चितवनमा रविलाई प्रभुको ग्यारेण्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको ५४ लाख धरौटी बुझाएर छुटेका छन् ।
चितवनको साहारा सहकारी ठगी मुद्दाका प्रतिवादी उनी प्रभु बैंक ग्यारेन्टी बसेको कागजात देखाएर साँझ रिहा भएका हुन् । धराैटी बुझाएर हिरासतमुक्त भएपछि उनले अहिलेको पीडा 'परिवर्तनको प्रसवपीडा' भएकाे बताउँदै न्यायालयप्रति विश्वास रहेको बताए ।
अपराह्न न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी माग गर्दा अदालतले प्रतिवादी अहिले नै सहकारी ठगीमा संलग्न नरहेको भनेर भन्न सकिने अवस्था नरहेको जनाएको छ ।
‘...प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी तत्काल निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु. ५४,००,००० (चौवन्न लाख रुपैयाँ) धरौटी वा जमानत वा बैंक जमानत लिनू', आदेशमा उल्लेख छ ।
सहकारी ठगीको चौंथो मुद्दा सामना गरेका लामिछाने यसअघि कास्की, काठमाडौँ र रुपन्देही अदालतले क्रमश: ६५, ६० लाख र एक करोड धरौटी तिरेर छुटेका हुन् । यी अदालतमा पनि रविका लागि प्रभु बैंक नै ग्यारेण्टी बसेको हो ।
टिप्पणीहरू