राजाका पालाको ह्याङओभर बल्ल हट्यो
सेनाका पाइलटहरूले नागरिक उड्डयन प्राधिकरणबाट समेत योग्यता परीक्षा पार गर्नुपर्ने दशकौंदेखिको व्यवस्था हटाइएको छ । सेनाको अति विशिष्ट उडानमा सहभागी हुने चालकले यसअघि प्राधिकरणबाट पनि अनिवार्य विभिन्न तालिम र कोर्ष पूरा गरेर प्रमाणपत्र लिनुपथ्र्यो ।
अब जंगी अड्डालाई बुझाइएको प्रमाणपत्रकै आधारमा पनि ती पाइलटले भिभिआईपी उडान गर्न पाउने भएका छन् । प्राधिकरणको अनिवार्य प्रमाणपत्र अन्तर्राष्ट्रिय मापदण्डका लागि भए पनि त्यो अब जरुरी नभएको सेनाको दाबी छ । पहिले राजतन्त्र हुँदा सोही नाममा राजघरानासँग निकट पाइलटहरू तालिम लिने भन्दै बेलायत, फ्रान्सतिर धेरै पटक जाने गर्थे । यता, प्राधिकरणले पनि पेल्ने गर्थ्याे । विभिन्न तालिम र चेकिङका नाममा निजामती हाकिमहरूलाई पाँच तारे होटलको खर्च र भत्ता उपलब्ध गराउने प्रचलन पछिल्लो निर्णयबाट भने सदाको निम्ति अन्त्य भएको बताइन्छ ।
शाहीकालमा सैनिक पाइलटहरू रवि शाह, विकास शाहलगायतले बढी नै विदेश शयर गरेको आरोप अहिले पनि लाग्दै आएको छ । स्रोत भन्छ, ‘तालिमका नाममा युरोप जाने तर यहाँ आएर त्यस्तो उडान खासै गर्नु नपर्ने भएपछि मस्ती हुने नै भयो । अन्तर्राष्ट्रिय मापदण्ड कायम राख्ने नाममा राज्यको ठूलो धनराशी खर्च भएको पक्कै हो ।’
राजतन्त्र हटेपछि सेनाका हकमा लागू भएको शर्त हटाउने चर्चा चले पनि राष्ट्रपति, प्रधानमन्त्री, विदेशी राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलगायत विशिष्ट व्यक्तिहरूको उडान सुरक्षाका नाममा त्यसबारे लामो समयदेखि निर्णय हुन सकेको थिएन । यस्ता उडानका लागि सेनासँग एउटा मात्र विमान बाँकी थियो । त्यसैलाई नागरिक उड्डयनमा दर्ता गराइएकाले पाइलटहरूले शर्त पालना गर्नुपरेको हो ।
हतियार र फर्निचर व्यापारी रोहिणी थपलियाको एजेन्ट कम्पनीमार्फत किनिएको उक्त विमान अहिले पनि सेनासँग छ । इटालीको अगुस्टा र बेलायतको वेस्ट ल्याण्ड कम्पनी मिलेर बनाइएको दुई वटा एडब्लुएल किनिएकोमा एउटा सिभिल रजिष्ट्रेशन र अर्को आर्मी रजिष्ट्रेशन थियो । सिभिल लाइसेन्स लिएकाले सिभिल रजिष्ट्रेशन जहाज र आर्मी रजिष्ट्रेशन प्लेन आर्मी पाइलटहरूले मात्रै उडाउँथे । सुपर पुमालाई हरियो रंग दलेर उडाइएको र एडब्लुएललाई पनि त्यसै गरिएको थियो ।
उता भारतको मुम्बईमा बनाउन पोहोरै पठाइएको सेनाको हेलिकप्टर हालसम्म ल्याइएको छैन । मर्मतका लागि दिइएको करोडौं पेश्की र हेलिकप्टर दुबै भारतीयको हातमा पुगेको अवस्थामा मर्मत गरेर ल्याउन सेनाले कुनै पहल नगरेको आरोप लागेको छ । प्रशान्त राणाको हितमा दोस्रो हेलिकप्टर पनि मर्मतका लागि लैजाने सुरसार गरिएको थियो तर अन्तिम अवस्थामा रोकियो । सेनाका प्रवक्ता गौरवकुमार केसीले यता रजिष्ट्रेशन गरेपछि सैनिक पाइलटहरूले भिभिआईपी उडान गर्न पाउने बताए । त्यसैगरी, भारत पठाइएको हेलिकप्टर मर्मत भइसकेको र ल्याउने क्रममा रहेको जानकारी दिए । ‘भिभिआइपीको उडान गर्ने सैनिक पाइलटहरूले मिलिटरी रजिष्ट्रेशन गरे पुग्छ । हामीले मर्मतका लागि भारत पठाएको हेलिकप्टर आउने क्रममा छ’, उनले भने ।
टिप्पणीहरू