नगर्ने भन्ने बहस शुरु भएको छ ।
माओवादी केन्द्रले पनि सेरा दरबारको जग्गा व्यक्तिगत प्रयोजनका लागि दुरुपयोग गर्नेहरू जोसुकै भएपनि सत्यतथ्य छानबिन गरेर दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेको छ । यसबरेमा सरकारलाई सघाउने प्रचण्डले बताउँदै आएका छन् । देशभरका सरकारी जग्गाहरू गिरिबन्धु, बाँसबारी छाला उद्योग, बालुवाटारको ललिता निवास आदि अपचलन गर्नेहरूलाई राजनीतिक संरक्षण गर्न नहुने विषय जनस्तरबाट उठेपछि सबै राजनीतिक दलका नेताहरूले यी विषयलाई प्रमुख एजेण्डाका रुपमा उठान गर्दै आएका छन् र केही जग्गा सरकारले फिर्ता लिइसकेको छ ।
टिप्पणीहरू