ट्रम्प, टप्सी र तानाशाहहरू !

ट्रम्प, टप्सी र तानाशाहहरू !

आजको प्रसंग एउटा सत्य कथाबाट शुरु गरौँ ।  सन् १९०३ जनवरी ४ को चिसो बादल मडारिएको बिहान थियो । थाइल्याण्डबाट तस्करी गरेर अमेरिका ल्याइएकी एउटी पोथी हात्ती २५ वर्षमै मरी । हात्तीको उमेर सामान्यतः असी वर्षसम्म हुन्छ । तर ‘टप्सी’ नामक यी एशियाली जीवको भाग्यमा पश्चिमी पुँजीवादको निर्वोध शहीद हुनु लेखिएको रहेछ ! 

टप्सीलाई एउटा दलालले थाइल्याण्डको राजधानीमा देख्यो । लोभ पलायो । किन्यो । अमेरिकी भन्सारका कर्मचारीलाई घुस दिएर हात्ती अमेरिकामै जन्मिएको प्रमाणित कागज बनायो । न्युयोर्क ल्याएर एउटा सर्कस कम्पनीलाई बेची आफू धनी भयो । चार वर्षमा अमेरिका तस्करी गरिएकी टप्सीले अर्को २० वर्ष सर्कस कम्पनीमा काम गरेर सम्भ्रान्तहरूलाई मनोरञ्जन दिई । उसलाई तालिम दिने बेला फलामका अंकुशले कान मुन्तिर हानियो । फिलामा रातो फलाम डामेर तीन खुट्टे टेबलमा नलडी बस्न सिकाइयो । एशियाको जंगलमा स्वतन्त्र रमाउनका लागि जन्मिएकी टप्सी पुँजीवादको एक खेलौनामा परिणत भई । पुँजीवादी सपना बेचेर बाँचेको हलिउडले ‘किङकङ’ नामको यस्तै ‘हिट्’ सिनेमा बनाएको छ ।

तर किङकङको कथा कल्पना थियो । टप्सीको कथा एक क्रुर वास्तविकता हो । बीसौं शताब्दीको प्रारम्भमा थोमस एडिसन र निकोला टेस्ला नामका दुर्ई वैज्ञानिकबीच प्रखर प्रतिस्पर्धा थियो । संसार दियो, टुकी, मैनबत्तीको युगबाट विद्युतीय प्रकाशको चरणमा प्रवेश हुँदै गर्दा निकोला टेस्ला विद्युत्को प्रत्यक्ष धारा (डिसी) माथि प्रयोग गर्दै थिए । थोमस एडिसन विद्युत्को अप्रत्यक्ष वा प्रत्यावर्ती प्रवाह (एसी) मा अनुसन्धान गर्दै थिए । उनलाई प्रमाणित गर्नु थियो, बिजुलीको प्रत्यक्ष (डिसी) प्रवाह खतरनाक हुन्छ । 

यता, सर्कसको तबेलामा बिहानको समय टप्सी भोकले आक्रान्त थिई । दिनको दुर्ई सय किलो खाने टप्सीलाई सर्कसका सञ्चालकले अघिल्लो दिनदेखि घाँसको एउटा त्यान्द्रो दिएका थिएनन् । यो उनले सर्कसमा अपेक्षित प्रदर्शन नगरेको सजायँ थियो । यत्तिकैमा सर्कसको एउटा कर्मचारी रक्सीले मातेर टप्सीलाई जिस्क्याउन आयो । शुरुमा उसले टप्सीको सुँड उचालेर रक्सीको बोतल सुँघायो । त्यसपछि सुँडको कमलो भागमा तान्दै गरेको चुरोट झोसिदियो । रिसले चुर टप्सीले उसलाई कम्मरमा फनक्क बेरी र भुइँमा यसरी पछारी कि छेउछाउको त्रिपालमा सुतेका सबैको निद्रा खुल्यो ।

जँड्याहाको घटनास्थलमै प्राणान्त भयो । टप्सी बहुलाएको ठहर भयो । सर्कसको मालिकलाई अब टप्सी घाँडो भयो । घुम्दै फिर्दै थोमस एडिसनको कानमा यो खबर पुग्यो । उनका निम्ति आफ्नो काम सावित गर्ने एउटा गजबको मौका थियो । उनले आफ्नो नाम लुकाएर अर्कैको सौजन्यमा टप्सी किने । टप्सीलाई नियन्त्रण गर्न पहिले ४ सय ६० ग्राम पोटासियम साइनाइड खुवाइयो । त्यसपछि उनको घाँटीमा सांग्ला बाँधेर काखीमुनि प्रत्यक्ष विद्युत्को झट्का दिन थालियो । दश मिनेटमा टप्सीको इहलीला समाप्त भयो । थोमस एडिसनले आफ्नो खोज प्रमाणित गरे । बिजुलीको उज्यालोसँगै संसार पुँजीवादी अन्धकारको चरणमा प्रवेश ग¥यो । 

करोडौं टप्सीहरू ! 

१ सय २२ वर्षअघि मारिएकी टप्सी आफ्नो इच्छाले अमेरिका आएकी होइन । उसलाई पुँजीवादी लोभले एउटा महादेशबाट अर्कोमा तस्करी र शोषण गरिएको थियो । आज करोडौं मानव टप्सीहरू स्वेच्छाले करोडौं खर्चेर ‘तल्लो बाटो’ आएका छन् । यी टप्सी सर्कसको मालिकले अंकुशले नहाने पनि नियतिको क्रुर रातो फलामले डामेका मनुष्य हुन् । सस्तो दैनिक ज्यालादारीमा काम गर्ने कागजविहीन आप्रवासीको जीवन पनि सर्कसमा शोषित टप्सीको भन्दा फरक थिएन । 

फरक यत्ति हो, आफ्नो भूमिको सुकेको फुस्रोभन्दा अमेरिकामा उनीहरू ताजा हरियो घाँस खाँदै थिए । त्योभन्दा भयंकर अर्को फरक हो, अमेरिकाका पुनर्निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प मानवरूपी करोडौं टप्सीहरूलाई एकैपटक झट्का दिएर आफ्नो संकीर्ण राजनीतिक अडान प्रमाणित गर्ने चेष्टामा छन् । थोमस एडिसनले एउटा हात्तीलाई भौतिक रूपमा प्रयोग गरे । ट्रम्प करोडौं मनुष्यलाई भाष्यका रूपमा दुरूपयोग गर्दै छन् । तर अन्तर्यमा लुकेको क्रूरता स्पष्ट छ । सतहमा लाग्छ, आप्रवासीहरू संकटमा छन् । तर, स्वयं डोनाल्ड ट्रम्पका मतदाताहरूको आजीविका संकटमा छ । 

नक्कली सर्वोच्चताको काल्पनिक उन्मादमा रमाएका मध्यमवर्गका गोराहरू त्यतिबेला झसंग हुनेछन्, जब उनीहरूको खान्कीको एभोकाडो, टमाटर र आउँदै गरेको ‘भ्यालेन्टाइन्स डे’ मा प्रेमी/प्रेमिकालाई अर्पण गर्ने ताजा फूलको मूल्य दोब्बर हुनेछ । अमेरिकी जीवनको स्तर टेबलमा खाने खानाभन्दा गाडीमा हाल्ने तेलको मूल्यले निर्धारण गर्छ । गाडीमा तेल छैन, टेबलमा खाना छैन । डोनाल्ड ट्रम्पले लहडी रूपमा आफ्ना उत्तरी छिमेकी क्यानाडा र दक्षिणी सँधियार मेक्सिकोबाट आयातित सामानमा २५ प्रतिशत कर ठोकिदिएका छन् । मध्यपूर्वको तेलमा वर्चस्व कायम गर्न खर्बाैं डलरको युद्ध गर्ने अमेरिका त्यहाँबाट दैनिक दश लाख व्यारेल तेल आपूर्ति गर्छ । खुला सीमा भएको क्यानाडाबाट अमेरिका दैनिक त्यसको चार गुणा बढी कच्चा तेल झिकाउँछ । क्यानाडाको तेल आपूर्ति बन्द भएको दिन तेलको मूल्य अकासिन्छ । यसको परिणाम अमेरिकी किराना पसलमा ग्राहकको भीड पातलिन्छ । 

आसन्न यो संकट देख्ने बुझ्ने रैथाने साना उद्यमी व्यापारी चिन्तित छन् । सबैको ठहर छ, अबको बजार महँगीको कहालीलाग्दो चरणमा प्रवेश गर्ने निश्चित छ । ट्रम्पले मनोनीत गरेका उनका ‘क्याबिनेट’ सदस्यहरूको स्वामित्वमा रहेको पुँजी मात्रै जोड्दा पनि पाँच सय अर्बभन्दा बढी हुन्छ । आम अमेरिकीको औसत आम्दानी प्रतिवर्ष ६५ हजार डलर छ ! सेतो घरका शक्तिशालीलाई बजारको महँगीले असर गर्दैन । पाँच करोड डलर चन्दा दिएर ट्रम्प प्रशासनको ‘छायाँ उपराष्ट्रपति’ बनेका एलन मस्कले ट्रम्पले जितेको दिनदेखि आजसम्म ७० अर्ब डलर आम्दानी गरिसके । 

मेक्सिकोबाट तरकारी आयात गर्ने एउटा मध्यमवर्गीय अमेरिकी व्यापारी अहिले दुर्ई साताअघि किनेको सामानमा १२ हजार डलर बढी कर तिर्दै छ । भन्सारले उसको खाताबाट ‘अटो पेमेण्ट’ नामक बैंकिङ प्रणालीअनुसार त्यो पैसा काटिसक्यो । त्यो १२ हजारले उसलाई तीन जनाको तलब दिन पुग्थ्यो । अहिले टेलिभिजनमा गुनासो गर्दै छ, ‘अब मैले कि कर्मचारी कटौती गर्नुपर्छ, अथवा मेरो घाटा पूर्ति गर्न मूल्य बढाउनुपर्छ । जसरी पनि मार सामान्य जनता र उपभोक्तालाई नै पर्ने हो ।’ भोट भने उसले डोनाल्ड ट्रम्पलाई नै दिएको थियो । 

लोकप्रिय मतसमेत जितेर सेतो घर सम्हाल्न पुगेका डोनाल्ड ट्रम्पलाई अंकुश लगाउने संवैधानिक संयन्त्र अहिलेसम्म देखिएको छैन । यो अमेरिकी प्रजातन्त्रका लागि खतरा हो । तल्लो सदन र सिनेटमा रिपब्लिकन पार्टीको झिनो नै सही तर बहुमत छ । एक साताभित्रै एक सयभन्दा बढी कार्यकारी आदेश जारी गरिसकेका ट्रम्पको रफ्तार रोकिने संकेत छैन । न ट्रम्पविरुद्ध उभिने साहस भएका रिपब्लिकन सांसद नै देखिएका छन् । सर्वोच्च अदालतमा रिपब्लिकन धारकै न्यायाधीशहरूको बहुमत छ । सन् २०१६ को ट्रम्प प्रशासनमा जनरल जोन केली, सुरक्षा सल्लाहकार जोन बोल्टन वा महान्यायाधिवक्ता बील बारजस्ता प्रौढ व्यक्ति थिए । उनीहरू ट्रम्पको हुकुमी शासनसामु टिकेनन् । यसपटक उनको प्रशासनमा कार्यक्षमताभन्दा स्वामीभाक्तिलाई प्राथमिकता दिने सम्पन्न तर मूढ बालकहरूको बाहुल्य छ । 

ट्रम्पले केन्द्रीय अनुसन्धान ब्युरो (एफबिआई) प्रमुखका लागि छानेका भारतीयमूलका काश (कश्यप) पटेल नवनाजीहरूसँग खुला संगत गर्न रुचाउने मान्छे हुन् । दर्जनौं अन्तर्वार्तामा उनले ‘ट्रम्प विरोधीहरूलाई खोजी खोजी मुद्दा लगाउने’ प्रतिबद्धता प्रकट गरेका छन् । अघिल्लो साताको संसदीय सुनुवाइमा उनले प्रश्न सोध्ने सांसदहरूलाई दिएको अपमानजनक जवाफ अहिले टिकटकमा ‘ट्रेण्डिङ’ छ । ट्रम्पको अघिल्लो कार्यकालमा ईरानी क्रान्तिकारी गार्डका प्रमुख कासिम सुलेमानीको हत्या गर्ने प्रमुख भूमिका रहेका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनसँग कुरा नमिलेपछि उनी अपमानजनक रूपले निकालिए । तर, इरानबाट उनको ज्यानलाई अझै असुरक्षा रहेको दाबी गरिन्छ ।

उनको सुरक्षा व्यवस्था ट्रम्पले कार्यकाल सम्हालेको पहिलो दिनमै खारेज गरिदिए । कोभिड १९ महामारीका बेला ट्रम्पको आधारहीन दाबीको पुष्टि नगरेका कारण कोपभाजनमा परेका राष्ट्रिय सरुवा रोग केन्द्रका प्रमुख डाक्टर एन्थोनी फाउचीलाई ट्रम्प समर्थकले बमले उडाइदिने धम्की दिएका थिए । दोश्रो कार्यकालको पहिलो दिनमै सुरक्षा व्यवस्था खारेजीमा पर्ने डाक्टर फाउची पनि हुन् । काश पटेल एफबिआई प्रमुख भएको अवस्थामा यस्ता अरु के के निर्णय हुनेछन् ? बाईडेन कालका कर्मचारी र राजनीतिज्ञ सास रोकेर कुर्दै छन् । 

एकथरी विश्लेषकको कथन छ, ‘सय दिनसम्म यो नाटक जारी रहनेछ । ट्रम्प राजनीतिज्ञ होइनन् । उनी लेनदेनका व्यापारी हुन् । विश्वको राजनीतिक वा सामाजिक दृश्यमा पर्ने दूरगामी प्रभाव र असर उनको सरोकारको विषय हुन सक्दैन । उनको मानसिक विकास त्यसरी भएकै छैन ।’ अमेरिकाको आधा जनसंख्या या त संशयमा छ, अथवा आतंकित । भारत, जापान र अष्ट्रेलियाको राजनीतिक नेतृत्व र ट्रम्पको रसायनमा समानता देखिन्छ । तर, सहजता देखिन्न । बाँकी विश्व ‘पर्ख र हेर’ को अवस्थामा छ । अमेरिकाको पहिलो चुनौती चीन हो भने, चीनले पहिलो फायर खोलिसकेको छ । कृत्रिम बुद्धिमत्ताको विकासमा चलेको दौडमा ‘डिपसिक’ नामक अस्त्र सामुन्ने छ । शपथग्रहण समारोहमा गुगलका कार्यकारी प्रमुख सुन्दर पिचाई, फेसबुकका मार्क जकरबर्ग र ओपन ए आईका स्याम अल्टम्यान आदि ट्रम्पकै छेउमा थिए । सिलिकन भ्याली र वासिंगटनको ठहर थियो, चीन यो मामिलामा हामीभन्दा धेरै पछाडि छ ।’ 

तर यो भ्रम लामो समय टिकेन । चीनसँग व्यापार युद्ध र प्राविधिक प्रतिस्पर्धा, नेटोको खर्चबारे युरोपेलीसँगको किचलो, रूस–युक्रेन युद्ध, इजरायलले गाजामा गरेको नरसंहार, क्यानाडाको ऊर्जा आपूर्तिको सम्भावित अवरोध आदि यस्ता धेरै नमीठा परिकारले अमेरिकी राष्ट्रपतिको थाल भरिएको छ । तर, उनको कर रणनीतिका कारण आमअमेरिकीको थाल रित्तिने सम्भावना पनि स्पष्ट छ । समयकालअनुसार विश्व रंगमञ्चमा आत्ममुग्ध सनकी शासकहरू प्रकट भएका छन् । कोही हिंसाबाट उदाए, कोही मतपेटिकाबाट । ट्रम्पले जनवरी २०२० मा हिंसा अपनाए । नोभेम्बर २०२४ मा मतदान । जुनसुकै रूपमा आएको तानाशाह किन नहोस्, उसले गर्ने पहिलो प्रहार विविधता, समानता र समावेशिताको अवधारणामा हो । विभाजित समुदाय उसको उर्वर भूमि हो । अमेरिका यो चरणमा प्रवेश गर्दै छ । 

संकट विश्वव्यापी आर्थिक प्रणालीमा मात्रै छैन । सामाजिक सन्तुलन खल्बलिने खतरा छ । यो विश्वभरि विस्तार हुनेछ । तानाशाहको मनोबल बढेको छ । करोडौं मानव टप्सीहरूको जीवन संकटमा छ ।
 

टिप्पणीहरू