बादलको मुखभन्दा प्रचण्डको व्यवहार बर्बाद
तत्कालीन नेकपा (माओवादी) ले २०५२ सालमा थालनी गरको जनयुद्धले फागुन १ गते २९ वर्ष पार गर्दै छ । संविधानसभा निर्वाचन, संघीयता स्थापना, लोकतन्त्र, धर्मनिरपेक्षता, राजतन्त्र अन्त्य, राज्यका हरक निकायमा समावे शीता, महिला अधिकार, विभिन्न जाति, जनजातिको अधिकार स्थापना, धर्मनिरपेक्षता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, छुवाछुतको अन्त्य, समतामूलक समाज निर्माण, राष्ट्रपतीय प्रणाली लागू, भ्रष्टाचार अन्त्य आदि माग राख्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे मागपत्र बुझाइएकोमा ती माग कुनै पनि हालतमा पूरा नहुने भनी तत्कालीन सरकारले ओंठे जवाफ दिएपछि जनयुद्धको उद्घोष भयो। पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा बादल, मोहन वैद्य किरण, हरिबोल गजुरल, डा. बाबुराम भट्टराई, सिपी गजुरल, ईश्वरी दाहाल असार काकालगायत सबैलाई आतंककारीको बिल्ला भिराएर टाउकाको मूल्य तोकियो। माररे झोलामा टाउको ल्याउने वा जिउँदै पक्रनेलाई ५० लाख इनाम दिइने तत्कालीन सरकारको घोषणा थियो। नेपालको जनयुद्ध दबाउन विश्वका शक्तिशाली देशले अर्बौँ खर्च गरे। अत्याधुनिक हातहतियार भित्रियो। तर, जनयुद्ध दबिएन । झन् उत्कर्षतर्फ लम्कियो। अन्ततः २०६३ मंसिर ५ गते शान्तिसम्झौतामार्फत जनयुद्ध बिसर्जन भयो।
माओवादी शान्ति प्रक्रियामार्फत खुला राजनीतिमा अवतरण भयो। राज्य र विद्रोही पक्षबाट भएका हत्या, हिंसा, नातावाद,
कृपावाद, भ्रष्टाचार, बेरोजगारी, गरिबी, अनियमितता र राजनीतिक अस्थिरताबाट आजित जनताले अब त देशमा केही प्रगति, विकास, उन्नति, शान्ति, अग्रगमन, सुशासन आदि होला भनेर माओवादीलाई २०६४ सालको निर्वाचनमा बहुमत प्रदान गरे। जनयुद्धका कारण शासन व्यवस्था फेरियो। जनयुद्धकै जगमा विभिन्न जातीय आन्दोलन भए । ०६२÷६३ सालको दोस्रो जनआन्दोलनमा पनि माओवादीको सहभागिता रह्यो। अहिले देश संवैधानिक रुपमा समाजवादउन्मुख छ । सोभियत संघको विघटन भइसकेपछि विश्वमै कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा पुगेको बेला दक्षिण एशियाली मुलुक नेपालमा कम्युनिष्ट पार्टीले सशस्त्र जनयुद्ध शुरु गरेको हो। सरकार र माओवादी दुबैतर्फबाट १७ हजार होनहार छोराछोरीको मृत्यु भयो। कैयौँ बेपत्ता, घाइते, टुहुरा बने। यसको कानुनी छिनोफानो अझै भइसकेको छैन ।
समयक्रमसँगै नेपालका सबै कम्युनिष्ट शाक्ति एक हुनुपर्छ भन्दै प्रचण्डकै पहलमा २०७५ जेठमा नेकपा (एमाले) सँग एकता भयो र पुनर्गठित पार्टी दक्षिण एशियाकै ठूलो कम्युनिष्ट पार्टी बन्न पुग्यो। एशियामा चीन र भियतनामपछि ‘नेपाल कम्युनिष्ट पार्टी’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी हो। ६ बुँदे घोषणापत्र एकता जारी गर्दै नेताले आफूहरूको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउनु भएको बताएका थिए । अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही चलाउन वा अहंकार देखाउन नभई देश बनाउन एकता भएको हो भनेका थिए । तर, प्रचण्डको भनाइअनुसार ओलीको तानाशाही र अहंकारका कारण नै पार्टी फुट्यो। प्रचण्डले त्यतिबेला भनेका थिए, केपी ओलीमा आफू सत्तामा नभए कुर्सी नै भाँचिदिने प्रवृत्ति छ, त्यही भएको हो। एकता हुँदा ओली–प्रचण्डले एकै स्वरमा भनेका थिए, ‘यो पार्टी टेम्पो जस्तो होइन, डबल इञ्जिनको जेट प्लेन हो।’
उनीहरूले एउटै पार्टीमा दुईजना अध्यक्षको व्यवस्था पनि गरेका थिए । जसरी जेट प्लेनमा डबल इञ्जिन र चालक हुन्छन्। तर, यो प्लेनले लामो यात्रा गर्न सकेन । दुर्घटना भयो। प्लेन दुर्घटना हुँदा धेर हताहती, क्षति भयो । माओवादीका केही नेता बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणि थापाहरू एमालेमै रहे। बाँकी घर फर्किए ।
केपी ओलीको अहंकार झन्–झन् चुलिँदै गयो। उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको आडमा संसद विघटनसम्मका हर्कत गर्न भ्याए । अहिले मणि थापाले एमाले त्यागेका छन् भने भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी जेलमा छन्। रामबहादुर थापा बादल एमालेमा गुमनाम जस्तै भएर बसेका छन्। उनका छोरा प्रतीक थापा सुन तस्करी काण्डमा जेलमै छन्। सायद बादल छोराकै बचाउका लागि एमाले अध्यक्ष केपी ओलीको प्रियपात्र बन्न जनयुद्धलाई हिंसाको उपमा दिँदै बसिरहेका छन्। मुखले जनयुद्धलाई ‘महान् क्रान्ति’ भन्दै हिँडिरहेका प्रचण्ड व्यवहारतः जनयुद्धविरोधी नै देखिन्छन्। बादल मुख खोलेरै जनयुद्धविरुद्ध हुंकार पिटिरहेका छन् भने प्रचण्ड जनयुद्धमा गरिएका वाचा, जनतालाई छरेका आश्वासन शान्ति प्रक्रियापछि सत्ता र शक्तिको लोभमा लत्याएर जनयुद्धप्रति घात गरिरहेका छन्।
उनले आफ्नो स्वस्थ आलोचना पचाउनै नसक्ने, घरपरिवार र नातागोतामा बढी विश्वास गर्ने, क्रान्तिकारीलाई पाखा लगाउने आदि व्यवहार गरेको पछिल्ला वर्षमा देखिन्छ । त्यसैले त जनयुद्धसँगै लडेका धेरै सहयोद्धाले प्रचण्डलाई त्यागिसकेका छन्। निर्वाचनका बेला राम्राभन्दा पनि हाम्रा, गुटका र आफ्नो अन्ध तारिफ गर्नेहरूलाई टिकट दिने, सहिद, बेपत्ता आदिका परिवारलाई मुखले ठिक्क पारे पनि व्यहारले हेला र पक्षपात गरेको जनयुद्धकै शहीद परिवारले बेला–बेलामा गुनासो र आरोप पोख्ने गरेका छन्।
टिप्पणीहरू