कार्यक्रम चल्दाचल्दै उठेर हिँडे बालेन, सपना श्रीमान हेरेको हेर्यै

कार्यक्रमको आयोजक नै बीचमै उठेर हिँडेपछि ट्वा पर्ने पालो न्यायाधीशको ! प्रसंग हो काठमाडौं महानगरपालिकाले आज आयोजना गरेको कार्यक्रमको । महानगरले राष्ट्रिय सभागृहमा ‘न्यायिक समिति दिग्दर्शन’ विमोचन कार्यक्रम आयोजना गरेको थियो । हुनेवाला प्रधान न्यायाधीश सपना प्रधान मल्ल कार्यक्रमको प्रमुख अतिथि थिइन् ।
ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यलगायत अन्य थुप्रै स्थानीय तहका जनप्रतिनिधिहरु कार्यक्रममा थिए । काठमाडौंका मेयर बालेन्द्र (बालेन) साह कार्यक्रम चल्दै गर्दा एक मीनेट बोलेर हिँडे । उनी हिँडेपछि कार्यक्रममा उपस्थितहरु तीनछक्क परे ।
एक जनप्रतिनिधिले जनआस्थासँग भने,‘हामीलाई कार्यक्रममा बोलाउनुभयो । तर,मेयर आफैं कार्यक्रमको बीचमा उठेर हिँड्नुभयो । कार्यक्रम शुरु भएपछि एक मीनेटजति बोल्नुभयो । त्यसपछि त मेयर नै छैनन् । श्रीमान् पनि हुनुहुन्छ, आयोजकचाँहि गायब । जति नै हतार भए पनि एकछिन बसेर गएको भए हुन्थ्यो । नत्र कार्यक्रम अरु दिन आयोजना गरेको भए पनि हुन्थ्यो ।’
महानगरका सहायक सूचना अधिकारी ध्रुवकुमार काफ्लेले मेयर अर्को कार्यक्रममा जानुपर्ने भएकाले कार्यक्रम नसकिँदै निस्किएको बताए । त्यो कार्यक्रम सकाएर उनी अर्को कार्यक्रममा जाने तालिका भएको तर कार्यक्रम ढिला शुरु भएपछि बीचमै निस्केर हिँड्नुपरेको काफ्लेको भनाइ छ ।
‘कार्यक्रम साढे ३ बजेदेखि शुरु हुने तय भएको थियो । तर,झण्डै २० मीनेटपछि मात्रै शुरु भयो । साढे ४ बजे सकाउने भनिएको कार्यक्रम नसकिएपछि उहाँ निस्किनुभएको हो । उहाँ आफूले गर्नुपर्ने काम सकाएर जानुभएको हो’,उनले भने । यसलाई अभद्रता र मपाईत्वको पराकाष्ठा मानिएको छ ।
टिप्पणीहरू