युवकको निधनको कारण : चोरीको टिकटिके मोबाइल

चाबहिल कुमारीगालस्थित एक युवकको ज्यान जाने गरी दुई समूहबीच भएको झडपको कारण टिकटिके मोबाइल रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले त्यसबारे जानकारी दिएको छ ।
अस्ति बिहान कुमारीगालस्थित उमा महेश्वरीमा दुई समूहबीच झडप हुँदा काभ्रेपलाञ्चोक घर भएका र हाल गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्ती बस्ने २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको ज्यान गएको थियो । प्रहरीका अनुसार ग्याङफाइडको सूचना बिहान ६ बजे प्रहरीको कन्ट्रोल रुममा पुगेको थियो ।
प्रहरी वृत्त गौशालाबाट खटिएको टोली तत्काल घटनास्थल पुगेपछि दुई जना युवालाई उद्धार गरेर अस्पताल लगेको बताइन्छ । तीमध्ये संघर्ष अचेत अवस्थामा थिए । प्रहरीका अनुसार उनलाई केएमसी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
अर्का घाइते १९ वर्षीय क्षितिज कार्कीको हात, पिठ्यु र तिघ्रामा चोट लागेको थियो । उनलाई आवश्यक उपचार गरी हाल गौशाला प्रहरीको हिरासतमा राखिएको छ । प्रहरीले घटनास्थलबाटै अन्य दुई जनालाई पनि तत्काल नियन्त्रणमा लिएको थियो ।
कपन बस्ने दोलखाका २२ वर्षीय युनिक लामा भनिने नुर्वु शेर्पा र गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोकका २० वर्षीय विशाल तामाङ समातिएका हुन् । शेर्पा यसअघि पाँच पटक अभद्र व्यवहारमा पक्राउ परिसकेको र तामाङले दुई पटक चोरी मुद्दामा सजाय पाएको प्रहरी रेकर्डमा देखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी अपिलराज बोहराले एउटा समूहले टिकटिके मोबाइल चोरेको अर्को समूहले देखेपछि सोही मोबाइलका लागि झडप भएको बताए । उनले भने, ‘एउटा समूहले मोबाइल चोर्छ । अर्को पक्षले देख्छ । र, त्यो टिकटिके मोबाइलका लागि भएको झडपमा ज्यान गयो ।’
झडपमा संलग्न फरार एक जना व्यक्ति पक्राउ पर्ने क्रममा रहेको एसपी बोहराले बताए । ‘लोकेशन ट्रयाकिङ भइसकेको छ । आज भोलिसम्म उनी पनि पक्राउ पर्ने छन्,’ उनले भने ।
टिप्पणीहरू